काठमाडाै । अमेरिका अर्थात् विश्वकै बलशाली मुलुकको सत्ता डोनाल्ड ट्रम्पको हातमा आएको छ । सन २०१६ मा निर्वाचित ट्रम्प २०२१ मा पनि अविजित हुन चाहन्थे । तर जो बाइडेनसँग पराजित भए । यो बीचमा उनले अनेक आरोह अवरोह भोगे । ट्रम्पको राजनीति सकाउन धेरैले भगीरथ प्रयास गरे भने सबैमा ट्रम्प परीक्षित हुँदै गए । र, २०२४ को निर्वाचनमा उनले फेरि सत्ता कब्जा गरिछाडे ।
चुनाव ट्रम्पले अमेरिकामा जितेका हुन् । संसारभर उनकै चर्चा छ । कतिसम्म भने युक्रेनलाई साथ दिइरहेको अमेरिका अब साथ दिँदैन भन्नेमा छ । यतिसम्मकि, पाकिस्तानको आर्थिक संकट समाधानमा समेत अमेरिकाको साथ हुन्छ भन्ने चर्चा भएको छ । भारतमा प्रविधिको बजारको शेयर पनि उकालो लागेको छ । रुसका राष्ट्रपति भ्लादिमर पुटिनले समेत अब युक्रेनले अमेरिकी सहयोग नपाउने अपेक्षा गरेका छन् । इरान इजरायलको तनाव कम हुने अनुमान छ । जबकि ट्रम्म जित्दा इजरायलमा खुशियाली छ। अमेरिकी सत्तामा चार वर्षपछि बलियो पुनरागमन गरेका ट्रम्पले पुरानै कुरा दोहोर्याएका छन् । कोरोना महामारीपछि अमेरिकी अर्थतन्त्रमा परेको ठूलो संकट टार्नु चुनौती हो । जुन ४० वर्षयताकै आर्थिक संकट थेगिरहेको अमेरिकालाई अब उँभो लगाउने चुनौती पनि छ ट्रम्प प्रशासनलाई ।
अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । उनी अमेरिकाका ४५ औँ राष्ट्रपतिको अनुभव लिइसकेका पात्र हुन् । रिपब्लिकन पार्टीका ट्रम्प जित्ने अनुमान पहिले नै थियो । ट्रम्पको चुनावी प्रचार आक्रामक थियो । अघिल्लोपटक पनि महिला उम्मेदवारलाई हराएर राष्ट्रपति भएका ट्रम्प यसपटक पनि महिला उम्मेदवार तथा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्न सफल भए । प्रक्षेपणहरुले भन्छ कि उनले चुनाव जित्ने आधार पाँच वटा थिए । त्यही आधारले ट्रम्पलाई पाँचवर्षपछि फेरि सत्तामा पुर्याएको छ ।
अमेरिकाको अब राजनीतिक सन्तुलन कस्तो हुनेछ ? आर्थिक नीति के हुनेछ । एक करोड १० लाख भन्दा बढी आप्रबासी नागरिकको अमेरिका बसाइ गैरकानूनी छ । ट्रम्प तिनका विपक्षमा कठोरसँग उभिन चाहन्छन् । तर यिनमा आश्रित अर्थतन्त्रले अमेरिका कति प्रभावित होला ?
अमेरिकाका ४७ औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ठ्रम्पको पदबहाली सन २०२५ को जनवरी २० मा हुनेछ । अमेरिकी खर्बपति व्यापारी ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका हुन् । सन् १९७१ देखि देशको धनाढ्यका रुपमा चिनिएका ट्रम्प सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर चर्चामा आएका थिए । उनी रियल स्टेट व्यवसायी हुन् । उनको व्यापारिक घरानाको नाम ‘ट्रम्प अर्गनाइजेसन’ हो ।
अमेरिकाको शासनसत्तामा दोस्रोपटक पुगेका डोनाल्ड ट्रम्पलाई अमेरिकाको आर्थिक संकट सुधार्नु पर्ने बाध्यता छ । अर्कातिर विश्व तेस्रो युद्धको रिहर्सल गरिरहेको र यसमा अमेरिका नै जताततै दृश्य अदृश्य रुपमा रहेको भनेर टिप्पणी भइरहँदा अमेरिकाको सन्तुलित कुटनीति र परराष्ट्र नीतिसँगै व्यवहार पनि अब सतहमा देखिनेछ । झट्ट हेर्दा, मध्यपूर्वा तनाव, रुस युक्रेन तनावसमेत कम हुने अनुमान भइरहेका छन् । इरान इजरायल तनावलाई पनि कम गर्ने भूमिकामा अमेरिकाको सन्तुलित र परिवर्तित व्यवहार देखिँदै जानेछ । युक्रेनलाई हतियार र आर्थिक सहयोगसमेत गरेको अमेरिकाले अब रुस युक्रेन विवादलाई टार्न भूमिका देखाउनु पर्नेछ । योसँगै संसारभर उसले विकास गरिरहेको प्रविधिसहितको व्यापारलाई कायम राख्न जरुरी छ । किनभने चीनले पनि उत्पादनमा उस्तै बजारीकरण गरिरहेको छ । सस्तोमा उपभोक्तालाई सामान बेच्ने होडमा चीनले संसारलाई उछिन्न खोज्दा सबैको अर्थतन्त्रलाई चुनौती भइरहँदा अमेरिकाले यसमा पनि आफ्नो बजार कायम राख्न चुनौती छ । जे होस्, अमेरिकाले नयाँ राष्ट्रपति पाएको छ । अहिलेलाई संसारभरका देश प्रमुखहरुले मिलेर काम गर्न तयार छौँ, बधाई भनेजस्तै हामीले पनि अमेरिकी राष्ट्रपतिको गतिविधि नियाल्नेछौँ र व्यवहारका आधारमा बोल्दै जानेछौँ ।
मौसम मात्र होइन राजनीतिक माहौल पनि बदलिँदै गएको छ । काठमाडौमा चिसो बढेको छ । अब तपाईंतिर पनि मौसम बदलिँदै जानेछ । चाडपर्व बिदा गरेका छौँ । धमाधम काम गर्ने बेला भएको छ । आफ्नो ख्याल गर्नुहोला । सन्तानको पनि ख्याल गर्नु होला । विदेश गएको सुपुत्र कतै ब्लगर, भ्लगर, टिकटकर बनेर कानूनविपरीत बोलिरहेको पो छ कि ? कालसमय सधैँ हाम्रो अनुकुल हुँदैन। समयमा ख्याल गरे पछि माफी मागिरहन पनि पर्दैन !