काठमाडाै । दीपक मनाङे, तपाईंले चिन्नु भएको हुनसक्छ, या नाम त पक्कै सुन्नु भएको छ । उनको नागरिकताको नाम चाहिँ राजीव गुरुङ हो । मनाङबाट काठमाडौ आएर उनले रात्रीकालीन व्यवसायभित्र पर्ने दोहोरी, डान्स, डिस्को हुँदै दिउँसाको व्यापार ढुंगा, गिटी, बालुवा, हप्ता असुलीसम्मका घटनामा आफूलाई स्थापित गरे । पछि यिनै मनाङे डनमान्डुबाट गणतन्त्र नेपालको प्रदेशतिर राजनीतिमा होमिए ।
दीपक मनाङे उम्मेदवार भएपछि नेकपा एमालेले मनाङेको ठाउँमा उम्मेदवार नै बनाएन । यसपछि नेपाली राजनीतिमा दीपक मनाङे उदाए । गण्डकी प्रदेशमा लगातार ८ पटक जति मन्त्री भए । मन्त्रालयमा पैसा नै छैन, त्यस्तो मन्त्रालयमा के मन्त्री हुने भन्ने एकमात्र मन्त्री हुन् दीपक मनाङे । नत्र एकबारको जुनीमा मन्त्री भइहालेँ, जुन मन्त्रालय भए पनि हुन्छ भन्ने हुन् सबै दलका नेताहरु । तर यिनै मनाङे सांसद हुँदाहुँदै पनि आज मंगलबार प्रहरीले समातेर अदालत र अदालतबाट जेल चलान भएका छन् । २०६१ मा आफूूजस्तै गुण्डालाई आक्रमण गरेको अभियोगमा मुद्दा खेपिरहेका थिए । त्यही मुद्दामा फैसला भएर अन्ततः मनाङे पनि जेल जाने मन्त्री–पूर्वमन्त्रीहरुको सूचीमा पर्नु भएको छ । भन्दै हुनुहुन्थ्यो, अदालतको पूर्णपाठ आओस्, पूर्ण पाठ त आएन तर मंगलबार बिहानै सानो भर्याङमा मनाङे छन् भनेपछि प्रहरी चाहिँ आयो ।
गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेको जेलयात्रा शुरु भएको छ । २०६१ वैशाखमा काठमाडौ अर्थात् डनमान्डुका अर्का गुण्डानाइके मिलन गुरुङ चक्रेलाई आक्रमण गरेको मुद्दामा अदालतबाट फैसला भएपछि मनाङे दोषी ठहर भएका हुन् । कास्की र काठमाडौका तीन वटा प्रहरी युनिट मनाङेको खोजीमा जुटेको थियो । मंगलबार बिहान उनी काठमाडौको सानो भरेङस्थित कम्फर्ट हाउजिङमा भेटिए । सिआइबीको नियन्त्रणमा परे ।
२०६१ वैशाख ३१ गते महाराजगञ्ज, पानीपोखरीस्थित चाइनिज चुफाङ रेष्टुरेण्टमा अर्का गुण्डा नाइके चक्रे मिलनमाथि धारिलो हतियार (तरबार) प्रहार भएको घटनामा मनाङे दोषी ठहर भएका हुन् । घटनाका मुख्य योजनाकारका रुपमा मनाङे रहेको भन्दै मिलन चक्रेपत्नी इन्दिरा गुरुङले दिएको जाहेरीका आधारमा मुद्दा चल्यो । आक्रमणमा जोडिएकाहरुले सफाइ पाए । घटनास्थलमा नभएका मनाङे दोषी ठहर भए ।
२०६० को दशकमा काठमाडौ गुन्डागर्दीको चंगुलमा थियो । ‘बादशाह’ मानिएका दीपक मनाङे र चक्रे मिलन दुवै चर्चामा थिए । यतिबेला दुवै राजनीतिमै सक्रिय छन् । मनाङे गण्डकी प्रदेशसभाको सदस्य तथा पूर्वमन्त्री हुन् भने चक्रे मिलन नेकपा एमालेको राजनीतिमा सक्रिय छन् ।
मनाङे र मिलनको २० वर्षअघिको एक घटनाले मनाङेको जेलयात्रा तय भएको छ । मनाङे २०७४ सालयता भने गण्डकी प्रदेश सरकार निर्माण र भत्काउने खेलका मुख्य पात्र थिए । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस) तीनवटै पार्टीबाट उनी मन्त्री बनेर यतिखेर जेल जाने थुप्रै पूर्वमन्त्रीहरुमा एउटा नाम थप्न सफल भएका छन् ।
दीपक मनाङेले यसअघि पनि ३२ महिना जेलको हावा चाखेकै हुन् । तीन विवाह, आठपटक मन्त्री, अर्बोँका सम्पत्ति । अघि पछि लाग्ने लावालस्कर । उम्मेदवार बनेपछि एमालेले समेत पछि हटेर साथ दिएको, विभिन्न पार्टीले मन्त्री बनाएको, प्रदेश सरकार ढाल्न सक्ने हैसियतका व्यक्तिलाई हत्कडी लाग्यो । भन्छन् नि, ‘दुःख दिए दुःखै पाइन्छ ।’
मनाङेले दुःख दिएकाहरुलाई यस्तै परिरहेको होला । तर दुई डनको झगडामा जोडिएर तत्कालीन शक्ति राजदरबारको दबाब, नेपाल प्रहरीको पनि एक हदको प्रश्न गर्न मिल्ने अनुसन्धान, घटनास्थलमा नभएका पात्र पनि मुख्य दोषी करार हुने फैसलाले अन्ततः पूर्वमन्त्रीज्यू जेल प्रवेश गर्नु भएको छ । डान्स, डिस्को, दोहोरी, रातको रंगीचंगी जीवन बिताइरहेका मनाङे २०६१ सालमा पहिलोपटक पक्राउ पर्दा क्षत्विक्षत अवस्थामा रहेका जेलका पुराना खाटमा निद्रा लागेन । बिरामी भएको डाक्टरी रिपोर्टका आधारमा केही समय अस्पताल बसेका मनाङेले आफ्नै पैसामा जेलभित्र अलग्गै टहरा बनाए ।
त्यसपछि जब उनी पक्राउ पर्दै गए, तब उनका लागि त्यो टहरा खालि हुँदै आयो । फेरि पनि उनलाई जानु त त्यहीँ नै थियो । यसपटक उनको जेलबसाइ कस्तो हुनेछ ? उनका लागि फेरि जेलमा यस्तै सजिसजाउ हुन्छ कि हुँदैन, देखिँदै जानेछ । एउटा कुरा भन्छु तपाईंलाई । संसार जित्नेहरुको हो, हार्नेहरुको होइन, यतिखेर दीपक मनाङ हारेका छन्, २० वर्षपछि अभियुक्तलाई समात्दा टिप्न बिर्सेको घिरौँलाजत्रो नाक बनाउन पर्नेहरु पनि २८ महिनापछि दीपक मनाङे फर्केपछि के पो हुने भन्दै नाक जोगाउन अहिलेदेखि नै लागेका छन् । बाँकी देखाउँदै जानेछौँ ।