–डा. विजयकुमार पौडेल
वि.सं. २०४७ सालको बैशाख महिना । केही दिन अघिमात्रै देश पञ्चायती निर्दलीय निरंकुश व्यवस्थाबाट मुक्त भएको थियो । आमसभाहरुको लहर चलेको थियो । त्यतिखेरका गाउँस्तरका सभा पनि अहिलेका ‘ठूला सभा’ जस्तै विशाल हुन्थे । जनतामा अपार उत्साह थियो– अब देश बन्छ, उन्नति हुन्छ । नेताहरू जनतालाई उत्साहित बनाउने भाषण गर्थे तर देश कसरी बनाउने भन्ने ठोस र व्यावहारिक योजना कुनै पनि पार्टीले अगाडि सारेको थिएन । नेताहरू आ–आफ्नो अध्ययन र बुझाई अनुसारका कुरा पस्किँदै थिए । अहिले मूल्याङ्कन गर्दा त्यतिखेर शीर्ष नेतृत्वमा राष्ट्र निर्माणबारे जे–जस्तो अन्योल थियो, अहिले पनि त्यो जारी नै देखिन्छ । त्यस यताका दीब्य ३५ वर्षमा फरक परेको भनेको नेताहरूको जीवन शैली र आर्थिक अवस्था अनि इमान्दारीको हो । देशको अवस्था परिवर्तन गर्ने बारे नेताहरू नै कुहिरोको काग भएपछि कार्यकर्ता र आम जनताले निश्चित दिशाबोध गर्ने कुरै भएन । यी सबै विषयमा पैतिस वर्षअघि र अहिलेको तुलना गर्दा दिक्क लाग्दो हास्य (ब्ल्याक कमेडी) देखा पर्दछ ।
'... अहिलेको नेपालमा राष्ट्रिय उद्यमीलाई प्रोत्साहित गर्नु नै देश निर्माणको बाटो हो, यही नै नेपालको सन्दर्भमा जीवन्त मार्क्सवाद हो ।’
त्यही २०४७ सालको बैशाख महिनाको कुनै दिन थियो, गते अहिले सम्झना भएन । रुपन्देही जिल्लाका वरिष्ठ उद्योगपतिहरूले भैरहवामा मोदनाथ प्रश्रित र जीवराज आश्रितको भाषण सुनेर प्रभावित भएछन् । उनीहरुका बीचमा कुन राजनीतिक दललाई समर्थन गर्ने, कता लाग्ने भन्ने छलफल भएछ । धेरैजसोले कम्युनिस्ट सरकार आयो भने 'सम्पत्ति खोसिदिन्छ, ६० वर्ष पुगेको मानिसलाई गोली हानेर मार्छन्’ जस्ता तर्क गरेर कांग्रेसमा लाग्नु पर्ने कुरा गरेछन् । ती मध्ये एकजना चीन घुमेर आएका रहेछन् । उनले कम्युनिस्टहरुका विरुद्ध फैलाइएका हावादारी कुराको खण्डन गरेछन् र कम्युनिस्ट पार्टीका नेताहरूलाई भेटेरै प्रष्ट हुनुपर्ने कुरा उठाएछन् । एकदिन बुटवलस्थित तत्कालिन नेकपा(माले) को कार्यालयमा रुपन्देहीका उद्योगपतिहरुले मोदनाथ प्रश्रित र जीवराज आश्रितलाई भेट्नुभयो । उहाँहरुले नयाँ जनवादको व्याख्या गर्दै राष्ट्रिय पूँजीको संरक्षण गर्ने ‘योजना’ सुनाउनुभयो । अझ त्यसमाथि राष्ट्रिय पूँजीपति वर्ग कम्युनिस्ट पार्टीको ‘मित्रशक्ति’ हो भनेर ब्याख्या गरेपछि ती उद्योगपति–व्यवसायीको टोली खुशी भयो ।
व्यवसायीलाई कामै गर्न नदिएर थुनेपछि त्यो व्यवसायसँग जोडिएको जनताको पैसा डुब्छ, बैंकको कर्जा डुब्छ, सरकारको राजस्व डुब्छ, त्यहाँ काम गर्ने श्रमिकहरूको घरको चुल्हो निभ्छ, अनि एकपटकको सफल व्यवसायी सडकमा भिखारीको हालतमा पुग्छ ।
उद्योगी–व्यवसायीहरूको भेलाको अर्को दिन रुपन्देहीको सालझण्डीमा आमसभाको आयोजना गरिएको थियो । त्यस सभामा रुपन्देहीका अधिकांश उद्योगी–व्यवसायी पुगेका थिए । निर्माण व्यवसायी विष्णुप्रसाद पौडेलले सबै उद्योगी–व्यवसायीको प्रतिनिधित्वस्वरुप जिबी टेक्सटाइलका मालिक भरत प्रधानलाई मञ्चमा बोलाएर अतिथिको आसनमा राख्न सुझाव दिनुभयो । त्यसै गरियो । भरत प्रधानले संक्षिप्तरुपमा मन्तव्य राख्दै भन्नुभएको थियो– “हामीहरूको दिमागमा कम्युनिस्ट पार्टीप्रति धेरै भ्रम थियो । प्रश्रित र आश्रितलाई भेटेपछि हाम्रो मनमा रहेको भ्रम हट्यो । हामी उद्योगी–व्यवसायीहरू कम्युनिस्ट पार्टीसँग मिलेर जान तयार छौँ...।”
सालझण्डीको सभापछि समीक्षा बैठक राखिएको थियो । त्यहाँ तत्कालिन लुम्बिनी अञ्चलस्तरका नेताहरू (अहिलेका एमालेका उपल्लो तहमा हुनुहुन्छ) ले ‘पूँजीपतिलाई मञ्चमा राखेर सम्मान गरेको’ भन्दै प्रश्रित र आश्रितको चर्कै आलोचना गर्नुभयो । प्रश्रितले करिब डेड घण्टा नयाँ जनवादबारे ब्याख्या गर्नु भयो । त्यसपछि ती नेताहरू चुप त लाग्नुभयो तर उहाँहरूको मुहारमा असन्तुष्टी प्रष्ट देखिन्थ्यो ।
अहिलेको नेपालमा व्यावसायिकरुपमा सफल हुनु भनेको चानचुने कुरा होइन । यस्तो अवस्थामा व्यवसायमा सफल व्यक्ति हुनु भनेको महान मान्छे (सुपरम्यान) हुनु हो ।
केही समयपछि तत्कालिन दृष्टि पत्रिका हो जस्तो लाग्छ, पोखराका हरि पाण्डेय र विष्णु पाण्डेयको उद्यमशीलताको प्रशंसा गर्दै मोदनाथ प्रश्रितको लेख छापियो । उद्योगपति हरि पाण्डेयको प्रशंसा गरिएको लेखको विरुद्धमा त तत्कालिन एमालेका केही लेखकहरूको सार्वजनिक वक्तब्य नै आयो । मैले सम्झेसम्म त्यो बक्तव्यको सारांश यस्तो थियो– ‘प्रश्रितजस्तो वरिष्ठ लेखकले कम्युनिस्ट आन्दोलनका गुरू गम्भीर विषयमा पो लेख्नु पर्ने हो, पूँजीपतिहरूको प्रशंसामा लेख्ने होइन ।’ केही दिन प्रश्रित र ती लेखकहरूको बीचमा सार्वजनिक जुहारी चल्यो । प्रश्रितको बचाउ गर्दै महाकाली आन्दोलनका एकजना बौद्धिक अगुवा ऋषिराज लुम्सालीले लेख्नुभयो– ‘...प्रश्रितको मार्क्सवाद जीवन्त मार्क्सवाद हो । उहाँले नेपाली जनजीवन र यहाँको अर्थतन्त्रको विकासबारे जति जीवन्त दृष्टिकोण राख्नुहुन्छ अरुले त्यसको छेउ–टुप्पो नबुझेर विरोध गरिरहेका छन् ।... नयाँ जनवाद भनेको राष्ट्रिय पूँजीको विकास र विस्तार गरी समाजवादमा पुग्ने बाटो तय गर्नु हो । पूँजीबिनाको राष्ट्रिय पूँजीपति हुँदैन । ... अहिलेको नेपालमा राष्ट्रिय उद्यमीलाई प्रोत्साहित गर्नु नै देश निर्माणको बाटो हो, यही नै नेपालको सन्दर्भमा जीवन्त मार्क्सवाद हो ।’ ऋषिराज लुम्सालीको प्रतिवादपछि आफ्नै खेमाभित्रबाट गरिएको प्रश्रितप्रतिको वैचारिक आक्रमण रोकियो । त्यतिखेर आफ्नै पार्टीका केही नेताहरूबाट व्यक्त गरिएको राष्ट्रिय उद्यमशीलताबारेको छुद्र टिप्पणीबारे हरि पाण्डेयजीको मनमा के कुरा उठे होलान् सहजै अनुमान गर्न सकिन्छ । तै पनि कम्युनिस्ट आन्दोलनप्रति हरि पाण्डेयजीको आस्था अविचलित नै छ । बल्खुको पार्टी कार्यालय बनाउँदा हरि पाण्डेयजीले उल्लेख्यरुपमा आर्थिक सहयोग गर्नुभयो ।
समय फेरिएको छ, प्रवृतिमा सकारात्मक परिवर्तन देखिएको छैन । अझै बदलिएको परिस्थितिमा कसलाई राष्ट्रिय उद्यमी भन्ने, कस्तोलाई राष्ट्रिय पूँजी भन्ने र कस्तोलाई दलाल पूँजी भन्ने बारेमा सामान्य तहको समेत बुझाई सही देखिन्न ।
एक्का–दुई नेताले संसदमा राष्ट्रिय अर्थतन्त्रको भयानक दुरावस्थाबारे बोलेका होलान् तर आमरुपमा कुनै पनि कम्युनिस्ट नामको पार्टीले राष्ट्रिय अर्थतन्त्रको संकटबारे समाधानका लागि संसद र सडकमा परिणाममा देखिने गरी काम गरेको देखिन्न ।
अहिलेको प्रसङ्ग उद्यमी मीनबहादुर गुरुङजीको । बल्खुको तत्कालिन एमाले पार्टी कार्यालय बनाउँदा उहाँले आफूसक्दो आर्थिक सहयोग गर्नु भयो भन्ने थाहा पाइएकै हो । अहिले मीनबहादुरजीले एमालेको पार्टी कार्यालय बनाउन गरेको सहयोगका विरुद्ध त्यही पार्टीका केही नेताहरू र अन्यबाटसमेत चर्को आलोचना भएको र आलोचना गर्नेहरूलाई स्पष्टीकरण सोधिएकोजस्ता विषय सार्वजनिक भएका छन् ।
अहिलेको नेपालमा कुनै पनि उद्यम–व्यवसाय–उद्योग गर्न सजिलो छैन । यहाँका सबैजसो राजनीतिक पार्टीका नेताहरूको मनोविज्ञान, कम्पनी र करसम्बन्धी कानुनहरू, उद्योगसँग जोडिने वन र वातावरणसम्बन्धी कानुनहरू, कर्मचारीतन्त्रको मनोविज्ञान र उनीहरूले उद्यमी–व्यवसायीसँग गर्ने व्यवहार इत्यादि कुनै पनि व्यवसायमैत्री छैनन्, असहयोगी छन् । व्यवसायीलाई पाइलापाइलामा हतोत्साहित गरिन्छ । अहिलेको नेपालमा व्यावसायिकरुपमा सफल हुनु भनेको चानचुने कुरा होइन । यस्तो अवस्थामा व्यवसायमा सफल व्यक्ति हुनु भनेको महान मान्छे (सुपरम्यान) हुनु हो ।
जुन पूँजीले देशमा रोजगारीको सिर्जना र निरन्तर विस्तार गर्छ, जुन पुँजीको पुनरउत्पादन देशभित्रै पुनरलगानी गरिन्छ, जुन पूँजीले कृषिलाई उद्योग र व्यवसायसँग जोड्छ त्यो राष्ट्रिय पूँजी हो । यस अर्थमा मीनबहादुर गुरुङ राष्ट्रिय उद्यमी हुनुहुन्छ । व्यवसायीमाथि मुद्दा पर्न सक्छन्, कानूनी झमेला आउन सक्छन् तर मुद्दा पर्दैमा उसको चरित्र राष्ट्रिय उद्यमी वा दलाल पूँजीपति के हो भनेर निर्धारण गर्न सकिन्न ।
यहाँका कम्युनिस्ट पार्टीका दस्तावेजमा राष्ट्रिय पूँजीको विकास, विस्तार र संरक्षण गर्ने कुरा लेखिएका छन् तर व्यवहार आमरुपमा उल्टो देखिएको छ । नेपाली कांग्रेसको कुरै नगरौँ, उ राष्ट्रिय पूँजीको घोर विरोधी हो । कांग्रेसको शब्दकोषमै राष्ट्रिय पूँजीको संरक्षण गर्ने शब्दावली छैन । कम्युनिस्ट पार्टीका नेता सत्तामा भएको बेला कुनै खास ब्यवसायी घरानालाई कानून–नियम तोडेर अनुचित लाभ दिने काम भएको होला, तर आम आर्थिक नीति अन्तर्गत सबै साना–ठूला राष्ट्रिय उद्यमलाई संरक्षण हुने नीति–नियम–कानून बनाउने र बनेका कानूनलाई पनि अर्को बाझिने कानूनसँग मिलान गरी व्यवसाय गर्न सजिलो बनाउने काम भएकै छैन । एक्का–दुई नेताले संसदमा राष्ट्रिय अर्थतन्त्रको भयानक दुरावस्थाबारे बोलेका होलान् तर आमरुपमा कुनै पनि कम्युनिस्ट नामको पार्टीले राष्ट्रिय अर्थतन्त्रको संकटबारे समाधानका लागि संसद र सडकमा परिणाममा देखिने गरी काम गरेको देखिन्न ।
अनि मनोविज्ञान कस्तो बनेको छ भने– पार्टी चलाउन लुकेर चन्दा लिन हुने, चुनावमा जुनसुकै चरित्रको पूँजीपतिसँग पनि हात जोड्दै सहयोग माग्ने, आफूलाई सहयोग गर्ने जुनसुकै दलाललाई कानून मिचेर भएपनि सहयोग गर्ने, कर्मचारीले कमिशन नखाई कामै नगर्ने तर पारदर्शीरुपमा कसैले संस्थागत सहयोग गर्यो भने त्यसको विरोधमा उत्रिने ।
पूँजीपति वा उद्यमीका आफ्नै समस्या र प्रवृति हुन्छन् । कसको कस्तो निजी प्रवृति छ भनेर उसको राष्ट्रिय चरित्र निर्धारित हुँदैन । कोही दानवीर हुन्छ, कोही कन्जुस हुन्छ, कोही आफ्ना श्रमिकप्रति उदार हुन्छ, कोही कठोर हुन्छ तर दुबैजना राष्ट्रिय पूँजीपति हुनसक्छन् । जुन पूँजीले देशमा रोजगारीको सिर्जना र निरन्तर विस्तार गर्छ, जुन पुँजीको पुनरउत्पादन देशभित्रै पुनरलगानी गरिन्छ, जुन पूँजीले कृषिलाई उद्योग र व्यवसायसँग जोड्छ त्यो राष्ट्रिय पूँजी हो । यस अर्थमा मीनबहादुर गुरुङ राष्ट्रिय उद्यमी हुनुहुन्छ । व्यवसायीमाथि मुद्दा पर्न सक्छन्, कानूनी झमेला आउन सक्छन् तर मुद्दा पर्दैमा उसको चरित्र राष्ट्रिय उद्यमी वा दलाल पूँजीपति के हो भनेर निर्धारण गर्न सकिन्न ।
सहयोग गरेबापत अनुचित लाभ लिने प्रयास हुनु हुँदैन भनेर सतर्कता अवश्य चाहिन्छ तर अनुमानका भरमा कुनै पनि राष्ट्रिय चरित्र बोकेको उद्यमीको इज्जत–प्रतिष्ठामा आँच पुग्नेगरी हमला गर्नु बिल्कुलै नाजायज कुरा हो । मीनबहादुर गुरुङले सत्ताधारी पार्टीसँग अनुचित लाभ लिन खोजेको भए पक्कै पनि गोप्यरुपमा सहयोग गर्नुहुन्थ्यो होला । खुलारुपमा सहयोग गर्नेले अनुचित लाभको आशा पक्कै गर्दैन । कसैले सत्ताबाट अुनचित लाभ लियो, नियम विपरित फाइदा लियो भने त्यतिखेर डटेर विरोध गर्नु जायज हुने छ ।
मीन बहादुर गुरुङजीले ठूला पसल (सुपर स्टोर)को सञ्जाल विस्तार नगरेको भए आज ती ठाउँमा विदेशी कम्पनीहरुको बोलवाला हुने थियो, अनि देशभित्र यस व्यवसायको पुनरलगानीको चक्र कमजोर हुने थियो ।
नेकपा (एमाले) का नीति र ब्यवहारसँग कसैले असहमति राख्नु भिन्न विषय हो तर कुनै पनि उद्यमीले आफूले मन पराउने राजनीतिक पार्टीलाई खुलारुपमा सहयोग गर्नु बिल्कुलै गलत होइन । सहयोग गरेबापत अनुचित लाभ लिने प्रयास हुनु हुँदैन भनेर सतर्कता अवश्य चाहिन्छ तर अनुमानका भरमा कुनै पनि राष्ट्रिय चरित्र बोकेको उद्यमीको इज्जत–प्रतिष्ठामा आँच पुग्नेगरी हमला गर्नु बिल्कुलै नाजायज कुरा हो । मीनबहादुर गुरुङले सत्ताधारी पार्टीसँग अनुचित लाभ लिन खोजेको भए पक्कै पनि गोप्यरुपमा सहयोग गर्नुहुन्थ्यो होला । खुलारुपमा सहयोग गर्नेले अनुचित लाभको आशा पक्कै गर्दैन । कसैले सत्ताबाट अुनचित लाभ लियो, नियम विपरित फाइदा लियो भने त्यतिखेर डटेर विरोध गर्नु जायज हुने छ ।
आम जनतासँग, व्यवसायीसँग सहयोग नलिई कुनै पनि पार्टी बाँच्न सक्दैन, खर्च धान्न सक्दैन । व्यवसायी पनि जनता नै हुन् भन्ने चेतना आवश्यक छ ।
यहाँ त प्रमाणित भ्रष्टाचारीसँग मिलिमतो गर्ने र गरी खाने उद्यमीलाई सताउने, तर्साउने प्रवृति प्रभावी भएको देखिन्छ । अहिले मीनबहादुरको विरोध गर्नेहरूले भ्रष्टाचारका ठूला काण्डमा मुख खोलेको देखिएन । काण्डैकाण्डमा मुछिएकाहरुसँग मिलेर सरकार बनाउने, त्यस्ता विषयमा दाँत बाँधेर बस्ने तर मिहिनेतले कमाएको पैसा संस्थागत सहयोग गर्नेको उछितो काढ्नु ठीक होइन ।
यो आलेखमा मैले बुटवलका उद्यमी स्व.भरत प्रधान, उद्यमी हरिप्रसाद पाण्डेय र मीन बहादुर गुरुङलाई राष्ट्रिय उद्यमीको प्रतीकको रुपमा लिएको हुँ । व्यक्तिगत कुनै लाभ–हानीको विषय होइन ।
राष्ट्रिय उद्यमीलाई काम गर्ने वातावरण दिउँ । उनीहरुबाट गल्ति हुन्छ भने सच्याउने मौका दिउँ । अहिले सुधिर बस्नेतजी कता हुनुहुन्छ ? राष्ट्रिय व्यवसायी इच्छ्याराज तामाङ जेलमा हुनुहुन्छ । व्यवसायीले आर्थिक गल्ति गरेको छ भने बरु दिनभरी काम गर्न दिएर बेलुकी जेलमा बस्ने व्यवस्था गरौं, त्यही नै साँचो सजाय हुन्छ । व्यवसायीलाई कामै गर्न नदिएर थुनेपछि त्यो ब्यवसायसँग जोडिएको जनताको पैसा डुब्छ, बैंकको कर्जा डुब्छ, सरकारको राजस्व डुब्छ, त्यहाँ काम गर्ने श्रमिकहरूको घरको चुल्हो निभ्छ, अनि एकपटकको सफल व्यवसायी सडकमा भिखारीको हालतमा पुग्छ । यसतर्फ ध्यान दिउँ । मैले व्यवसायीबाट हुने व्यावसायिक गल्ति कमजोरीलाई लिएर जेलमै राख्ने भए पनि खुला जेलमा राखौँ र सुधारौँ भनेर दर्जनौँ पटक लेखेको छु ।
जुन देशमा उद्यमशीलताको कदर हुँदैन र उद्यमीलाई गलत नजरले हेरिन्छ, त्यो देशको अर्थतन्त्र कहिल्यै उभो लाग्दैन । नेपालको अहिलेको आर्थिक दुरावस्थाको प्रमुख कारण यही हो । संसदमा भएका आफूलाई कम्युनिस्ट हुँ भन्नेहरुमा चेतना पलाओस्– उनीहरुले राष्ट्रिय उद्यम र कृषिलाई संरक्षण गर्ने ठोस योजना अगाडि सारुन् । व्यवसाय गरेर एकजनालाई पनि रोजगारी दिनु धेरै ठूलो महान काम हो । कमाउनेले सामाजिक क्षेत्रमा खर्च गरुन् भनेर प्रेरित गरौँ।