कास्की । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अभियोजन कास्की अदालतमा प्रस्तुत गर्न समय लाग्ने भएको छ ।
लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई मंगलबार म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने भएकाे हाे ।
जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेलाई शुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले मंगलबार उहाँलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसँगै उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपको अनुमतिका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । पछाईंको खातामा सूर्यदर्शन सहकारीबाट ३ करोड रुपैयाँ अनधिकृत रूपमा गएको देखिएको थियो भने तनहुँका खनाल गीतेन्द्रबाबु राई (जीबी) समूहले सञ्चालन गरेको नेटवर्किङ व्यवसाय नेचर हर्ब्सका सञ्चालक हुन् ।
अनुसन्धान नसकिएकाले मंगलबार अदालतसमक्ष थप म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । प्रमाणहरू जुट्दै जाँदा थप अनुसन्धान गर्नुपर्ने भएकाले चार जनाकै म्याद थपका लागि आग्रह गरिने जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले बताउनुभयाे । ‘म्याद थप गर्न हामीसँग प्रसस्त आधार र कारणहरू छन्,’ उहाँले भन्नुभयाे, ‘प्रहरीको अनुसन्धान प्रतिवेदन पनि आइसकेको छैन । अभियोजन यति छिट्टै लैजान सम्भव छैन ।’
लामिछानेको प्रारम्भिक बयान सकिए पनि मगाइएका कागजात र प्रमाण जुट्दै जाँदा थप बयान लिन सक्ने कानुनी बाटो खुला नै रहेको काफ्लेकाे भनाइ छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ । उक्त कसुरमा असोज ६ मा जोशी पहिलोपल्ट पक्राउ परेकाले म्याद मिलान गर्दा हालसम्म झन्डै डेढ महिना भएको छ । यसअघि प्रहरीले २५ दिन म्याद थपको माग गरेकोमा अदालतले ७ दिन थप गरेको थियो । मंगलबार पनि २५ दिन म्याद थपको माग गर्ने जिल्ला सरकारी वकिल कार्यालयको तयारी भएकाे बताइएकाे छ ।