काठमाडाै । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी तत्काल नफुट्ने र कुनै पार्टीसँग तत्काल एकतामा नगइहाल्ने बताउनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम ‘जनता बहस’मा प्रस्तोता केशव जोशीसँग भएको सम्वादमा अध्यक्ष नेपालले भन्नुभयो, ‘पार्टी तत्काल एकतामा जाँदैन, विभाजनको पनि हल्ला मात्रै हो ।’ उहाँले पार्टीका असन्तुष्ट नेताहरुको पनि पार्टीमा उचित व्यवस्थापन हुने बताउनुभयो । उहाँसँग गरिएको कुराकानी :
पार्टीबाट विद्रोह गरेर छुट्टै पार्टी गठन गर्नुभयो, यो पार्टी यहाँसम्म आइपुग्दा जसरी पार्टीभित्र उतारचढाव आयो, यसलाई कसरी समीक्षा गर्नुभएको छ ?
अहिले पार्टीको सदस्य संख्या डेढ लाख छ, त्यसैले पार्टी सानो, दल सानो भन्ने कुरा राम्रो होइन ।
पार्टीभित्र महाधिवेशनमा देखिएको अन्तरद्वन्द्वमा पदका विषयलाई लिएर रुवाबासी चल्यो, कतिपयले नेतृत्वले नै हामीलाई हराउने भूमिका खेल्यो भन्ने आरोप लाग्यो, तपाईंकै नाम पनि तोकियो नि ?
मान्छेको मनस्थिति माधव नेपाले जे चाहन्छ त्यही हुन्छ भन्ने छ । अनि म प्रचार गरौँ त भन्दा होइन परेन, पक्षमा लाग्नु भएन, विपक्षमा पनि लाग्नु भएन, तपाईं तटस्थ बस्नुपर्यो, हामीलाई प्रतिस्पर्धा गर्नु दिनुपर्यो भने । मैले कुनै व्यक्ति या पक्ष वा विपक्षमा बोलेको छैन।
पार्टीभित्र असन्तुष्टको ठूलो जमात देखिन्छ, कसरी व्यवस्थापन गर्नुहुन्छ ?
ठूलो जमात छैन । हारेपछि असन्तुष्टि पोख्ने कुरामा कुनै दम छैन र सबै निर्णय प्रक्रियामा सहमति गर्दै पदका लागि निर्वाचन गर्ने या नगर्ने भन्दा गरौँ भनेर दबाब दिए । निर्णय गराउने सबै हुन् । सहमति गर्न सकिएन, निर्णय भइसकेपछि आफ्नो पक्षमा व्यापकरुपमा अभियान चलाउने, मत माग्ने, मतदान गराउने, मतगणनामा बस्ने अनि परिणाम आफ्नो पक्षमा आँउछ भनेर व्यापक प्रचार गर्ने र परिणाम आफूले चाहेको भन्दा भिन्न या पराजयपछि असन्तुष्टि पोख्नु गलत हो ।
रामकुमारी झाँक्रीले तपाईंको हातै समातेर निर्वाचन आयोगमा लगेको दृश्य थियो तर त्यही रामकुमारी झाँक्री हारेको कुराले युवापङ्ति निराश देखिए, यसलाई केही पनि होइन भन्न मिल्छ र ?
माधवकुमार नेपालः झाँक्री दुःखी छैनन् । प्रक्रियामा गइसकेपछि परिणाम स्वीकार गर्नुपर्छ । उहाँको कहीँ कतै व्यवस्थापन हुन्छ ।
कडा संघर्ष गरेर नेकपा एमाले पार्टी बनाउनुभयो । पार्टीको हैसियत बन्यो तर राजनीतिको यो मोडमा आइपुग्दा यस्तो लागेन कि कुनै दिन म यो पार्टीबाट निस्केर छुट्टै पार्टीको नेतृत्व गर्नुपर्ला ?
जीवनमा नसोचेका घटना हुन्छन्, मैले बनाएको घर, त्यसको सबै सम्पत्ति, भवन संगठन निर्माण, संगठनलाई उचाइमा पुर्याउनेदेखि राष्ट्रिय छवि अन्तर्राष्ट्रिय छविसम्म माथि उठाउने र सिंगो विश्वमै पार्टी चिनाउनेसम्म काममा मेरै महत्वपूर्ण भूमिका छ, त्यसपछि म गौरवबोध गर्दछु ।
पछिल्लो समय तपाइँको छुट्टै पार्टी गठन भइसकेपछि तपाईंको नेतृत्वमा अरु सबैको सम्बन्धमा उतारचढाव आइरह्यो तर शेरबहादुर देउवासँग तपाईंको मायाप्रेम गहिरै छ भन्ने छ, प्रतिपक्षमा हुदाँ पनि यो सम्बन्ध कायम रहनुको पछाडि के रहस्य हो ? तपाईंले देउवा प्रधानमन्त्री हुदा लगाएको गुण हो या अरु केही पनि छ ?
म प्रत्येक व्यक्तिसँग राम्रो सम्बन्ध राख्न चाहने र मनमा कसैप्रति बदलाको भावना, इर्ष्या नराख्ने व्यक्ति हुँ । कसैले चुनौती दिए चुनौती सामना गर्ने, डराएर मैदान नछाड्ने, लचिलो छु, उदार मनको छु । ममा संस्कार छ । राम्रो गर्नु, नराम्रो नगर्नु । राम्रो सोच्नु, नराम्रो नसोच्नु भन्ने ज्ञान छ । इज्जत, प्रतिष्ठा, सम्मान र मर्यादाका कुराहरु आइसकेपछि पछि नहट्ने, नबिराउने, नडराउने दह्रो मान्यता छ र प्रत्येक चुनौती सामना गरेर अगाडि बढ्नुपर्छ भन्ने भावना र विश्वासको मान्छे हुँ । देउवाजीसँग सम्बन्ध राम्रै छ ।
पूरा कुराकानी भिडियाेमा :