काठमाडाैं । हेर्दाहेर्दै केपी शर्मा ओली सरकार एक सय दिन पुग्नै लाग्यो । चौथोपटक प्रधानमन्त्री भएका ओली यसपटक पनि बलियो हुनुहुन्थ्यो । कांग्रेसले चाहेमात्र उहाँको सत्ता ढल्ने हो, अरुले ग्रिनेड बम नै हाने पनि गठबन्धन केही हुनेवाला छैन । एमालेका नेताहरु तैँ चुप, मै चुप छन् ।
कांग्रेसका नेताहरु पनि डेढवर्षपछि मन्त्री हुने लोभमा मौन छन् । एमालेका गतिविधिमा असन्तुष्ट भए पनि असन्तुष्टि जनाइरहेका छैनन् । किनभने यो कांग्रेसको सरकार हो । सबैभन्दा बढी मन्त्री र मुख्यमन्त्री कांग्रेसकै छन् । अब बन्ने सरकार पनि कांग्रेसकै हुने हो । त्यसैले एमालेलाई अहिले फुक्काफाल भएर सत्ता चलाउन दिने, अलोकप्रियताको बुई चढाइदिने र हामीले त अवसर दिएकै हौँ नि, कम्युनिष्टहरु सत्तामा पुगेपछि औकातमा आइहाल्छन् भनेर आलोचना गर्न पाउने मौका खोजिरहेका छन् ।
यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाल स्वर्णिम हुनुपथ्र्यो । विगतका अनुभव र अहिलेको बहुमतले उहाँलाई कुनै रोकतोक थिए । बोल्दै नबोल्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर अहिले पनि मौन हुनुहुन्छ । धेरै बोल्ने कांग्रेसका नेताहरु कोइराला, थापा, शर्माहरुको मौनव्रत देखिन्छ । यस्तो अवस्थामा पनि सरकार किन लोकप्रियताको शिखर चढ्न सकेन ? किन सत्ताको चरम आलोचना भइरहेको छ । जनमनमा सरकार किन एकसय दिन पुग्न लाग्दा पनि अत्यधिक अलोकप्रिय र अत्यन्त अपरिचित जस्तै छ ?
कांग्रेस एमाले गठबन्धनको सरकार एकसय दिन पुग्नै लाग्यो । सरकारको तीनमहिने कार्यकाल कस्तो रह्यो त ? के सरकार जनताका चाहना अनुसार चलिरहेको छ ? किन सरकार सर्वाधिक आलोचनाको सिकार भइरहेको छ । जनमनदेखि सामाजिक सञ्जालमा पनि केपी ओली सरकारको आलोचना भइरहँदा काठमाडौ, बानेश्वरमा भेटिएका केही सर्वसाधारणको भावना तपाईंहरुलाई देखाउँछौँ ।
सरकारका यो हदको अलोकप्रियताको कारण के होला ? नो भोटसम्मको कुरा गर्ने नयाँ पुस्ताको कुरा तपाईंले सुनिहाल्नु भयो । तपाईंलाई नलागोस् कि, हामीले क्यामरामा यस्तो बोलिदिनोस् है भनेर उहाँहरुलाईलाइ भनेका पनि होइनौँ । क्यामरामा स्वतस्फूर्त बोलिएका जनताका भावनामा सरकारबारे किन यति धेरै निरासा व्यक्त भइरहेको छ ?
प्रमुख प्रतिपक्षीदेखि स्वतन्त्र सांसदहरु पनि वर्तमान सरकारको रवैयाप्रति असन्तुष्ट छन् । जनतामा पुगेका राजनीतिक दलहरु गठबन्धन सरकारबाट कुनै पनि प्रगति नभएको बताइरहेका छन् । सरकार फेरबदलमा जनताले अनुभूत गर्ने नयाँ विषयबस्तु केही पनि आएन, छैन । हामी पनि यही भनिरहेका छौँ, देखाइरहेका छौँ । खासगरी अहिलेको समसामयिक विषयमा पनि सरकारको उपस्थिति नदेखिएको पक्का हो । किन यस्तरी सरकार आलोचित बनिरहेको छ ?
देशको सबैभन्दा ठूलो रोग हो भ्रष्टाचार र कुशासन । न्यून पुँजीगत खर्च र राजनीतिक शक्तिका आडमा राज्य शक्ति दोहन रोकिएको छैन । बरु कांग्रेस र एमाले पंक्ति नै यसमा जोडिएका छन् । पुँजी बजारको सुधार, लगानीको वातावरण निर्माणलगायतमा सरकारको प्रयास भए पनि तत्काल जनताले डेलिभरी पाएका छैनन् । आर्थिक वृद्धि र पुँजीगत खर्चको लक्ष्य मिलिरहेको छैन ।
तीन खर्ब रुपैयाँको हाराहारीमा पुँजीगत खर्च छुट्याएर ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिलको सपना मूर्खतापूर्ण हो । डिजिटल कारोबारमा भ्याट लगाउने नीतिगत विचलनको सिकार भएको छ सरकार । सामाजिक सञ्जालमा बतासे आइडी खोल्ने, राम्रो काम गरेको मान्छेलाई पनि सराप्ने र गाली गर्ने अनि जीवनभर काण्डै काण्ड भएका मान्छेलाई अगाडि बढाउने प्रवृत्तिले देशमा जुन अराजकता वृद्धि भइरहेको छ । यसको खुलेर सरकारले प्रतिवाद गर्न सकेको छैन । २०४६–४७, २०६२–६३ र २०७१–७२ मा यस्तै गठबन्धन सरकार थियो ।
यसपटकको सरकार फरक गठबन्धनको भइरहँदा एमालेको मात्र किन आलोचना भइरहेको छ ? के सरकारका सबै कमजोरीको दोष एमालेलाई मात्र दिएर कांग्रेस उम्कन मिल्छ ? उसको राजनीतिक चरित्र र पात्र कस्ता छन्, ती सबै बोकेर सरकार चलाइरहन पर्दा पो एमाले सरकार आलोचित भएको हो कि ? एमालेले पनि समीक्षा गर्नुपर्ला । जनतालाई जवाफ त दिनैपर्ला ।