–रामकुमार एलन
पत्रकारिता विवेकको कर्म हो । ‘घण्टा’मा सीमित पारिनुहुन्न । जब नेपालका व्यावसायिक सञ्चार घरानाहरुले पत्रकारको हाजिरी, मासिक २ सय ६ घण्टाको नियम राखे । त्यतिखेर कार्यालय आएर कम्प्युटर अगाडि उँघेर ८ घण्टा कटाउने कि एउटा दमदार समाचार खोजेर कम्पनी र आफूलाई ‘समाचारको नायक’ बनाउने भन्ने मुद्दा उठाउने हामी पनि हौँ । पत्रकार मजदुर नै हुन्, तर ८ घण्टा काम गर्ने मजदुर होइनन्, ८ घण्टा भन्दा बढी नै काम गर्ने तर लगातार काम नगर्ने मजदुर हुन् । यसै भनियो । धेरै पत्रकारको हुलिया हेर्दा यस्तै देखिन्थ्यो । त्यसैले मेसिनमा औँला दबाएर ७ घण्टा बाहिर घुम्ने, एउटा समाचार उत्पादन गर्न नसक्ने पत्रकारका लागि ‘८ घण्टा’ अत्यधिक रमाइलो भयो । कतिसम्म भने परिचय पत्र देखाएर हाजिर गर्ने टेलिभिजनमा त एउटै पत्रकार गएर साथीहरुको परिचयपत्र देखाएर हाजिर गरेर आउनेसम्मको कथाव्यथा छन्, अलि पछि पुस्तकमा लेखौँला ।
अनि स्टेसनभित्रै बस्ने, समाचार घण्टा–घण्टामा पढ्ने, लेख्ने, श्रव्यदृश्य काट्नेका लागि यो ‘८ घण्टा’को नियम जरुरी नै थिएन । अर्को साथी नआउँदा १२ घण्टा समाचार पढेबापत उनीहरुले अतिरिक्त भत्ता पनि पाएका थिएनन् र पाउने स्थिति पनि छैन । यति हुँदाहुँदै पछिल्लो समय आएका अनलाइन न्युजपोर्टलहरुले त ‘घन्टे’ चलनलाई विस्थापित गरिदिए । जहाँ बसे पनि ‘सुकुमार’ सामग्री ‘ब्रेक’ गरिदिएपछि ‘घण्टा’घर छाडेर पत्रकारहरु ‘पोर्टल’क्लबतिर लागे । त्यो क्लबजस्तै थियो : रमाइलो पनि, जोखिम पनि, सस्तो लोकप्रियता पनि ! जुवाघरको विजेताको शान जस्तो, जुवा हारेको हरुवाजस्तो !
पत्रकारका पनि समस्या छन् । जापान पठाएको छोरा सामाजिक सञ्जालमा उभिएर ‘नेपालका प्रधानमन्त्री मारिदिउँ’, ‘यही हो मौका’, ‘हानौँ साथी हो’ जस्तो अपराधयुक्त वाणी प्रदूषित गरिरहेको बारीका पाटा बेचेर विदेश पठाउने आमाबाबुलाई थाहै हुन्न । छोराछोरीले के नाममा सामाजिक सञ्जाल चलाइरहेको छ भन्ने पनि भेउ हुन्न । निर्दोष आमाबाबुलाई सन्तानको प्रगति हेर्ने रहर हुन्छ। सन्तान चैँ ‘बाह्र हातको टाँगा’ले पनि नछुने यस्ता वाहियात कुरा गरेर सिंगो जिन्दगी उत्तेजनाको रागमा खरानी पारिरहेका हुन्छन् ।
बेलैमा छोराछोरीबारे सामान्य हेरचाह मात्र गरेको भए यस्ता सन्तान उत्पादन हुन्थेनन् । तर दुःखको भारी बिसाउँदै हुर्काइएको सन्तान कस्तो सप्रियो भन्ने थाहा पाउन यस्तै एकाध नतिजा नआई हुन्न । यो पत्रकारितामा पनि हुर्कँदै गरेको चिन्तन् को विषय हो । सुनेको भरमा लेखिदिने । सुनेको विषय ‘भेरिफाइ’विना सञ्चारमा ल्याइदिने होडले हाम्रो घण्टे पत्रकारिता जेनतेन बाँचिरहेको छ । हामीले सामाजिक सञ्जाललाई आफ्नो फलोअर बनाउनु पर्नेमा हामी चैँ सामाजिक सञ्जालको फलोअर भइरहेका छौँ । जस्तो लेखे शेयर कति भयो, बोले भ्युज कति आयो ? कसलाई जित्यौँ, तुलनाको जमानाकै पल्लाभारी छ ।
जेनतेन बाँचिरहेको पत्रकारिता मार्न सिंगो समाज उदत छ । मिल्ने भए वडाअध्यक्षदेखि वडासचिवसम्म पनि पत्रकार कार्यालय नछिरे हुन्थ्यो भन्नेमा छन् । पार्टीका कार्यकर्ताहरु उस्तै दुःख दिन्छन् । उनीहरु अरुले चन्दा उठाएको खिचेर ल्याएर पत्रकारलाई दिन्छन् । आफ्नो चैँ नआइदिए हुन्थ्यो भन्नेमा छन् । नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले पनि यसपटक पोखरामा ऋषि धमलाको टिभीका पत्रकारहरुलाई दुर्व्यवहार गरे । खासमा ऋषिजीको एंकरिङमा घण्टीजनहरु रुष्ट थिए । तर त्यसको भुक्तानी खेप्नु पर्यो उनका सकल दर्जाका संवाददाता र क्यामरापर्सनहरुले ।
यसरी आग्राको कुरा गाग्रामा पुर्याउने सामाजिक सञ्जालहरुको बढावाले हाम्रो पत्रकारिता सुस्त, अलोकप्रिय बनिरहेको छ । किनभने, आज स्रोतले नबताउने, भोलि कुरा गरौँ भने पत्रकारले ‘हस्’ भन्नुपर्छ । तर सामाजिक सञ्जाल चलाउनेहरु देखिहाल्नु भयो, ‘प्रधानमन्त्री मर्यो रे !’ भनेर भिडियो हालिरहेका छन् । ‘प्रधानमन्त्री मार्दिउँ साथी हो’ भनेर भिडियो हालिरहेका छन् । यस्ता नकारात्मक कुरा तत्काल सञ्चार हुने प्रचलन छ । यसलाई कसैले नाम राखिदिएको छ ‘भाइरल ।’ यो पहिला ज्वरो, रुघाखोकीका रुपमा आउँथ्यो, अचेल मोबाइलमा आउँछ । यस्तो भाइरल हुने रहरले धेरैले हिरासतको हावा चाखिरहेका छन् । यसमा हामीले उनीहरुलाई पनि उछिन्ने गरी पत्रकारिता गर्ने नाममा छाडापन भित्र्याउँदा पत्रकारिता खुइलिँदै गएको हो । पत्रकारिता खुइल्याउन दुनियाँ लागेका बेला हामीले पनि मेहनतका साथ खुइल्याउन लाग्यौँ ।
स्वतन्त्रताका नाममा पशुपतिका साँढे नाङ्गै हिँडे झैँ हामी पनि ‘पत्रकार’ भनेर–बनेर यस्ता छाडापनमा रमाउँदा समाजले आज टिकटकर, युट्यबुर जति पनि हामीलाई पत्याउँदैनन् । हामी आज श्रमशिविरको कुरा बाहिर ल्याएर खुलापत्रका नाममा फेरि भाइरल हुन खोजिरहेका छौँ । श्रमशिविरभित्र आफ्नाे दायित्व बहनबारे लिखित या दर्ज हुने प्रतिवेदन हामीले बनाउँदैनौँ ।
तपाईं लेखिरहनु भएकै छ । लेख्ने पेशा हो, बोल्ने क्षमता हो, कोही कोही त टिभीमा उपयुक्त हुन्छन् । स्पष्ट स्वर, लोकले छिः नभन्ने हुलिया, जनउत्तरदायी सामग्री प्रस्तुति । यही हो हाम्रो परिचय, शान, पहिचान र हुलिया । निजी कम्पनीले तपाईंलाई कुनै पनि बेला ‘हायर’ गर्न सक्छ । तपाईंको काम चित्त नबुझेका दिन ‘फायर’ गर्न सक्छ । फायर गर्नुअघि ब्लांकफायर पनि चलाउन सक्छ, बुझ्ने–नबुझ्ने तपाईंको क्षमतामा भर पर्छ । तर तपाईं जब श्रमशिविरभित्र छिर्नुहुन्छ, तपाईंका केही दायित्वहरु हुन्छन् । जस्तो शिविरमा तपाईंको पद तोकिएको हुन्छ, पदको कदअनुसार भूमिका हुन्छ । तपाईं कोही मातहत या तपाईं मातहत कोही हुन्छन् । ती सबैको कमाण्डरसीप गर्नुपर्ने क्षमतामा चुक्नु हुन्न । कनिष्ठले ‘नमाने’ तपाईंको ‘वरिष्ठता’ व्यवस्थापनको ‘दर्शन’मा ‘लिलामी’मा परिसकेको हुन्छ । त्यसपछि तपाईंको ‘प्रदर्शन’ कम्पनीमा फिका हुँदै जानेमा शंका छैन ।
अब बिट मारौँ, कहिलेकहीँ पत्रकारले आफ्नै पनि समीक्षा गर्नु पर्छ । उसै पनि २०४६ सालदेखि नेताको संगत गरेर पत्रकारिता थप अध्ययनविनाको वरिष्ठ पत्रकार भइरहेको छ । त्यसपछि कलाकारको संगत गरेर फिल्न नआएको वर्षाैँ हुँदा पनि राजेश हमाल ‘महानायक’ भनेर बस्नु परेको छ । जनता मासुभातका भोकबाट माथि उठ्न सकेनन् भनेजस्तै हामी २४ हजार ५ सय रुपैयाँबाट माथि उठ्न सकेका छैनौँ । त्यही २४ हजार ५ सयका लागि पनि हामी शिविरमा छिरेपछि परिचय पत्र माग्दैनौँ । करार पत्र गर्दैनौँ । बिदा मनलाग्दी लिन्छौँ तर हिसाब राख्दैनौँ । समयमा पारिश्रमिक नपाएको पनि भन्दैनौँ । सकुन्जेल काम गर्छौँ । कहिलेकहीँ यस्तो विरक्त हुन्छौँ, कहिले उत्तेजित हुन्छौँ । शिविरमुक्त हुने रहर पनि लाग्छ । अर्को शिविरले यो पत्रकार त क्षमतावान होला भनेर ‘५ हजार रुपैयाँ’ जति बढीको किस्ती देखाउँछ । यताको करार तोडेर जान्छौँ । भूमिका छोडेर जान्छौँ । एउटामा कमाण्डर बनेको पत्रकार २–४ हजार बढी पाएपछि अर्कोमा सहायक कमाण्डर भएका देखेकै छौँ । करारविनाको हाम्रो करियर कुनै पनि बेला तासको घर हुनसक्छ । व्यवस्थापनले कुनै कारणविना नै पदमुक्त गरिदिन सक्छ ।
यस्तोबेला बाहिर गएर फुक्काफाल टिकटकर, युट्यबुरजस्तै हामी ब्लगर हुन्छौँ र ब्लग लेख्न थाल्छौँ । दुनियाँ त पत्रकारिता मास्न लागेकै छन् । पत्रकारिता गर्नेहरु नै पनि यसमा मदत गरिरहेका छन् । एउटा चाउचाउ कम्पनीले अर्को चाउचाउ कम्पनीले राजस्व छले कहिल्यै बाहिर ल्याउँदैन । एउटा ठेकेदारले कम सिमेन्ट हालेर पुल बनाए अर्को ठेकेदारले विरोध गर्दैन । एउटा कर्मचारीले घुस खाए अर्को कर्मचारीले किन खाएको भनेर गाली गर्दैन । तर पत्रकारितामा स्वतन्त्रताका नाममा यस्तो छाडापनको व्यापार गरिरहेका छौँ । हिजो त्यही शिविरले भातपानी जुटाइरहँदा महान भनिन्छ । अनि केही पारिश्रमिकको विवाद र कमाण्डरसँगको असहमतिलाई बाहिर हामी ‘सेल’ गर्न थाल्छौँ । ब्लग लेखेर खुलापत्र भन्दै उछाल्छौँ । हामीले गरेको कामको विवरण, महिनामा गरेको कुल घण्टाको रिपोर्ट, आफूले उत्पादन गरेका अब्बल सामग्री र त्यसले कम्पनीलाई पुगेको फाइदाको कागजात चैँ दिनु परे फेरि त्यही शिविर जानु पर्ने हाम्रो बाध्यता छ । आफूलाई अब्बल बनाउन उत्पादनबाट स्थापित हुने पत्रकारिताको अभ्यास गरौँ । विरोध गर्न त आशिका तामाङजस्ता ‘क्यारेक्टर’ जति पनि बेला उत्पत्ति भइहाल्छन् ।
ऋषि धमलाले दिनहुँ पत्रकारितामा बोलेको भएर उनलाई उडाइएको हो । पत्रकार भनेर कार्ड बोकेर भट्टीतिर भेटिनेहरुलाई कसले उडाएका छन् र ? उडाउनु सजिलो विषय हो, उडेर हेरौँ कति कष्ट छ ? अर्को कुरा, विश्वकपकै पुरस्कार वितरण हेरौँ । त्यहाँ सर्वोच्च विजेताको शिर ठाडो हुन्छ । जब मेडल लिने बेला हुन्छ, प्रमुख अतिथिका अगाडि शिर झुक्छ । हामी कपाल ठाडो पारेपछि झुक्नु पर्दैन भन्ने भ्रमणमा छौँ । खासमा कपाल होइन, देशको शिर ठाडो पार्ने काममा छुद्रताले होइन भद्रताले काम गर्छ । सत्यले परीक्षित हुनु पर्ने र भ्रमले संसार भ्रमण गरिसक्ने बेला भए पनि सत्यका पक्ष छाडेका दिन हाम्रो पत्रकारिता पनि ‘स्वतन्त्र’ होइन ‘छाडा’ हुन्छ । र, जतिसुकै छाडा भए पनि मैले चैँ पागलले लिपिस्टिक पसल गएर लिपिस्टक खाएको देखेको छैन, होटलमै गएर खानेकुरा मागेको देखेको छु, साँढेले मासु खाएको देखेको छैन, सागपात नै खाएको देखेको छु । इत्यलम् ।