काठमाडौ । विज्ञान प्रविधि क्षेत्रमा गरिने लगानीले मुलुकको आर्थिक रूपान्तरणमा सहयोग पुग्ने भएकाले यसतर्फ लगानी बढाउनुपर्नेमा वैज्ञानिकहरूले जोड दिएका छन् ।
काठमाडौँको बुढानीलकण्ठमा आयोजित उन्नत पदार्थसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागी वैज्ञानिकहरूले हरेक देशको समुन्नति र विकासमा विज्ञान र प्रविधि शिक्षाको महत्वपूर्ण स्थान रहेकाले यसमा ध्यानदिनुपर्नेमा जोड दिएका हुन् ।
बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा नयाँ र स्मार्ट पदार्थ, हरित र दिगो प्रविधि, चक्रिय अर्थतन्त्र, नानो÷बायो–आधारित अति सुक्ष्म पदार्थ, टिस्यू इन्जिनियरिङलगायत विषयमा छलफल गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले सम्मेलनको सफलताको शुभकामना दिनुहुँदै विज्ञान र प्रविधि शिक्षाले देशको सामाजिक रूपान्तरण र आर्थिक विकासलाई गति प्रदान गर्ने बताउनुभयो । उहाँले अनुसन्धानमा आधारित वैज्ञानिक तथा प्राविधिक शिक्षाले देशको समग्र विकासका साथै मानव जीवनलाई सरल बनाएको बताउनुभयो ।
भारतको दिनदयाल विश्वविद्यालय गोरखपुरकी उपकुलपति प्राडा पुनम टण्डनले कुनै पनि राष्ट्रको समुन्नति उक्त देशले अवलम्बन गरेको विज्ञान र प्रविधि नीति तथा समग्रतामा त्यसको कार्यान्वयनमा निर्भर रहने विचार व्यक्त गर्नुभयो । मानव सभ्यताको सुरुआतसँगै जीवन सहज बनाउन विज्ञान र प्रविधिको प्रयोग हुँदै आएको उहाँको भनाइ थियो ।
सम्मेलन आयोजक समितिका संयोजक प्राडा रामेश्वर अधिकारीले विज्ञानका क्षेत्रमा गरिएका पछिल्ला अनुसन्धानबाट प्राप्त सफलता र आविष्कारले मानव समुदाय लाभान्वित भएको उल्लेख गर्नुभयो । बायो, हरित र दिगो प्रविधिलगायतका वैज्ञानिक अनुसन्धानलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो ।
नेपाल पोलिमर इन्स्टिच्युट, त्रिभुवन विश्वविद्यालय, कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड एप्लाइड साइन्सेस, दिनदयाल विश्वविद्यालय गोरखपुर र आइपिडब्लु जर्मनीको आयोजनामा सम्मेलन गरिएको हो ।
सम्मेलनमा नेपाललगायत फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जापान, भारत, अमेरिका, चीनलगायत मुलुकबाट प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, युवा वैज्ञानिक तथा विद्यार्थी गरी करिब दुई सयभन्दा बढी वैज्ञानिक सहभागी छन् । सम्मेलनका क्रममा एक सय ३० वटा कार्यपत्र हुने कार्यतालिका छ ।