खोटाङ । किरात सेवा समाज खोटाङले दिक्तेल बजारका विभिन्न ठाउँमा देउसीभैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न सातवटा टोलमा आयोजना गरिएको देउसीभैलो कार्यक्रममा सङ्कलित रकमले अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको छ ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारका अवसरमा मनोरञ्जन गर्नुका साथै सामाजिक काम गर्ने उद्देश्यले देउसीभैलो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष ध्यानबहादुर राईले बताउनुभयो । “किरात सेवा समाजमा एक सय ८१ घर आवद्ध छौँ । प्रत्येक घरमा पुग्न सकिने सम्भावना रहेन । त्यसैले सातवटा टोल निर्धारण गरेर कार्यक्रम सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “यसअघि नै स्थापना गरिएको अक्षयकोषमा रु छ लाख ५० हजार बचत छ । यस वर्ष रु १० लाख पुर्याउनेगरी देउसीभैलो कार्यक्रम आयोजना गरिएको हो ।”
साइनो कला केन्द्रले पनि दिक्तेल बजारमै देउसीभैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । काग तिहार अर्थात् यमपञ्चकको दिनबाट साइनो कला केन्द्रले आयोजना गरेको देउसीभैलो कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले बजारका विभिन्न चोकचोकमा पुगेर भरपूर मनोरञ्जन दिइरहेका छन् ।
दिक्तेल बजारमा एउटा सुविधासम्पन्न रेकर्डिङ स्टुडियो स्थापना गर्ने उद्देश्यले यस वर्षको तिहारमा देउसीभैलो कार्यक्रममा आयोजना गरिएको केन्द्रका अध्यक्ष भक्तबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ । “जिल्लामा अहिलेसम्म एउटा पनि रेकर्डिङ स्टुडियो छैन । एउटा गीत रेकर्ड गर्नुपर्यो भने राजधानी काठमाडौँलगायत सहर जानुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “जिल्लामै एउटा रेकर्डिङ स्टुडियो भएको खण्डमा कलाकारले लाखौँ रकम खर्चनु पर्दैन । यसले गीत÷सङ्गीतको प्रवर्द्धन हुनुका साथै कलाकारसमेत उत्पादन हुने अवसर सृजना हुन्छ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माध्यमिक विद्यालयले तिहार विशेष देउसीभैलो कार्यक्रम आयोजना गरेको छ । विसं २००९ मा स्थापना भएको विद्यालयमा सञ्चालित कक्षा ११ र १२ का शिक्षकलाई तलब खुवाउन तथा प्रशासनिक खर्च जुटाउनका लागि देउसीभैलो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाश राईले जानकारी दिनुभयो ।
तीनदिने कार्यक्रममा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, महिलाहरूका लागि तानडोरी, शिक्षक तथा कर्मचारीका लागि म्युजिकल चियर र विद्यार्थीका लागि लोकनृत्य प्रतियोगितासमेत आयोजना गरिएको जनाइएको छ । चाड मनाउन गाउँ आएका युवालाई समेटेर सामाजिक काम गर्ने उद्देश्यले विद्यालयको तर्फबाट देउसीभैलो कार्यक्रमसँगै प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको हो ।
खार्मीकै बोहोरीबोटस्थित लालीगुँरास टोल विकास समितिले कात्तिक १६ र १७ गते देउसीभैलो कार्यक्रम आयोजना गरेको छ । टोल विकास समितिमा आवद्ध ५७ घर स्थानीयवासीको घरघरमा पुगेर देउसीभैलो खेल्दै रकम सङ्कलन गरेर विपद् व्यवस्थापन कोष स्थापना गर्ने तयारी गरिएको हो ।
गाउँघरमा भैपरी आउने घटनाबाट पीडित बनेका व्यक्ति तथा परिवारलाई तत्काल उद्धार गर्ने उद्देश्यले यस वर्षको तिहारमा मनोरञ्जनसँगै स्वच्छिक रूपमा रकम सङ्कलन गर्ने तयारी गरिएको समितिका अध्यक्ष दिलकुमार राईले जानकारी दिनुभयो । “हाम्रो टोलमा अहिलेसम्म विपद् आइपर्छ भनेर कसैले पनि बचत गरेका छैनन् । परेको बेला सबैसँग पैसा हुन्छ भन्ने पनि छैन”, उहाँले भन्नुभयो, “आफूसँग बचत नहुँदा धेरै घरपरिवारले दुःख पाएका छन् । आगामी दिनमा त्यस्तो नहोस् भनेर विपद् व्यवस्थापन कोष स्थापना गर्नेगरी यस वर्षको तिहारमा देउसीभैलो कार्यक्रम आयोजना गरिएको हो ।”
दश स्थानीय तह रहेको जिल्लामा तिहारको अवसर पारेर विभिन्न सांस्कृतिक कार्यक्रमसँगै प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् । दसैँ तथा तिहारको अवसर पारेर विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने प्रतियोगितात्मक कार्यक्रमका लागि सम्बन्धित स्थानीय तहले आर्थिक सहयोग गरेका छन् ।
वर्षमा एकपटक आउने चाडतिहारको अवसरमा आयोजित विभिन्न कार्यक्रममले गाउँघर गुञ्जयमान बनेका छन् । अध्ययन, रोजगारी तथा विभिन्न कामले जिल्ला बाहिर रहेका स्थानीयवासीसमेत तिहार मान्न आफ्नो गाउँ आएका छन् ।
चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक घटनालाई न्यूनीकरण गर्न राति ११ बजेसम्ममात्र देउसीभैलो कार्यक्रम गर्न जिल्लावासीलाई आग्रह गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । तिहारको मौकामा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न तथा जिल्लावासीका लागि शान्ति सुरक्षा दिन उच्च सुरक्षा सतर्कता अपनाएर चौबीसै घण्टा प्रहरी गस्तीसमेत परिचालन गरिएको जनाइएको छ ।