एजेन्सी । उत्तर कोरियाले युक्रेनसँग लड्नका लागि रुसमा सेना पठाएको दक्षिण कोरियाको जासुसी संस्थाले जानकारी दिएको छ ।उत्तर कोरियाले युक्रेनसँग लड्नका लागि सेना पठाएको दक्षिण कोरियाको जासुसी संस्था राष्ट्रिय सुरक्षा योजना (एनएसपी) ले जानकारी दिएको हो ।
जसकारण दक्षिण कोरियाको सुरक्षामा समेत समस्या परेको जनाइएको छ । युक्रेनका राष्ट्रपति भालाडोमिर जेलेन्सकीले १० हजार जना युद्धमा जोडिन सक्ने भएको बताएका छन् । दक्षिण कोरियाली राष्ट्रपति योन सुक योलले शुक्रबार सुरक्षा अधिकारीसँग बैठक राखेका थिए ।
उनले यस घटनालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायलाई अपिल पनि गरेका छन । जासुसी निकायले दक्षिण कोरियालाई दिएको जानकारी अनुसार अहिले १५ सय जना रुसमा छन्। १२ हजारसम्म सेना उत्तर कोरियाले रुसमा पठाउन सक्नेछ। पछिल्लो समय यी दुई देशको सम्पर्क बढेको छ ।
युक्रेनका गुप्तचर प्रमुख क्रायलो बुडानोभले दिएको जानकारी अनुसार पूर्वी रुसमा एक हजार उत्तर कोरियाली युवा युक्रेनसँग लड्नका लागि सैन्य प्रशिक्षण गरिरहेका छन् । उनले बताए अनुसार उनीहरूलाई १ नोभेम्बरदेखि युक्रेनसँग लड्नका लागि तयार पारिँदै छ।
रुसको पश्चिमी कर्सक क्षेत्रमा उनीहरूलाई पठाइँदै छ । दक्षिण कोरियाको गुप्तचर निकायले दिएको जानकारी अनुसार उत्तर कोरियालीहरूले अहिले भ्लाडिभोस्टोक, युरिसिस्क, खाबारोस्क, भ्लागाभेन्सक छन् । अगस्ट महिनामा नै उत्तर कोरियाले मिसाइल र रकेट लगायत सैन्य सामग्री पठाएको थियो।
केही सैन्य विशेषज्ञ अनुसार भाषिक समस्याका कारण रुसीहरूका लागि फ्रन्टलाइनमा उत्तर कोरियाली सेना प्रयोग गर्नका लागि कठिन छ। रुस र युक्रेनको सीमाका भागमा उत्तर कोरियालीलाई गार्डको रूपमा प्रयोग गर्न सक्नेछ ।