काठमाडाै । नेपाली कांग्रेसका नेता धनराज गुरुङको नाम जोडिएको मितेरी सहकारीको रकम कहाँ कहाँ प्रयोग भएको छ भनेर केही तथ्य बाहिर आएका छन् । यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले स्वयम् धनराज गुरुङसँग बयान लिइसकेको छ । ललितपुरको महालक्ष्मी स्थानस्थित मितेरी सहकारीबाट अपचलन भएको रकम ‘क्रिप्टो’ कारोबारमा समेत लगानी भएको डरलाग्दो त्थय खुलेको छ । सिआइबीले दुई महिनादेखि गरेको अनुसन्धानमा मितेरीका बचतकर्ताको रकम क्रिप्टो करेन्सी, जुन नेपालमा अवैध मानिन्छ, त्यस्तो धन्दामा जनताको बचत लगानी भएको पाइएको छ । उजुरी नआएकाले अहिलेसम्म धनराज गुरुङ पक्राउ परेका छैनन् ।
‘कागजी डिभोर्स’ गरेकी पत्नी ज्योति गुरुङसहित पाँच आरोपी फरार छन् । नेपालमा क्रिप्टो कारोबार अवैध भइरहँदा यसैमा नेताहरु संलग्न सहकारीको पैसा खर्च भइरहेको रहेछ । क्रिप्टो ‘भर्चुअल’ मुद्रा हो, जसको खरिद–बिक्रीमा भौतिक पैसा लगानी गरिएको हुन्छ । युरोप, अमेरिकालगायत देशमा वैध रहेको क्रिप्टो कारोबारलाई नेपालमा भने अवैध मानिँदा पनि बदमासी गर्न नेताहरुको परिवारलाई लाज हुँदैन रहेछ भन्ने डरलाग्दो घटना बाहिरिएको छ । अर्कातिर २० अर्ब रुपैयाँ भन्दा बढी जनताको बचत हिनामिनामा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको संलग्नता देखिएको छ । केही हिरासतमा छन्, केही पक्राउ पूर्जीमा परेका छन्, केहीविरुद्ध अनुसन्धान जारी छ । केहीलाई उजुरी नपरेकाले प्रहरीले पक्रन पाएको छैन ।
मितेरी सहकारी भन्नेबित्तिकै अब तपाईंलाई झल्झली धनराज गुरुङको अनुहार याद आउँछ । हो, त्यही सहकारीकी व्यवस्थापक हुँदै कोषाध्यक्ष बनेकी ज्योति गुरुङ, जोसँग धनराज गुरुङको कागजी डिभोर्स भएको छ । त्यही सहकारीको पैसा अपचलन भएर नेपालमा अवैध मानिएको क्रिप्टो करेन्सी अर्थात् भर्चुअल मुद्रामा लगानी भएको पाइएको छ । जनताको पैसा लिएर नेपालमै अवैध मानिएको धन्दामा कसरी नेताका परिवारहरु लाजै नमानी लगानी गर्दारहेछन् ?
संसदीय छानबिन समितिले नै सहकारीको रकम अपचलनमा प्रत्यक्ष नजोडिएको, गोर्खा मिडियामा आएपछिको रकम कारोबारमा मात्रै जिम्मेवार देखिएको भनेर ठहर गरेका रास्वपा सभापति लामिछानेलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा समेत मुद्दा चलाएको छ । तर,सहकारी छानबिन समितिले धनराज गुरुङको समेत संलग्नता ठहर गरे पनि उनलाई कतिन्जेल जोगाउला सरकारले ?
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेकै कतिपय नेताहरू २० अर्ब रुपैयाँ भन्दा बढीको सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि थुनामा छन् । एमालेबाट सांसद भइसकेका इच्छाराज तामाङ सिभिल सहकारी ठगी प्रकरणमा डिल्लीबजार कारागारमा छन्। एमालेकै सहकारी विभाग सचिव भइसकेका केबी उप्रेती पनि हिरासतमा छन् । रवि लामिछानेले मात्रै सहकारीको तनाव भोग्नु परेको छैन । तर सत्तामा भएकाले एमाले र कांग्रेसका नेतालाई जोगाउने काम हुन्छ कि भनेर खबरदारी गरिरहौँ ।
थुप्रै नेताहरु यो देशमा सहकारीले अर्थतन्त्र बदलिन्छ भन्थे । कतिसम्म भने पार्टीको कार्यक्रममा पनि सहकारी पढाउँथे । दुःखमा काम आउँछ, बचत गर्न हाम्रो सहकारी छ भन्थे । तर उनीहरुले गाउँ होइन, प्रदेश होइन, देश होइन, आफ्नै हैसियत मात्रै बदले । जनताको बचतमा मस्ती गरे । देशविदेश घुमे । छोराछोरी विदेशमा पठाए, पढाए । १६–१७ वटा सम्म घर बनाए । चुनाव खर्च सहकारीबाटै लगे । सहकारीकै नाममा स्कुल खोले । तर नाफा चाहिँ सधैँ सहकारी चलाउनेहरुलाई मात्रै भयो । सहकारीमा बचत गर्नेहरुलाई कहिल्यै भएन ।
सहकारीमै टन्न पैसा देखेपछि जिबी राईले पनि सहकारी खोले । सहकारीको रकम हिनामिनाको समाचार नआओस् भनेर रवि लामिछानेलाई लिएर टिभी खोले । अहिले रवि हिरासतमा छन् । जिबी राई फरार छन् । नानीदेखि लागेको बानी, कसले छाड्ने ? नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरु पनि धमाधम हिरासतमा जाँदैछन् । केही भागेका छन् । केहीविरुद्ध उजुरी नपरेर जोगिएको हो । नत्र सबैको पालो आउँछ, बदमासी गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउ भनेर हाम्रो खबरदारी जारी छ । तपाईं पनि खबरदारी गरिरहनु होस् ।