काठमाडाै । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समय कम्युनिष्ट आन्दोलनभित्र वैचारिक स्खलन, दक्षिणपन्थी सोच हाबी तथा जडसुत्रवादी प्रवृत्ति देखापर्न थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे।
“वामपन्थी दलहरुबीच एकता हुनु राम्रो हो, तर कम्युनिष्ट आन्दोदलनभित्रै जडसुत्रवादी र दक्षिणपन्थी धारा हाबी हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलन अघि बढाउन कति योगदान गरेका छौँ, बहस र आत्मसमीक्षा गरौँ ।”
‘कम्युनिष्ट’ नै देशभक्तिको पर्याय हुन् भन्ने तथ्य पुष्टि भइसकेको जनाउँदै अध्यक्ष नेपालले स्वाधिनता, सार्वभौमसत्ताको रक्षा, राष्ट्रिय अखण्डताको पक्ष तथा वैदेशिक हस्तक्षेपको विरुद्धमा एकताबद्ध भएर उभिनुपर्नेमा जोड दिनुभयो । कम्युनिष्ट आन्दोलनमा देखिएका कमीकमजोरी सुधार गरेर अघि बढ्नुपर्छ भन्दै उहाँले लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिष्टले मात्रै गर्न सक्ने दाबी गर्नुभयो ।
“व्यक्तिवाद, स्वार्थी र भ्रष्टीकरण प्रवृत्ति वामपन्थी आन्दोलनको बाधकका रुपमा देखापरेको छ, कम्युनिष्ट आन्दोलनमा दूरगामी सोचको अभाव छ”, पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “कम्युनिष्ट पार्टीले जनताको समस्या पहिचान र प्राथमिकीकरण गरेर सम्बोधन गर्ने नीति लिनुपर्छ ।”
जनतामा देखिएको निराशालाई आशामा बदल्न वामपन्थी दलले नयाँ ढङ्गबाट सोच्नुपर्नेमा जोड बताउनुभयो । “विगतको समीक्षा र वर्तमानको मूल्याङ्कन गरौँ, नयाँ ढङ्गले कसरी जान सक्छौँ भन्ने बारे सोचौँ”, उहाँले भन्नुभयो । अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना र विभिन्न कालखण्डको परिवर्तनमा संस्थापक सदस्य कर्मचार्यको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।कम्युनिष्ट आन्दोलनभित्र रहेको दक्षिणपन्थी र जडसूत्रीय चिन्तनका विरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले उपलब्धि र कमजोरीको समीक्षा गरेर जानुपर्नेमा जोड दिनुभयो । जनवादी क्रान्तिको चरण सकिएकाले अब समाजवादी क्रान्तिको कार्यक्रम सुरु गर्नुपर्ने र नेपाली मोडलको समाजवादको खाकामा बहस केन्द्रित हुनुपर्ने बताउनुभयो ।