काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध देशभरि नै आन्दोलन चर्काउने भएको छ ।
आज पदाधिकारी बैठकले मंसिर महिनाभित्रै सबै पालिकामा खबरदारी सभा गर्ने निर्णय गरेको सचिव दिनानाथ शर्माले बताउनुभयो। उहाँले भन्नुभयाे, ‘हामीले काठमाडौमा यसअघि नै खबरदारी सभा गरिसकेका छौँ। अब मंसिरभित्र सबै पालिका स्तरमा पनि खबरदारी सभा गर्ने निर्णय भएको छ।
मंसिरमा नभ्याएका पालिकाले पुस २ देखि बस्ने केन्द्रीय कमिटी बैठकपछि सभा गर्छन् ।’ उहाँले पालिका स्तरको खबरदारी सभाको कार्यक्रम सम्बन्धित प्रदेशले अनुकूलता हेरेर बनाउने बताउनुभयाे । प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले मिलेपछि सत्ताबाट हुत्तिएको माओवादी ओली सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आइरहेको छ ।
त्यसो त माओवादी मात्रै नभई प्रतिनिधि सभाको चौथो ठूलो पार्टी रास्वपा पनि अहिले सडकमै छ। सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै देशव्यापी आन्दोलनमा छ । यस्तै, पाँचौँ ठूलो दल राप्रपाले पनि अब सरकारविरुद्ध काठमाडौ केन्द्रित प्रदर्शन गर्दै छ । सरकारले भ्रष्टाचारी र बिचौलियालाई जोगाउन र विपक्षीलाई निशाना बनाउँदै हिँडेको माओवादीको निष्कर्ष छ ।
अहिलेको सरकार अधिनायकवादी र तानाशाही बन्दै गइरहेको पुष्टि भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयाे । राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको भन्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्श कुल्चिने कुचेष्टा भइरहेको उहाँकाे भनाइ छ ।
उहाँले जनजीविकाको सवालमा पनि सरकार चुकिरहेको निष्कर्षसहित खबरदारी सभा देशव्यापी विस्तार गर्ने योजना बनाएको बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘राष्ट्रियताको सवाल झनझन पेचिलो, झनझन जटिल भइरहेको छ। लोकतन्त्रका मूल्य, मान्यता र आदर्श कुल्चिने कुचेष्टा भइरहेको छ। जनजीविकाको सवालमा सरकार चुकिरहेको छ। यो सरकार चुनावपछि गठन भएको होइन यसलाई एक सय दिन भन्ने लागू हुँदैन। यो सरकार त आफ्नै कारणले जान्छ, जान्छ।
हामीले बेलैमा अब जनतालाई अग्रगमनको पक्षमा दिशा निर्देशन गर्न सकेनौँ भने अराजकता बढ्छ।’ उहाँले सरकार चुकेको कुरा माओवादीले मात्रै नभई सत्तारुढ दलका नेता शेखर कोइराला लगायत नेताहरूले पनि भन्न थालेको बताउनुभयाे।