मुगु । गत शनिबारदेखि यहाँको रारा ताल किनारमा आयोजित ‘कोप–२९’ को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असर बारे दुईदिने कार्यशाला पाँचबुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।
सङ्घीय वन तथा वातावरण मन्त्रालय र साथसाथै फाउन्डेसनले आयोजना गरेको सम्मेलनले सङ्घीय वन तथा वातवरणमन्त्री ऐनबहादुर शाहीको उपस्थितिमा प्रदेश तथा स्थानीय र सङ्घसंस्थाका प्रतिनिधिसहित विज्ञहरुसँग छलफल गरी पाँचबुँदे घोषणापत्र जारी गरेको हो ।
जारी घोषणपत्रमा जलवायु परिवर्तनका कारण समग्र मुलुक उच्च जोखिममा रहेको र कर्णाली प्रदेशमा जलवायु परिवर्तनसँग जुध्ने क्षमता कम रहेको विषयमा छलफल गरिएको उल्लेख छ । सरकारले कार्यान्वयन गर्ने विकास निर्माणमा जलवायु परिर्वतनसम्बन्धी जोखिम व्यवस्थापन र जलवायु मैत्री क्रियाकलाप कार्यान्वयन गर्न विशेष प्राथमिकता साथ उठान गर्दै जलवायु परिवर्तनका कारण महिला, बालबालिका, युवा सीमान्तकृत समुदायलगायतलाई परेको प्रभाव, जोखिमता र जलवायु न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रियस्तरमा प्राथमिकताका साथ उठान गर्ने उक्त घोषणपत्रमा उल्लेख छ ।
जलवायु परिर्वतनले पारेको प्रभावसँग जुध्न साथै जलवायु मैत्री विकासका अवसर प्राप्त गर्न अन्तर्राष्ट्रिय समुदायको सहकार्यलाई जोड दिइने घोषणापत्रमा भनिएको छ । जलवायु परिर्वतनले स्थानीय जनजीविकामा पारेको असर र प्राकृतिक विपद्को वैज्ञानिक लेखाजोखा गर्दै जोखिम व्यवस्थापन र असर कम गर्दै राष्ट्रिय, प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै आसन्न कोप—२९ मा नेपालमा जलवायु परिर्वनले पारेका असर र प्राप्त हुनसक्ने अवसरहरु, साथै जलवायु मैत्री कार्यक्रमहरु कार्यान्वयन गर्न जलवायु वित्तको आवश्यकताका बारे विशेष पहल गरिने घोषणपत्रमा उल्लेख छ ।
वन तथा वातावरणमन्त्री शाहीले नेपालले केही गल्ती नगरी अन्याय भोग्नु परेकाले क्षतिपूर्तिका लागि सरकारले अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा जलवायु कोषको रकम क्षतिपूर्तिस्वरुप पाउन आवश्यक गृहकार्य भईरहेको जानकारी दिनुभयो ।
मन्त्री शाहीले यसअघिको बजेटमा जलवायु न्यायका लागि काम गर्ने बजेट न्यून रहेकाले आगामी बजेटमा सरकारले ध्यान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । जलवायु परिवर्तनका असरले कर्णालीका जनतालाई परेको असरसहित कर्णालीको अवाज कोप–२९ मा पु-याउने बताउनुभयो ।
साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले राराको सुन्दरता, छाँयानाथ हिमाललगायतको आकर्षण जलवायु परिवर्तनको कारणले घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । सम्मेलनमा पूर्वपरराष्ट्रमन्त्री डा विमला राई पौड्याल, जलवायुविज्ञ डा मञ्जित ढकाल मन्त्रालयका सल्लाहकार डा माधव कार्की, नेपाल पर्यटन बोर्डका निर्देशक श्रद्धा श्रेष्ठ, यौनिक अल्पसङ्ख्यक अभियन्ता भूमिका श्रेष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पा, खुम्बु पासाङ गाउँपालिका उपप्रमुख टासी लामालगायत सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा जलवायु परिवर्तनको असर भोगेका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र संरक्षणविद्सँग ‘प्यानल’ छलफल गरिएको थियो ।