काठमाडाै । तपाईंलाई थाहै छ, एकदशक अघिसम्म यो देशका सत्ता चलाउनेहरु भन्दै थिए, ‘अब कम्तीमा डेढदशक त देशमा लोडसेडिङ हुन्छ–हुन्छ ।’ तर जब कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणमा आए, देशमा लोडसेडिङमात्र हटेन, लक्ष्मीपूजाका दिन पनि देश झिलिमिली भयो । सबैको दीपावली रमाइलो भयो । त्यस यता हाम्रो मोबाइल चार्ज गर्न राति ब्युँझनु पनि परेन, अचेल त थुप्रै वर्ष भयो लाइन जान छाडेको, तपाईं हामी धेरै खुशी हुनेमा पर्छौँ, यस्ता दुःख बिर्सिहाल्यौँ ।
दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो । अँध्यारोबाट उज्यालोतिर देश गएपछि हामीलाई यसको नेतृत्व गर्ने कुलमान घिसिङको पनि चासो हुन छाड्यो । ३४ अर्ब ६१ करोड रुपैयाँ घाटामा रहेको विद्युत प्राधिकरण ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा छ । तर गाइँगुइँ सुनिँदैछ । कांग्रेस एमाले गठबन्धन सरकार कुलमान घिसिङलाई हटाउन कम्मरमा तेल लगाएर बसिरहेको छ । कुलमान सरकारलाई कसिंगर भएको हो भने कसरी भए, जसले यो देश उज्यालो बनाए ? होइन भने उनलाई नियुक्त गर्ने सरकारलाई हटाएर पनि नयाँ सरकारको रिस अझै किन मरेन ? पुराना हाकिम फेरिएपछि उनले नियुक्त गरेका पियन पनि फेर्नु पर्ने राजनीतिले देश र जनताको हित गर्दैन ।
निष्पट्ट अँध्यारोमा थियो देश । गणतन्त्र आएर राजतन्त्र फालिए पनि अँध्यारो राजतन्त्रकै जस्तो थियो । बिजुलीनानी राति हामी निदाएपछि आउँथिन्, हामी बिहान उठ्दा गइसक्थिन् । हातमा मोबाइल चार्जमा समस्या थियो । गर्मीमा पंखा चल्थेन । राइसकुकरमा खाना पकाउनेहरु फेरि दाउरामा पकाउनु पर्ने अवस्थामा थिए । यस्तो बेला कुलमान घिसिङले खोइ कुन जुक्ति लगाए, एकाएक देश उज्यालो भयो । आज तिनै कुलमान यो सरकारलाई किन काउसो भइरहेका छन् ?
नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले भनेका छैनन्, ‘कुलमान घिसिङ भन्दा पनि महान २४ क्यारेटका क्षमतावान हाकिम हामीसँग छन् । तिनको पनि पालो आउनु पर्यो ।’ नाफामा विद्युत् प्राधिकरण लगिरहेका एउटा हाकिमसँग दुई तिहाइ नजिकको सरकार किन कुस्ती खेलिरहेको छ ?
२०७६ मा पनि सत्तामा भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुलमान घिसिङ दुई धार्नीको टाउकोमा १२ धार्नीको भारी भइरहेको ठानेर हटाउन चाहनुहुन्थ्यो । यतिखेर पनि केपी ओली नेतृत्वको सरकार विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई घर पठाउन खोजिरहेको थियो । सुनिए अनुसार, देशको ठूलो दल भएर पनि प्रधानमन्त्री नचाहिने नेपाली कांग्रेसले पनि अहिले चैँ कुलमान घिसिङ हटाउने एमाले नेतृत्वको सरकारलाई हरियो झण्डा देखाइसकेको छ । त्यसैले अहिले कुलमान घिसिङ संकटमा छन्, सरकार त सधैँ संकटको मुकुट ओढेर बसेको जिनिस भइगयो ।
२०५१ सालमा नेकपा एमाले र कुलमान घिसिङ यो मुलुकमा एकसाथ उदाएका हुन् । एमालेको अल्पमतको सरकार लोकप्रिय थियो। त्यसैको ब्याज खाँदै एमाले यहाँसम्म आइपुग्यो । २०५१ मै सातौँ तहबाट विद्युत् प्राधिकरण छिरेका कुलमान घिसिङ चिलिमे जलविद्युतमा प्रमुख बनेपछि चर्चा कमाए । एमालेकी तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले घिसिङलाई राहुघाटमा पठाइन् । तर राजनीतिमा राधा ज्ञवाली सकिइन्, विद्युत् प्राधिकरणमा कुलमान अरु ज्वाजल्यमान भएर उदाए । २०७६ चैतमा सातदिने स्पष्टिकरण खाएका कुलमानलाई अहिले पनि सरकारले स्पष्टिकरण सोधेको छ ।
२०७८ साउन २५ गते माओवादी सरकारले घिसिङलाई दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त गरेको थियो । असोज २१ गते दशैँको चहलपहल पारेर कुलमानलाई स्पष्टिकरण सोध्ने यो सरकारले ल्याउन खोजेको को हो ? कुलमान घिसिङको कमजोरी के हो ? भनेको छैन । हेडसरलाई पियन हटाउन मन लाग्न सक्छ तर पियनको कमजोरी र बदमासी त बाहिर ल्याउनु सक्नुपर्छ । होइन भने हेडसर उत्तानो परे भने नमज्जा हुन्छ, यो त झन मुलुका दुई ठूला दलको हेडसरको काम हो । अर्कातिर जुन अलोकप्रियता सरकारको देखिइएको छ, यसले एमालेलाई घाटा र कांग्रेसलाई फाइदा भइरहेको विषय चैँ एमालेजनले कहिले थाहा पाउँछन् ? सत्ता र दुई चार थान मन्त्रीका लागि यस्तरी नै लोकप्रियता खुइल्याइ रहने ? कार्यकर्ताले नेतालाई प्रश्न कहिले सोध्ने ?