काठमाडौ । सभामुख देवराज घिमिरेले शुभ दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो । सन्देशमा भनिएको छ, “तिहारले आपसी मेलमिलाप, भ्रातृत्व र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै सबै नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गर्दछु ।”
तिहार हिन्दू धर्मालम्बीहरूको बाहुल्य भएका नेपाल, भारतसहित विश्वका विभिन्न मुलुकहरूमा तामझामका साथ मनाइन्छ । नेपालीहरू अन्य देशमा बसोबास गर्नेको सङ्ख्या बढेसँगै विभिन्न देशहरूमा तिहारलाई सांस्कृतिक पर्वका रूपमा मनाउने गरिएको छ ।
यमपञ्चकमा काग, कुकुर, गाई–गोरु आदिको पूजा गरिने भएकाले तिहारलाई जनावर एवम् प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रूपमा लिइन्छ । साथै दाजुभाइ–दिदीबहिनीको आपसी सम्बन्धलाई बलियो बनाउन विशेष भूमिका निभाएकाले यस पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको छ । “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो”, सन्देशमा भनिएको छ, “तिहारजस्ता पर्वले विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण गर्न मद्दत गर्ने विश्वास लिएको छु ।“
तिहार नेपालीहरू र विशेषतः नेपाली हिन्दूहरूको सबैभन्दा ठूला पर्वहरूमध्ये एक हो । यो पर्व नेपाली हिन्दू पात्रोअनुसार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ ।