–रामकुमार एलन
धेरै प्रयासपछि आफैँले जुटाएको एउटा समारोह थियो यो । समारोहका सहभागी सबैजसो बजारमै बरोबर देखिइरहेका हुन् । तर खास बात हुन नसकेका पात्र थिए । अनायसै यो जमघटमा यसरी भेट होला भनेर न सोचिएको थियो, न उनीहरू नै हुन् भनेर अनुमान गरिएको थियो । हरिलाभरिला वैँश सडकमा छताछुल्ल पारेर बुढेसकालमा बालबच्चाको भविष्य उज्ज्वल देख्ने कर्मठिला र वरिपरिकै यौनबजारबाट उन्मुक्ति खोजिरहेका प्रौढ हुन् उनीहरू । तीमध्ये केही भर्खरका कोपिला थिए, जो गाउँको बगैँचामा नर्सरी भएर शहरका गमलामा फुल्न आइपुगेका थिए । झट्ट हेर्दा जति उनीहरूले अरूको संसार रंगीन बनाए, स्वयम्मा उनीहरू भने हाँगा भाँच्चिएका, ओइलाएका कोपिला झैँ थिए । अहिले पनि स्थानीय यौनबजारमा उनीहरूको राम्रो पकड छ भन्ने पत्यार लागिरहेको थिएन ।
अफिसमा धेरै कुर्सी छैनन् । विकासे कार्यकर्ताको सिको गर्दैछौँ । अर्थात् फोम राखेर चकटी बनाएका छौँ र लाइन लागेर भूइँमा पलेटी कसेर बसेका छौँ, लामागाउँको घ्याबा सकिएपछि भोज खान बारीका पाटामा लाइन लागेर बसे झैँ । कुरा कहाँबाट शुरू गर्ने ? सिधै यौनको कुरा गर्न पनि मिलेन । त्यसैले शुरू भयो कुराकानी बचतबाट । हो, मासिक ७० रूपैयाँ बचत गर्न थालेका छन् यी प्रौढ तर यौनबजारका भवराहरूका पूर्वपुतलीहरूले । सम्साँझै चिरिच्याट्ट परेर चोकमा ग्राहक लिन आउने बाटो पर्खँदै गरेकाको नाम पुतली नै राखौँ यो कथामा । ग्राहकसँग एकरात बिताउँदा २ हजार रूपैयाँसम्म लिने पुतलीलाई महिनामा ७० रूपैयाँ बचत गरेर धनी हुने सपना पूरा हुँदैन जस्तो पनि लाग्छ । तर होइन, मोजमा आएको पैसा भोजमै सकिन्छ । न छ गरिखाने घरबारी न छ आफन्तको छहारी । त्यसैले बचत त गर्नैपर्छ । मासिक ७० रूपैयाँ बचत गर्दा पनि पूर्वपुतलीहरूले थोरै समयमा पाँच लाख रूपैयाँ जम्मा पारेका रहेछन् । शुरूमा त ५० पूर्वपुतलीको समूह थियो ।
तर अहिले घटेर ३० भएको छ र भागमा करिब १७ हजार रूपैयाँ बचत गरिसकेका छन् उनीहरूले । सानैमा बिहे भयो । लोग्ने पनि मरे । त्यसपछि कतै पोइटोकुवा आरोपमा ताडना त कतै बालबच्चासहित सडकमा बास । ज्यान छउन्जेल आस भने झैँ कसले यहाँ लगायो, उनीहरूलाई नै थाहा छैन या भनेनन् । तर घरमै लोग्नेको मायाबाट टाढिएपछि परिवारले राम्रो गरेको भए यसरी बजारमै पोखिन आउनु पर्ने थिएन भन्छिन् प्रियङ्का । यो उमेरसम्म आइपुग्दा उनीहरूले सडकभरि धेरै वैँशका कनिका छरे । त्यो चारोमा लठ्ठिएर कतिले श्रीमतीलाई वास्ता गरेनन् र सडकमै आउने बनाए वा अर्को खोजेर घरजम जान बाध्य पारे । तर उमेर ढल्किँदै गएपछि वैँशको कनिका भण्डार पनि रित्तिँदै गएको महसुस भएको छ प्रियङ्कालाई र अब देहव्यापार गर्न हुन्न भनेर बचतमार्फत आयमूलक कामसहित स्वरोजगार अभियानमा लागेका छन् केही प्रियङ्काजस्ता पूर्वपुतलीहरू । पूर्वपुतलीहरू अचेल हिँस्रक पुरूष ग्राहकको बाहुपासमा बाँधिएर रल्लिन छाडेका छन् र काम गरेर बस्न थालेका छन् । सानोतिनो व्यापार र अन्य पसल, टेलरमा बसेर दिन कटाउन थालेका छन् । फोमको चकटीमा घरि पिँडुला फर्काउँदै त घरि पलेटी मार्दै यस्तै गन्थनमा रल्लिइयो केहीबेर ।
काम गरेर खान दिँदैन यो समाज । अर्को पूर्वपुतलीको गुनासो थियो । आर्मी, पुलिस र ड्राइभर त हुन् नि ! बाटोमा हिँड्दा पनि ‘माल’ भन्छन्, ‘कमाल’ भन्दैनन् । कतिचोटी यो ‘माल’लाई लगेँ भनेर समाजमा बदनाम गराउँछन् । बोलाएर पनि लैजान्छ फेरि समाजमा ‘माल’ भन्दै आफ्नै चरित्र पनि उडाउँछन् मास्सालाहरू ! खासमा एउटा भाइ र दुईवटी बहिनीको सहयोगमा उनीहरूको कुरा भिडियो क्यामरामा कैद गरिरहेको छु । उनीहरूले बोलेका शब्दहरू उल्लेख त गर्न सक्दिनँ । तर कैयौँपटक भाइबहिनीसँग त कैयौँपटक ती भाइबहिनी मसँग मुख रातो बनाएर घोसेमुन्टो लगाउन बाध्य पारिरहेका छन् पूर्वपुतलीहरू । यौनको बजारमा आउने कारण धेरैको श्रीमान नै हुने गरेको छ । श्रीमानले अर्की ल्याउने वा छाडिदिने अनि पीडा दिने । त्यसपछि सहारा खोज्दै सडकमा ।
‘सडकमा आएपछि अरू काम गरेर बस्न पनि दिँदैन समाज । वैँशमा आँखा लगाइहाल्छ । अनि साग बेच्न छोडेर अरु नै बेच्न नहिँडी सुखै छैन । लोग्नेले नै ‘तँ आज बेच्न गइनस्’ भनेर रक्सी खाने पैसा माग्छ,’ एउटी अधवैँशेले प्वाक्क भनिहालिन् । उनको कुरा सुनेर भिडियो क्यामरा चलाउने भाइ रातोपिरो हुन्छन् । आँखाले इशारा गर्छन्, ‘रेकर्ड गरौँ कि नगरौँ ?’ भाइले एकाएक रेकर्ड पज गर्छन् र भन्छन्, ‘दाइ लास्टै छाडा कुरा कसरी देखाउने हो, सुन्नै गाह्रो छ ।’ उता पूर्वपुतली कुरामा ‘के टाउको निहुराएको, मूर्दारहरूसँग हुन्छ यस्तै त, के भन्ने ?’ भन्दै हामीलाई ढाडस दिँदै छिन् । कोठामा रहेका पुतलीहरू एकसे एक भुक्तभोगी छन् र भन्छन्, ‘एक दुईचोटी पुरूषहरूको सहयोग सडकमा लिएपछि उनीहरूलाई पहिला हामी चाहिन्छ । अनि भन्छन् हामीलाई उल्टै माल !’
पुतलीको हूलमा क्यामेरा तेस्र्याएर कुरा गर्नु ख्याल चैँ होइन रहेछ । आन्द्राभुँडी सबै ओकल्न थालेपछि धेरैपटक रेकर्ड पज नै भयो। त्यतिखेरसम्म मेरो भन्दा बढी मोबाइलको घण्टी उनीहरूकै बजेको छ । लाग्छ, मैले उनीहरूलाई रोकेर अपराध गरिरहेछु । उनीहरूलाई अचेल ग्राहकको फोन आउँदैन । आउँछ त अहिले बजारका पुतलीहरूकै । उनीहरू सल्लाह दिइरहेका छन् मोबाइलमा, ‘मास्सालेले कण्डम लगाउन मानेन भने घुच्चुकमा लात्ताले हान् है ! कोही कण्डम नलगाइ काम गर्ने होइन नि !’ भाइबहिनीहरू अनुहार रातो पारेर बसेका छन् र चाँडो सकाउन आँखा झिम्काउँदै छन् । तर म भने कथानक शुरू नै गर्न अल्झिरहेछु ।
अहिले त कलेज पढ्न आएका भर्खरकाहरू पनि यौनबजारमा भेटिन थाले नि ! तपाईंहरू अब बचत गरेर यो पेशा छाड्ने भन्दै हुनुहुन्छ । तर हरेक रात अरूको रंगीन सपना पूरा गर्न मोबाइल सेवा दिनेहरू त भर्खरकी पो आउन थाले त ! एउटा उद्गार चिन्हको प्रश्न तेस्र्याएँ । ‘अब के गर्ने नानीलाई कपीकलम किन्नै समस्या होला । दुःखकै कारण हुनसक्छ । तर अचेल रहरले पनि यस्तो पेशामा होमिनेको संख्या बढ्दो छ । सबलाई रहर हुँदोरहेछ । शुरूमा आउँछन् । पछि लत बसेर हामीजस्तै घर न घाटका हुन्छन् मोरीहरू । कण्डम नै नलगाई मोरीहरू तयार भइदिन्छन् ।’ अनि ग्राहक भन्छन्, ‘तँ कण्डम नलगाइ दिन्न भन्छेस्, फलानोकहाँ जान्छु ।’ नक्कलीहरू किन बिग्रेका हुन्, उमेरमै एड्स भएर मर्छन अनि । अलि परिपक्व कुरा पनि गर्छन् पूर्वपुतलीमध्ये एउटी तर भर्खरकी सुकुमाया । क्यामरामा उनको थुनचोलीबाट बाहिरिएको पुष्ट स्तन (उम् शहरतिर क्लिभेज भन्छन् क्यारे) का भागले उनको पूर्वपुतली हुने बेला नभएको लाग्छ । त्यसमाथि मोरीले सलले नछोपी धमाधम क्यामरामा बोल्न थाली । बहिनीले पछाडिबाट इशारा नगरेकी होइन, बुझिन उसले त म के गरूँ ।
बजारकै होटलमै हो काम हुने । एकाध पटक टाँडी, नारायणगढ पनि पुग्छौँ । वीरगंज पनि जान्छौँ । उसो त रक्सौलदेखि फोन गरेर आउँछन् । रक्सी, बियर मासु पनि खुवाउँछन् । एउटी आर्मीकी श्रीमतीले भनिन्, ‘बालबच्चा भइसक्यो मूर्दारले घर लगेन । कहाँ हरायो, हरायो, बेपत्ता भयो । बालबच्चा पाल्नै प¥यो । अनि अर्को आर्मीसँग बिहे गरेँ । मूर्दारले पनि जवानी छोडायो । कोपिला फुटायो, छोडेर बेपत्ता । अहिले आउनेहरू नि आर्मी नै छन् धेरैजसो । जहाँ पुग्यो त्यही चाहिने मास्सालाहरूलाई । घर पनि थाहा छैन, बालबच्चा पाल्न यहीँ आइपुगेँ म त ।’ उनको थेगो नै थियो ‘मास्साला !’
अक्सर निम्छरा वर्गका यी पूर्वपुतलीहरूको अनुभवले यौनका ग्राहक हिंस्रक छन् । यौनको आनन्द लिनमात्र जान्दछन् र दिन जान्दैनन् । बरू दुःखसुखको कुरा गर्छन् तर यौनको आनन्द उनीहरूमात्र लिन्छन् । कोही आएर केहीबेरमै थाक्छन् । हामी कतिखेर जाग्छौँ, हाम्रो इच्छा के छ भनेर सोच्ने कोही छैन । कण्डम लगाउन नमान्नेहरू त मुख छाड्छन्, पिट्न खोज्छन् । ब्लु फिल्मको जस्तो गर् भन्छन् । पैसा तिरेर एक प्लेट मासु र बियर धोकाउँदैमा ग्राहकहरू मनलाग्दी गर्छन् । कहिलेकहीँ त रिस उठेर आउँछ, उनीहरू सबैको एउटै स्वर छ, ‘यौन बजारका ग्राहक आनन्द लिन खोज्छन्, दिन जान्दैनन् ।’
यहीँनिर एउटा मिठो र तर अप्रिय प्रसंग जोडौँ । केही साताअघिको कुरा हो । एउटा भाइले बोलाएर पाँचपाँच सय दिएर दुईघण्टा राख्छु भनेर दुईवटी दिदीबहिनीलाई बजारकै एउटा होटलमा लगेछ । खाना खाएपछि उनीहरुको रहर पनि पूरा भयो । अनि फर्कन पैसा माग्दा साथमा एक रूपैयाँ पनि रहेनछ त्यो भाइसँग । रिसले भाउन्न भएर दुईटी मोरीले केटाको अण्डकोष नै टोकेर भागेछन् । बिचरा रित्तो खल्तीमा दुईटीसँग मोज गर्न खोज्नेलाई लजकै मान्छेले उठाएर अस्पताल लगेछ । मूर्दारहरू काम गरेपछि दिदीबहिनीकै सिक्री चोरेर, मोबाइल चोरेर, पैसा चोरेर भाग्छन् । समूहकी अगुवाले कुरा सुनाइन् । यो घटनाबारे रेडियो कार्यक्रममा रिपोर्ट पनि बजेको थियो । मनमा कुरा खेल्न थाल्यो, अण्डकोष फुटेको त्यो ग्राहक भाइलाई अहिले कस्तो छ होला ? घरमा बिहे गरेकी भए श्रीमतीले ओच्छ्यानमा बोलाउँदा बिचरो कति महिनासम्म ‘नाइँ’ भन्दै रोयो होला !
यौनका ग्राहकको चर्तिकला सुनाएर उनीहरूले छुटाएको हासोको फोहोराले वरिपरिका पनि चियो गर्न थालिसके । आज के हुँदैछ यो अफिसमा । यता भाइबहिनीहरू असिनपसिन भइरहेका छन् । करिब दुईघण्टा फोमको चकटीमा बस्नु गाह्रो भएको छ । ‘शुरूमा चिया खायौँ, अब चिया पिउँ ?’ सोधेँ । उनीहरुमध्ये केहीले हुन्न भने, कोहीले हुन्छ भने ।
केहीबेरमा फेरि समूहकी अगुवाकै शब्द छोडाउन लाग्यौँ । होटलमा लगेर हामीलाई सम्बन्ध राखेपछि त्यो होटलमा काम गर्ने छोरोजस्तो पनि जबर्जस्ती गर्न आउँछ । होटलवालाले पनि मनलाग्दी गर्छ । होटलसम्म लैजाने रिक्सावालाले पनि छोड्दैन । हैरानै पो पार्छ त भाइ ! ठेकेदारकहाँ काममा गयो । पहिला सम्बन्ध राख्छ आदेश दिन्छ, नमाने काम नै दिँदैन । त्यसलाई सित्तैमा किन दिने भनेर पैसावाला खोज्यो, यी यसरी बुढेसकालमा घर न घाटको भइन्छ । यो पेशालाई मान्यता दिए भएन र भन्या ? किन समाजले कुरा काटेको ? यो काम नराम्रो भन्ने को ? को चैँ आएनन् हामीकहाँ ? उनीहरूलाई चाहिने अनि उनीहरू नै हामीलाई पक्रने, बजार बिगारेको भन्दै यस्तो नगर्न पढाउने ? दिदीले भाइ नै भनेपछि भावबिह्रल हुन पुग्छु ।
हामीलाई बात लगाउने र हामीकहाँ आउने उस्तै लाग्छन् । उनीहरूको गुनासो सुन्दैछु । कण्डम नलगाएर बच्चा फाल्न पनि परेको छ । रोगको डर उस्तै छ । होटलमा जाँदा जसले लगेको हो, उसले छोडेपछि होटलवाला आउँछ, कतिपटक ४–५ जना पुलिस आएर हैरान पार्छन्–जान्छन् । नमाने समात्छन् । हाम्रो सामान लैजान्छन् । बाहिरबाट हेर्दा यौनबजारको जति माग बढेको छ, त्यति नै असुरक्षित रहेको उनीहरूको बोलीले प्रष्ट पारिरहेको छ । उनीहरूको माग छ, ‘अबदेखि हामीलाई माल, भालु नभने हुन्थ्यो । हाम्रो पनि यसमा लगानी छ । यसलाई मान्यता दिने पेशा बनाउनु पर्यो ।’ कुराकानीको अन्त्यमा थियौँ । उहाँहरू त अब यो पेशाबाट अलग हुन सिक्दै हुनुहुन्छ । छोराछोरीको पढाइ र भविष्यका लागि गरेको भन्दै छोराछोरीलाई यसमा फसाउन नदिने वाचा कस्दैछन् । जो अहिले बजारमा देहको भकारी फुकाएर ग्राहकको मानोपाथी भरिरहेका छन्, तिनलाई शिक्षा दिइरहेका छन् । कण्डम, यौनरोग, एडस्, स्वास्थ्य, सुरक्षा र सामाजिक मर्यादाबारे ।
उनीहरू फेरिन लागेकामा धन्यवाद् दियौँ । जो सम्पर्कमा हुनुहुन्छ । उहाँहरूलाई छुटाउन मदत गर्नुहोस् भनेर अनुरोध गर्यौँ । भन्दै थिए, ‘मोरीहरू बोसो छउन्जेल कण्डम नलगाइ सात जनासँग पनि सुत्छन् । बजारमा गाली गरेर के गर्नु ? बजार छाडेपछि गति छाडिहाल्छन् । अनि हामीले अस्पताल पुर्याउनु पर्छ । हामीले एबोर्सन गराउनु पर्छ । अरू त त्यस्तै हो भाइ, अचेल त एउटा मोबाइल बोक्ने रहरका लागि स्कुल कलेजका ठिटी पो बिग्रे त । तिनलाई कल्ले सम्झाउने हो ? सबभन्दा यौनरोगको खतरा र एड्सको बाढी अब हामी भन्दा तिनबाट आउला, बरू मोरीहरूलाई क्यामरामा ल्याएर कराउनु पर्याे तपाईंहरूले !’
चिया आइपुग्यो । चियाको चुस्कीसँगै मोबाइल नम्बर सटनी गर्यौँ । आवाज पनि बिगारेर बजाउनु है, लोग्ने हुनेहरूको फेरि घर बिग्रला नि भाइ ! उनीहरूले सतर्क गराए । र, फेरि गुनासो गरे, बजारमा भेट हुँदा बोलौँ नि फेरि, हामीलाई लगेर एन्जिओमा डलर हसुर्नेहरूले अफिसमा गएको बेला खाममा दाम दिएर मिठो बोल्न लगाउँछन् । उनीहरूका हाकिमले बजेट दिएपछि बजारमा हामी देखिनेबित्तिकै तर्किन्छन् ।
पछि अफिस पुग्दा बजारमा किन हेरेको भनेर झर्किन्छन् । उनीहरूको अथाह शोषणको कथा लेखेर साध्य रहेनछ । शुरूमै पैसा दिएर कुरा गर्न सक्दिनँ भनेको थिएँ । उनीहरूले गुनासो गरेनन् । कैयौँ यस्ता छन्, जो एन्जिओहरूले देहव्यापारी बनाएका छन् । डलर पास गर्नकै लागि सेमिनारमा लैजाने, दाम दिएर बोल्न लगाउने । गरिबीका कारण धेरैले त्यसो गरेका रहेछन् । साँच्चै देहव्यापार गरिरहेकाहरू त अझै समेटिन सकेका छैनन् । यौनबजारबाट उन्मुक्ति खोजिरहेका यी पूर्वपुतलीहरूको कथा कुनै सस्तो मनोरन्जनका लागि खुराक बनाउन खिचिएको र लेखिएको होइन ।
जो असुरक्षित र अव्यस्थित यौनबजारमा अनेक रहर बोकेर फस्दैछन्, तिनीहरूलाई सचेत गराउन हो । एकै रात दुईहजार कमाउने यिनीहरूले मासिक ७० रूपैयाँ बचत गरेर आर्थिक स्थिति बलियो पारेका छन् । समाजमा इज्जतसाथ आयआर्जनमा लागेका छन् । विशेषगरी पछिल्लो पुस्ता, जो यौनको मामलामा निकै उदार हुँदै गएको छ । शुरूमा प्रेमीसँग, पछि लोग्नेसँग यौनका प्यास मेट्छन् र छिट्टै सम्बन्ध बिगारेर यसरी यौनका बजारमा आउँछन् । उनीहरूलाई सचेत गराउन एउटा जमघट गराइएको थियो । बिट मार्नै लाग्दा फेरि पनि तर्कना उनीहरूकै, सबैलाई सुखी बनाउन खोज्ने उनीहरू न लोग्नेको मायामा हुर्किए, न घरपरिवारले लोग्ने गुमाएको भनेर पीडा बुझ्न खोजे । न यौनबजारका ग्राहक र यो समाजले नै इज्जत गर्यो । नपढेका, दुःखको सगरमाथा नै बनेर पनि ग्राहक, समाज र छोराछोरीप्रति उदार बनेका उनीहरू पक्कै समयलाई बुझ्दैछन् । त्यति नै हाम्रो समाज यौन उदारताका नाममा अरूलाई नंग्याएर केबल आफ्नो आनन्दमा मात्र रमाउन खोजिरहेको छ ।
झण्डै दुई दशक हुन लाग्यो, यो कुराकानी गरेको । केही त अहिले यो संसारमै छैनन् । केहीलाई अचेल पनि बजारका कुनाकाप्चातिर आक्कलझुक्कल भेट्छु । निधार चाउरिए पनि समाजलाई सुख दिन उनीहरु खटिएकै छन् । झ्वाट्ट बजारमा भेटिँदा भन्छन्, ‘तपाईं त्यही पत्रकार भाइ होइन, अहिलेसम्म उस्तै हेन्डसम बाइ !’ उनीहरु कटाक्ष गर्छन्, ‘क्यार्ने त भाइ, संसार यस्तै रै’छ परानौ ।’
(एलनको प्रकाशोन्मुख कथा संग्रह ‘फडमान्डु’मा यो कथा पनि संग्रहित छ)