काठमाडाै । सिंगो देश दुनियाँ दीपक मनाङेको पछिल्लो हुलिया के छ भनेर कान ठाडो पारिरहेको छ । मोबाइल र इन्टरनेटमा औँला दौडाइरहेका छन् । पत्रपत्रिका, रेडियो, टिभी, अनलाइनमा पनि दीपक मनाङेको समाचार ट्रेन्डिङमै छ । नेपाल प्रहरी धुइँपताल लगाएर दीपक मनाङे खोजिरहेको भनिएको छ ।
गुण्डा हुलियाबाट राजनीतिमा उदाएर पटकपटक गण्डकी प्रदेशमा मन्त्री भएका र बहालवाला प्रदेश सांसद दीपक मनाङेको खास नाम राजीव गुरुङ हो । अदालतले जेल तोकेपछि कास्की र काठमाडौमा तीनवटा प्रहरी युनिट मनाङेको खोजीमा जुटेको छ । मनाङेले भने अदालतका पूर्ण पाठ कुरिरहेको विज्ञप्ति निकालेर प्रहरीलाई ‘आवश्यकता भन्दा धेरै फोक्सो नफुलाउन’ अनुरोध गरेका छन् ।
के थियो गुण्डाराजमा भएको घटनाले ८ पटक मन्त्री हुँदा पनि मुक्ति नपाएर दीपक मनाङेलाई २० वर्षपछि जेलको स्वाद चखाउँदैछ । जसले मनाङेलाई दोहोर्याएर जेल पुर्याउँदैछ । २०६१ वैशाख ३१ गते काठमाडौको महाराजगञ्ज, पानीपोखरीमा रहेको चाइनिज चुफाङ रेष्टुरेण्टमा काठमाडौका अर्का गुण्डा नाइके चक्रे मिलनमाथि धारिलो हतियार तरबार प्रहार भयो । यही घटनामा दीपक मनाङेलाई पाँच वर्ष कैद तोकिएको हो । घटनामा मनाङे मुख्य योजनाकार भनेर मिलन चक्रेपत्नी इन्दिरा गुरुङले दिएको जाहेरीका आधारमा मुद्दा चलेको हो । मंगलबार सर्वोच्च अदालतले उच्च अदालत पाटनको पूर्वआदेश सदर गर्दै पाँच वर्ष कैद किटान गरेपछि मनाङे सार्वजनिक खपतबाट बाहिर छन् ।
एउटा गीत छ अरुणा लामाको स्वरमा । शब्द संगीत गोपाल योञ्जनको हो ।
भेट्टिनु–छुट्टिनु त के हो र, संसारको रित हो, नसम्झ तिमी यो मेरो बिदाको गीत हो’
२०६१ मा वडा प्रहरी कार्यालय लैनचौर, सोह्रखुट्टेका इन्स्पेक्टर अशोक सिंहले मनाङेलाई ठमेलबाटै पक्राउ गरे । चारखालस्थित अनाश्रित गुल्ममा २४ महिना कैद भुक्तान गरेपछि तत्कालीन पुनरावेदन अदालत पाटनले थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने अवसर दिएपछि मनाङे बाहिरिए । तर मनाङे फेरि समातिए । काठमाडौको प्रहरी नेतृत्वमा आएपिच्छेका हाकिमले ‘गुण्डागर्दी तह लगाउने’ पपुलिस्ट फर्मुलामा ‘काम देखाउन’ गुण्डा, चुल्ठेमुन्द्रे, टोलेहरु समातिन थाले । मनाङेले ३२ महिना जेलमा बिताएर २०६३ सालमा रिहा भए । काठमाडौमा उनका साझेदार र सहयोगी भने आक्रमणका साक्षी बनिरहे । २०६३ भदौमा रमेशबाबु श्रेष्ठमाथि महाराजगन्जस्थित शिक्षण अस्पतालअगाडि खुकुरी प्रहार भयो । गामबेशी थकाली रेष्टुरेन्टमा खाना खाएर दिउँसो २ बजेपछि बाहिर निस्कन खोज्दा श्रेष्ठको देब्रे हातमा खुकुरी प्रहार हुँदा हत्केलामा चोट लागेको थियो ।
घटनाको पृष्ठभूमि
२०५५–०५६ सालताका काठमाडौका मुख्य व्यापारिकस्थलमा सञ्चालन हुने रात्रीकालीन व्यवसायमा आधिपत्य जमाउने भन्ने होड र द्वन्द्वमा दीपक मनाङे र मिलन चक्रे समूहको उदय भएर अन्ततः मनाङेलाई जेल फैसला भएको छ । यो बीचमा मनाङे पक्ष र चक्रेपक्षबीचका वार पनि नेपाली समाचारमा आइरहे । काठमाडौमा दोहोरी साँझले भर्खर बजार लिँदै गर्दा अनि डान्सबारमा सभ्य र शालीन नभई पूर्णतः नग्न नृत्य चल्न शुरुसँगै तीनवटा नाइट क्लब (डिस्को) सञ्चालनमा आयो । पछि स्नुकर, पुल हाउसको व्यापार बढ्यो । एकताका क्याबिन रेष्टुरेण्टले बजार तताएको थियो । यो रात्रीकालीन विकृत उद्योगमा व्यापार कम लुटपाट बढी हुन थालेपछि यौन कारोबार, ग्राहकसँग बिलका नाममा रकम असुली चल्न थाले । २०५८–५९ पछि सशस्त्र द्वन्द्व उत्कर्षमा पुग्दा प्रहरी आफ्नै ज्यान जोगाउने चिन्तामा भएकाले शहरको विसंगति मौलाउन मौका मिल्यो । उद्दण्ड जत्थाहरु डन बनेर उदाए । कोही मनाङेको आवरणमा त कोही चक्रेका आवरणमा प्रस्तुत भएर काठमाडौ डनमान्डु भयो ।
मनाङे समूहको व्यवसाय चल्ने ठमेल, दरबारमार्ग, सुन्धारा र न्युरोडमा मिलन चक्रे प्रवेश गर्न खोजे । र, ठमेल–दरबारमार्गमा नियमितजसो ग्याङफाइट हुन थाल्यो । एकपटक न्युरोडमा भएको ग्याङफाइटमा मनाङे पक्षले निकै क्षति बेहोर्नु पर्यो । त्यसपछि चक्रे समूहले मनाङे समूहको संरक्षण रहेको मनोज आचार्यसहित एक दर्जन डान्सबार र दोहोरी व्यवसायी विस्थापित बनाइदियो ।
मिलन चक्रेको हात च्वाट्टै भएको बेला
घटना २०६१ कै हो । मिलन चक्रेमाथि तरबार प्रहार गर्न दरबारमार्गबाट पानीपोखरी हिँडेको समूह १७ मिनेटपछि फेरि त्यहीँ फर्किन्छ । रगताम्मे तरबार स्विमिङ पुलको पानीमा चोपल्दै एकजनाले भन्दै थिए, ‘हात त च्वाट्टै गयो नि ।’ हो, दीपक मनाङेलाई जेल पुर्याउने घटना यही थियो । दरबारमार्गस्थित होटल उडल्याण्डको स्विमिङ पुल प्याराफिट वरिपरि १५ देखि २० युवाको हूल थियो । २०६१ वैशाख ३१ गते अपराह्न ३ बजेदेखि आउन थालेका उनीहरूलाई मनाङेले केही भनिरहेका थिए । ती युवा होटल परिसरमै रातको समयमा चल्ने क्लब डाइनेस्टी (डिस्को थेक) र माथिल्लो बाहिरी भागमा चल्ने क्याफे ट्वाइन्टीफोर (हाल हिमालयन जाभा भएको ठाउँ) का बाउन्सर हुन्छन् । मनाङे ती दुबैका लगानीकर्ता थिए ।
अपराह्न ४ बज्दा स्विमिङ पुलको दृश्य अस्वाभाविक देखेर ‘बाबु काले’ नामले बोलाइने क्याफे ट्वाइन्टीफोरका मुख्य सञ्चालक रमेशबाबु श्रेष्ठ पुगे । मनाङेले केही योजना बनाइरहेको शंका लागेर उनी त्यहाँ पुगेका थिए । यस्तो किन पनि भयो भने, श्रेष्ठको सम्पर्क चक्रेका मान्छेहरूसँग पनि थियो । उसो त श्रेष्ठले मनाङेलाई सम्झाएका थिए, ‘अहिले केही नगरौँ है, राजाले शासन लिएको बेला छ, प्यालेस (दरबार) का मान्छेहरू हामीसँग रिसाएका छन्, फसाइदिन्छन् ।’ मनाङे मानेनन् । उनीहरु १५ देखि १७ मिनेटका बीचमा हस्याङफस्याङ गर्दै आए । सुनाएः ‘भयो दाइ, हान्नियो ।’ हो, त्यहीँ हात च्वाट्टै गएको खबर आइसकेको थियो ।
देब्रे हात दुई टुक्रा भएका मिलन गुरुङ उर्फ चक्रे उपचारका निम्ति त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुगे । ‘घाउ जाँच मुचुल्का’ बन्यो । यसपछि वीर अस्पताल भर्ना भए । प्रहरी एकमनले खुशी भयो, केही दिन भए पनि एउटा गुण्डा त ढल्यो । अर्कातिर सुरक्षामै चुनौती, दिउँसै हात छिनाउने गरी झडप गर्ने मनाङे चैँ खोइ ? चक्रे गुरुङ स्वयम् अर्को मुद्दामा प्रहरीको खोजीमा थिए । अस्पतालमै उनलाई नियन्त्रणमा लिने थाहा पाएर उनी काटिएको हातसहित उनी रातरातै आइसियुबाटै बेपत्ता भए । प्रहरी झन गुण्डाराजले तनावमा पर्ने नै भयो । तर प्रहरी मनाङेको खोजीमा केन्द्रित भयो । साँच्चै भन्ने हो भने चक्रेको हात काट्न को–को गएका थिए भन्ने कानुनी प्रमाण नेपाल प्रहरीसँग छैन । मनाङे मुख्य योजनाकार भन्ने चक्रेपत्नी इन्दिराको जाहेरीमा उल्लेख भएको विषय हो । मनाङेबाहेक सबैले अदालतबाट सफाइ पाइसकेका छन् । जबकि त्यो घटनामा मनाङे स्वयम् घटनास्थलमा थिएनन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, हनुमानढोकाका तत्कालीन सई जगन्नाथ खनाल दसी प्रमाण नभेटिएकै कारण ज्यान मुद्दाको सट्टा कुटपिटको मुद्दा अगाडि बढाइएको बताउँछन् । प्रहरी सेवामा इन्स्पेक्टर दर्जाबाट अवकाशप्राप्त खनालका अनुसार त्यसबेलाको प्रहरी कार्य ‘अनुसन्धानात्मक’ भन्दा बढी ‘आदेशात्मक’ थियो । मनाङेलाई जसरी पनि फसाउनुपर्छ भन्नेमा दरबारियामार्फत अधिकांश प्रहरी उच्च अधिकारीको जोड थियो । किनभने, २०५७ सालमा मनाङे र पारस शाहको झगडापछि संगीतकार प्रवीण गुरुङ मारिने घटना भएको थियो । क्लब डाइनेष्टीमा भएको झगडापछि शाहले अनियन्त्रित गतिमा चलाएको गाडी होटल याक एण्ड यतिको उत्तरी भागमा दुर्घटना हुन पुगेको थियो । आफैँले चलाएको मोटरसाइकलमा गेटबाट सडकतिर निस्कँदै गरेका संगीतकार गुरुङलाई शाहको गाडीले सडक पेटीमै ठक्कर दिन पुग्यो । घटनास्थलमै उनको ज्यान गयो ।
यसबाहेक राजदरबारको ड्युटीमा रहने केही सेना, प्रहरी ठमेल–दरबारमार्गमा रात्रि जीवन बिताउन निस्कन्थे । बिल तिर्ने, नतिर्ने र कामदार युवतीसँगको व्यवहारजस्ता विषयमा मनाङे र दरबारियाबीच पटकपटक झडप हुने गरेका थिए । दरबारनिकटस्थले मनाङेलाई विस्थापित गर्ने अनेक प्रयास जारी राखेका थिए । २०६१ माघ १९ गते ज्ञानेन्द्र शाहले सम्पूर्ण सत्ता हातमा लिएपछि मनाङेद्वारा दरबारमार्गमा सञ्चालित क्लब डाइनेष्टी र क्याफे ट्वाइन्टीफोरलाई सेनाले नियन्त्रणमा लियो । क्लब डाइनेष्टी त चल्यो, क्याफे ट्वाइन्टीफोर सधैँका लागि बन्द भयो ।
चक्रे घटनामा पीडितको न्यायका निम्ति भन्दा बढी मनाङेमाथि प्रतिशोध साँध्ने प्रयास बढी भएको अब लुकाउनु पर्ने विषय नै रहेन ।
मनाङेका दुःख
‘मुख्य योजनाकार’ का नाममा घटनाको २० वर्षपछि प्रहरीबाट लुकेर हिँड्नुपर्ने नियति भोगेका दीपक मनाङे उर्फ राजीव गुरुङका भने ‘दुःख’ का दिन सकिएनन् । कमाएको सम्पत्ति र चलेका व्यवसाय जोगिएन । जेलमा रहेका बेला विश्वासिला साथीहरूले नै धोका दिँदै गए । उसो त पारिवारिक जीवन पनि सुखद् रहेन । दुई पत्नीसँग पालैपालो सम्बन्ध विच्छेद हुँदा आधाभन्दा बढी सम्पत्ति गयो । प्रहरी–प्रशासनले पटकपटक पक्राउ गर्ने, छाड्ने शृङ्खला चलेपछि मनाङेको व्यवसाय र घरबार संकटमा परेको थियो ।
मनाङ, चामेकी पासाङसँग गुरुङ संस्कृतिबमोजिम भव्य विवाह गरेका थिए मनाङेले । दुई छोरा पनि छन् । जेठा छोरा सिद्धार्थ ‘वान वे’ चलचित्रमा हिरोसमेत भए । पासाङसँग १५ वर्षअघि नै सम्बन्ध विच्छेद भयो । ठमेल, पकनाजोलमा रहेको करिब दुई रोपनी क्षेत्रफलमा बनेको घरसहित नगद र गरगहना दिए । बाग्लुङ स्थायी घर भएका ब्रिटिश लाहुरे भीमबहादुर गुरुङकी छोरी शान्तिसँग मनाङेको प्रेम सम्बन्ध भयो । हङकङ आइडीप्राप्त शान्तिसँगै मनाङे पनि हङकङ गए, पतिका रूपमा । त्यसपछि उनका लागि हङकङ–काठमाडौ आवतावत पानीपधेँरो भएको हो । तर शान्तिसँग पनि सम्बन्ध बिग्रन थाल्यो । शान्तिबाट जन्मिएका छोरा उतै छन् । उनीसँग सम्बन्ध विच्छेदका क्रममा मनाङेले थप आर्थिक भार व्यहोर्नुपर्यो । शान्ति छोरासहित लन्डनमा छिन् ।
हेटौँडा, पदमपोखरीकी दिछेन लामाले मनाङको बाँकी जीवनलाई हराभरा बाउन खोजिन् । उनीहरुको एउटा छोरा पनि छ ।
२०४७ सालमा ठमेल, चाक्सीबारीमार्गको तेस्रो घरमा ‘याक हर्न पव’ रेष्टुरेण्ट खोलेर व्यावसायिक जीवन शुरु गरेका मनाङेसँग अब केही गिटी, बालुवा व्यवसाय बाँकी छ । २०५०–५२ देखि २०६१ सम्म काठमाडौको रात्रिकालीन व्यवसायमा करिब एकछत्र राज गरेका उनले वास्तविक लगानी र गुडविल शेयरसहित अर्बौँका मालिक हुनुपर्ने हो । उनका पुराना व्यापारिक साझेदार भरत कोइरालाका नजरमा मनाङे यो हैसियतमा छैनन् । जेल, मुद्दा, वकिल, पुलिस, पत्रकार, पत्नी, प्रेमिकासँगै भागदौडको जिन्दगीमा कमाएको सम्पत्ति पनि गुम्दै गयो । मनाङेले जोमाथि गुन लगाए, उही बैगुनी भए ।
पूर्वसाझेदार रमेशबाबु श्रेष्ठ मनाङेको नाममा ‘हाउगुजी’ चलाइए पनि वास्तविक जीवनमा यस्तो नभएको बताउँछन् । आजसम्म एउटा कुखुरा पनि नकाटेका मनाङे २० वर्षदेखि ज्यान मुद्दा बोकिरहेका थिए, जेल नै पुगे ।