काठमाडौ । ललितपुर महानगरपालिकाले संस्कृति शिरोमणि एवं अनुसन्धानकर्ता हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक तथा वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई आजीवन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गर्ने भएको छ ।
बिहीवार ललिपुरमा एक कार्यक्रमको आयोजना गरी महानगरपालिकाले आजबाट लागू हुनेगरी अनुसन्धानकर्ता जोशी र वरिष्ठ साहित्यकार कायस्थलाई आजीवन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गरेको हो ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कला, संस्कृति, सम्पदा संरक्षणमा अनवरत रुपमा सक्रिय भइ महानगरको पहिचान बढाउने काम गरेको योगदानको कदरस्वरुप उहाँहरुको दिनचर्यालाई सहज बनाउन सो सम्मान दिएको बताउनुभयो ।
उहाँले अस्पतालमा भर्ना भइ उपचार गराउनुपरेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च समेत महानगरपालिकाले व्यहोर्ने बताउनुभयो । संस्कृति शिरोमणि एवं अनुसन्धानकर्ता जोशीका पुस्तकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश रहेका छन् । साथै संस्कृतिविद्, अन्वेषक तथा वरिष्ठ साहित्यकार कायस्थको पुस्तक पनि विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश छ ।
जोशीले संस्कृतिका विविध विधामा तीन दर्जन बढी पुस्तक लेख्नुभएको छ भने कायस्थका ५ दर्जन भन्दा बढी पुस्तक प्रकाशित छन् । कला, संस्कृति, सम्पदा संरक्षणमा योगदान पु¥याउने व्यक्तित्वको सम्मान र कदरस्वरुप महानगरपालिकाले सो काम गरिरहेको प्रमुख महर्जनले बताउनुभयो ।