काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पूरा गरिरहँदा यसपटक प्रधानमन्त्री र मन्त्रीहरुले बाहेक अरुले सरकराको खास चर्चा गरेनन् । हामीले एकदम राम्रो गरेका छौँ भनेर सरकारले भने पनि अरुले पत्याउन चाहेनन् । गठबन्धन साझेदार नेपाली कांग्रेसले हर्षबढाइँ, दीपावली गरेर आफ्नो समर्थनको सरकारले बेजोडको काम गरेको भनेको अहिलेसम्म सुनिएको छैन ।
जनस्तरमा संघीय सरकारप्रति अत्यन्त नकारात्मक धारणा विकास भएको छ । अझ बालेन्द्र साहको कठोर प्रहारमा परिरहेको सरकार रवि लामिछाने समातिएपछि यो देशका निलो क्रान्ति गर्नेहरुको नजरमा जूठो परेको छ । जुठोभित्र निलो क्रान्तिका सहायक र नायकहरु गाला टोकिरहँदा यता सरकार चाहिँ लोकप्रिय बाटो छोडेर आलोचनाको दहमा डुबिरहेको देखिन्छ । सबै क्षेत्रमा अस्तव्यस्त भनेर आलोचना भइरहँदा सरकारको तर्क छः हामीले जति राम्रो न पहिलाकाले गरे, न पछि आउनेले गर्ने छन् । राम्रो गर्न खोजिरहेका छौँ, किन नराम्रो भन्नुहुन्छ ? जुन कुरा जनताले भन्नु पर्थ्याे । फेरि पनि सरकारले क्रिकेट प्रेमीहरुलाई भने केही खुशीको सञ्चार गरेको छ । कीर्तिपुरको क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणका काम शुरु भएको भनेर सरकारले आफ्नो एक सयदिनको उपलब्धिमा समेटेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनसय दिनभित्र कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जोडिने, स्कोर बोर्ड राखिने र राति पनि ढुक्कसँग खेल खेल्न मिल्नेगरी रंगशाला बनाउने निर्णयअनुसार सरकारले काम गरेको बताउनु भएको छ । क्रिकेटमा देशले फड्को मारिरहेको छ । यस्तो बेला बाटो बनाउन नसके पनि, उद्योग चलाउन नसके पनि कम्तीमा क्रिकेटप्रेमीका लागि भए पनि सरकारले सकारात्मक सञ्चार गरेको छ । सरकारको सयदिनको उपलब्धिको नालीबेलीमा क्रिकेटको कुरा ठिकै छ ।
कीर्तिपुर क्रिकेट प्रसंग यो सरकारले मात्र उठाएको होइन, अघिल्ला सरकारहरुले पनि यसै भनेका थिए । यो सरकारले पनि भनेको छ, एकसय दिनको उपलब्धीमा तीनसय दिनभित्र काम हुन्छ भनिएको हो । यसअघिका प्रधानमन्त्रीहरुले पनि भनेका हुन्, देख्न पाएन, यसपटक पनि भनिएको छ, हेर्न कहिले पाइने हो ?
बलियो गठबन्धन सरकारले मुलुक सञ्चालन गर्दा पनि ऋणको भारी बढ्नु र जनता विश्वस्त हुन नसक्नु सरकारको मात्र होइन, व्यवस्थाकै कमजोर पाटो हो । गम्भीर विषय हो । यस्तोमा प्रधानमन्त्री र उनलाई समर्थन दिनेहरु सचेत बन्न जरुरी छ । तर कहिलेकहीँ सरकारले पनि यसो समय मिलाएर ऐना हेरे आफू कस्तो छु, अनुभव हुन्थ्यो । उसो त आफ्नो सरकार कस्तो छ भनेर समर्थन दिने दलहरुले पनि सरकारलाई एउटा ऐना किनेर दिन नभ्याएर पनि सरकारले ऐना हेर्न बाँकी हो कि ?
क्रिकेटका कुरा नयाँ होइन । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि कीर्तिपुरमा क्रिकेट मैदानको विकास भएको बताउनु भएको थियो । फ्लडलाइट बनेको भनेर उहाँको सचिवालयका सदस्यहरुले फेसबुकतिर फोटो पनि हालेको देखिएकै थियो । टेण्डर भयो भनिएको थियो । त्यही क्रिकेट मैदान, त्यही विषय र त्यही कुरा फेरि नयाँ सरकारले सयदिने उपलब्धिमा भन्नु उपलब्धि हो कि नेपाली जनताप्रति बदमासी ? त्यो पनि अबको तीनसय दिनमा हुने छ भनिएको हो । भइसक्यो भनिएको होइन ।
अतः सरकार फेरिएपछि बजारमा जे बिक्छ, त्यही कुरा देखाएर यो त हाम्रो पालामा भएको भनेर घिरौँला जत्रो नाक बनाउने सरकारको पुरानै बानी हो । कीर्तिपुर क्रिकेट मैदान कस्तो हुनेछ, कस्तो बन्नेछ, तीनसय दिनमा कस्तो बन्ला, हामी तपाईंलाई देखाइरहनेछौँ । तर जे होस्, जताततै निरासाको जालोले जेलिइरहँदा सरकार एउटा भए पनि आसाको सञ्चार गर्न खोजेकामा सरकारलाई धन्यवाद् दिउँ । काम कति हुन्छ ? देखाउँदै जाउला । काम गर्ने सरकार आएको भए यसरी हामीले लेखेर–बोलेर र तपाईं सुनेर–हेरेर समय खेर फाल्न पर्थेन । यहाँ त सरकारले पनि समय खेर फाल्दा देश बर्बाद भइरहेको छ । हामी पनि बर्बाद भइरहेका छौँ । हामी पनि उस्तै छौँ, भोट हामीले हालेका हौँ, हाम्रै भोटले हामीले दुःख पाएका हौँ ।