काठमाडाै । सिंगो देश महिला साफ च्याम्पियनसीपमा विजेता हुने विषयमा केन्द्रित छ । उत्साहित छन्, खेलाडीलाई ऊर्जा भरिरहेका छन् । संसारका सबै देशमा कार्यकारी प्रमुख यस्तो इभेन्टमा पुगेर खेलाडीलाई हौसला दिन्छन् । नेपालमा जान नहुने भनेर कतै लेखिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै देशको रंगशालामा आफ्नै देशका महिला खेलाडीलाई उत्साह भर्न पुगेका हुन् । कुनै खराब नियत राखेर उपस्थिति भएका होइनन् । एमालेपुराण सुनाउन गएका होइनन् ।
उमेरले परिपक्व नभएकाहरुलाई टिकटकर, युट्युबर, भ्लगर, ब्लगर बन्ने स्वतन्त्रताका लागि लडेकाहरुमध्ये एक हुन् प्रधानमन्त्री केपी शर्मा ओली, जो यो देशको ठूलो पार्टीका अध्यक्ष हुन् र देशका कार्यकारी पनि । र, धर्मले पनि भन्छ : जतिसुकै ठूलो रिस र सत्रु भए पनि मरेको कामना गरिन्न । अनि कानूनले भन्छ : मान्छे बहुलायो र मर्यो भने सबै खतबात पनि सकिन्छ । त्यसअगाडि कानून आकर्षित हुन्छ । तर आफ्नो भ्युज बढाउने नाममा, स्वास्नी छोराछोरी पाल्ने नाममा भ्लगका नाममा जथाभावी लेख्न र बोल्न पाइन्छ ?
अब यी हुलियावाला आफूलाई २० वर्षको उमेरमै व्यावसायिक भ्लगर बताउनेको परिचय खोजौँ :
यिनी हुन् रतन कार्की । उमेर २० वर्ष भएछ । विद्यार्थी भिसामा जापान गएका रहेछन्, । पढ्न भनेर जापान गएर टोकियोमा बस्ने भ्लगर कार्की नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानको दायरामा छन् । यिनको घर चितवनको भरतपुर नै रहेछ । प्रहरी कार्कीलाई नेपाल ल्याउने प्रक्रियामा जुटेको छ । इन्टरपोलमै कार्कीको नाम दर्ज भएको छ । सामाजिक सञ्जालमा व्यापक चर्चा भएपछि, आलोचना भएपछि कार्कीले वाणी सच्याएछन् ।
ल, हेर्नुहोस्, छेपारोले आत्महत्या गर्नु पर्ने गरी र दलहरुका नेताहरु जस्तै कसरी तुरुन्तै रंग फेरेका यिनले पनि । कतै मिल्छ उनको पहिलो र दोस्रो भनाइमा तालमेल ? आज मौका यही हो, सिध्याइदिउँ भन्ने स्वतन्त्रता हो कि छाडापन ? अब यिनले साँच्चै ठूलै रनाहामा परेर कलिलो दिमागले बोलिहाल्यो, एकपटकलाई माफ दिउँ भनेर धेरैको जिभ्रो सक्सकाएको देखिन्छ । तर तपाईंहरुले सोचेजस्तो यी २० वर्षीय किशोर त्यति अबोध होइनन् । यिनले यसअघि पनि अरुलाई पनि यस्तै भनेका रहेछन् । चितवन, भरतपुरका कार्कीले भरतपुर महानगरकी मेयरपिता र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि यस्तै भनेका थिए ।
हो, पहिलोपटक नै यस्ता अराजक र छाडा बोल्नेहरुलाई कारबाहीको दायरामा ल्याउन पाइएको भए सायद धेरैले संयमित हुन सिक्थे । सबैलाई छाडा हुन दिउँ, बोल्न दिउँ, लेख्न दिउँ भन्दाभन्दै कसले कति बोल्ने भन्ने नजान्नेहरुले नै सामाजिक सञ्जाल विकृत पारे । आफ्नै कार्यकर्ता पनि टिकटकमा नाङ्गै लाइभमा देखिन थालेपछि माओवादी सरकारले प्रतिबन्ध गरेको टिकटक फेरि सञ्चालनमा ल्याउँदा अहिले टिकटक सबैभन्दा बढी कसैको विरुद्ध देखिन्छ भने त्यसको मार खानेमा उनै टिकटक प्रतिबन्ध हटाउने प्रधानमन्त्री केपी शर्मा ओली हुन् ।
टिकटकमा प्रधामन्त्रीको मृत्यु भएको भनेर भिडियो बनाउन पनि नडराउनेहरुलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । किनभने कानूनको सिद्धान्त छ : कानूनी ज्ञान छैन भनेर अपराधमा माफी दिन मिल्दैन । अर्थात् इग्नोरेन्स अफ ल इज नो इक्स्क्युज । नेपालमा लोकतन्त्रको विकास सुधारिएको लोकतन्त्र हो छाडातन्त्र होइन ।