काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ ।
सोमबार ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो। “नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।
यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवङ्गत पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। त्यस क्रममा सभापति देउवाले ‘संसद् प्रतिपक्षको हो’ भन्ने भाष्य स्थापित गर्न ढुङ्गानाले भूमिका खेल्नुभएको स्मरण गर्नुहुँदै उहाँको त्यो कदमको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भएको बताउनुभयो । “उहाँको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ”, सभापति देउवाले भन्नुभयो ।
दिवङ्गत ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानो गौचरनमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू डा.बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी तथा पूर्वसांसद, पूर्वप्रशासक, वरिष्ठ कानुन व्यवसायी, मानवअधिकारकर्मी र नागरिकको उल्लेख्य उपस्थिति छ ।
यसैगरी, गृहमन्त्री रमेश लेखक, उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु सानोगौचरन पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
त्यस्तै, आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उहाँप्रति श्रद्धाञ्जली व्यक्ति गर्न उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य पनि गौचरन पुग्नुभएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । सानोगौचरनमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।