–दिपा बोहरा
तिमीसँग मेरो छुट्टै प्यार छ, तिमीलाई म खुब सम्झिन्छु । म तिमीभन्दा पर छैन, तिमीसँगै छु । यो जिब्रो, मनमुटु र मेरो शिरा धमनीमा तिमीनै बहिरहेका छौ । खासमा भन्दा मेरो परिचय र अस्तित्वनै तिमी हौ ।
म कुनै प्रेमीकाे कुरा गरिरहेकी छैन । म मेरो जन्मेको माटो र मुख्य गरी मेरो डोट्यालीको कुरा गर्दैछु । मेरो डोट्यालीको प्रतिनिधित्व गर्दै अहिले सामाजिक सञ्जालमा भाइरल भएकी मिस पबि मेरो डोट्यालीकी प्रतिनिधि हुन् । उही मेरो डोट्यालीले संसारमा चिनाएकी मिस पबि र ओझेलमा परेको डोट्यालीलाई संसारमा चिनाउने मिस पबि एउटै हुन् ।
सबैलाई सुन्दा पनि यति प्रिय लाग्ने मेरो डोट्याली जब म समाचारका लाइन पढ्न थाल्छु तब लाग्छ तिमी त आफ्नै देशमा पनि कति बिरानो पो रहेछौ । तिमीसँगै तिम्रो प्रेममा, तिम्रो समीपमा हुर्केर बढेकी तिम्रै प्यारी डोट्याली तिमीबाट जब म सफल समाचार वाचिकाको संसारमा भविष्य खोज्न शहर छिरेँ, तब तिमीलाई बिरानो पाएँ ।
नेपाल एकीकरणका सुत्राधार पृथ्वीनारायण शाहका ऐतिहासिक उपदेशहरुमा समेत डोट्याली भाषा भेटिन्छ । तर यो गणतान्त्रिक नयाँ नेपालको राजधानीमा डोट्याली सधैँ बिरानो छ । जिब्रोले थोरै पनि डोट्यालीपन दिँदा समाचार कक्षबाटै बहिष्कार भइन्छ कि भन्ने त्रास छ।
प्रिय डोट्याली सुदूरपश्चिम र मध्यपश्चिममा खुब चर्चा र प्रेम पाएको तिमीलाई तिम्रै देशको राजधानीले बिर्साउँछ र बिर्साउन बाध्य गराउँछ । नेपाल चार जात ३६ वर्णको फूलबारी हो भनिन्छ तर नेपालकै राजधानी यो मान्न तयार छैन । डोट्यालीले जन्माएर पटक-पटक प्रधानमन्त्री बनाएका लोकेन्द्रबहादुर चन्द, पाँच पटक प्रधानमन्त्री हुनु भएका शेरबहादुर देउवा, गृहमन्त्री भएका भीम रावल जस्ता थुप्रै नेताहरुले समेत काठमाडौं छिरेपछि तिमीलाई बिर्सिए ।
डोटेली भाषामा मैले १२ कक्षासम्म अध्ययन गरेँ, जहाँ पढाउने गुरु र पढ्ने हामी विद्यार्थी सुदूरपश्चिम भरि नै डोटेली भाषा नै प्रयोग गर्छौ । कक्षा कोठामा पढ्ने पाठ्यपुस्तक नेपालीमै भएपनि हामीलाई नेपाली भाषाको कुनै आभाष हुँदैन सिक्ने र सिकाउने कार्य डोट्यालीमै भइरहन्छ । यस कारण पनि मेरो डोट्यालीसँग प्रगाढ प्रेम बसेको छ । जब म सपनाको शहर काठमाडौं छिरेँ, यहाँ मेरो डोट्याली कतै भेटिनँ, काठमाडौंका गल्लीहरु र चोकमा खोजेँ, आफ्नै काम गर्ने कार्यालयमा खोजेँ कतै भेटिनँ, अझ भनौँ सपनाको शहरमा म जस्तै सपना बोकेर काठमाडौं छिरेका पल्ला घरे साइला दाइसँग पनि मैले डोटे्याली भेटिनँ ।
पहिलो चोटी घरबाट टाढा काठमाडौं आएपछि आमाबुबा साथीसङ्गी आफन्तहरुको यादले उकुसमुकुस भएको मन बेस्सरी पोखिदिन प्यारो डोट्याली तिमीलाई खुब खोजेँ तर अँह कतै भेटिनँ । यो बिरानो शहरमा बस्न पटक्कै मन छैन डोट्याली । तिमीलाई सम्झेर म डोट्याली गाउँ फर्किउँ कि तिमीलाई छोड्न म यहाँ संघर्ष गरौँ तिमी आफै भन । अझ म त शब्द र अक्षरकै खेती गर्ने सपना बोकेर हिँडेकी यात्री हुँ ! भन प्रिय डाेट्याली म के गरूँ ?
मेरो इच्छा र सपना बुझेर अग्रजहरुले डोर्याएको गन्तव्य जनता टेलिभिजनमा पुग्न पाउँनु मेरा लागि ठुलो सफलता हो । मलाई जनता टेलिभिजनले खुब हौसला र उत्प्रेरणा दियो, अझै ममा केही गर्ने हुट्हुटी जाग्यो त्यहाँका मिलनसार अग्रज दाइ दिदीहरुले समेत खुब हौसला दिनुभयो । जसकारण मैले चाँडै रेडियोबाट समाचार वाचन गर्ने अवसर पाएँ । तर जति म डोट्याली छोड्न खोज्छु जिब्रोले उति धेरै डोट्याली सम्झिन्छ । संघर्स गर्दैछु, नेपाली भाषा सिक्न र नेपाली लवजसँग घुलमिल हुन । सायद म जस्तै सबै डोटेली, मधेशीलगायत धेरै भाषीहरुलाई देशको राजधानीमा पहिलो संघर्ष नेपाली भाषा सिक्नु नै हुन्छ हाेला ।
मेरो डोट्याली तिम्री डोटेलीले तिम्रो समीप नपाउँदा मन खोलेर बात मार्न पाएको छैन । धक खोलेर दैनिकीको बेलिविस्तार लगाउन पाएको छैन । म उकुसमुकुसमा छु, सीमित घेराभित्र छु, लाखौँको भीडमा तिमीलाई मेरो मनले खोजिरहने छ र म तिम्रा लागि कहिल्यै बिरानो हुने छैन । धेरै माया र मिठो सम्झना मेरो प्यारो डोट्याली ।