काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला फुटबल प्रतियोगिता सम्पन्न गर्यो । प्रतियोगिताको धेरै चर्चा भयो।प्रतियोगिताभर नेपाली खेलाडीले गरेको प्रदर्शनको तारिफ गर्दै उनीहरुलाई हौसला दिन खेलाडीहरुको भिड थियो ।
प्रतियोगिताको टिकट बिक्रि गर्ने अधिकार माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले लिएको थियो । नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा दर्शक क्षमता भन्दा धेरै टिकट बिक्रि गरेको भन्दै एन्फाले सम्झौता खारेज गर्दै फाइनल टिकट आफूले बेच्ने निर्णय गर्यो । माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले टिकट सबै खल्तिबाट बेच्ने निर्णय गरेको थियो । तर, एन्फाले भने भौतिक रुपमा तीन ठाँउबाट टिकट बेच्ने निर्णय गर्यो ।
साफ च्याम्पियनसिप सकिएको १५ दिन भन्दा धेरै हुँदा पनि हालसम्म एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी आफूलाई हालसम्म टिकट बिक्रि र त्यसबाट भएको आमदानी थाहाँ नभएको बताउँछन् । ‘कति आम्दानी भएको, कति टिकट बिक्रि भएको हो । त्यो मलाई थाहाँ छैन । बैंकमा दाखिला भएको होला सायद । मैले कसैलाई सोध्नु पर्छ,’ जनता समाचारसँग कुराकानी गर्दै उनले भने । तर, एन्फा स्रोतका अनुसार माइनट नै गरेर एन्फाको आम्दानीको विषय कोषाध्यक्षलाई भनेको बताउँछ ।
कोषाध्यक्ष जोशीले नै हिसाव किताव मिलाउनकै लागि नभनेको एन्फा एक अधिकारीले जनता समाचारलाई भने । यता एन्फाका अकाउन्टेन सन्जिब पाण्डेले पनि हालसम्म टिकटको आम्दानीको विषयमा आफूलाई जानकारी नभएको बताए । एन्फाले फाइनलको दिन भीआईपीतर्फ एक हजार ५०० र साधारणतर्फ ११ हजार टिकट विक्रि गरेको छ ।
जसमा एक हजार भीआईपी पास, एक हजार साधारणतर्फको पास,दुई सय ५० निमन्त्रणा कार्ड, चार सय ७० एलओसी र दुई सय १६ गेस्ट पास बाडिएको थियो। माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिले टिकटको विषयलाई लिएर एन्फाविरुद्ध मुद्दा दायर गरेको छ । प्रालिले ८० लाखमा टिकटको राइट लिएको थियो ।
जसमा ३० लाख रुपैया पहिले नै एन्फालाई एड्भान्स बुझाएको थियो । तर, एन्फाको लोभले आफैले टिकट बेच्ने भन्यो ।