काठमाडाै । नेकपा एमाले, यो मुलुकको दोस्रो ठूलो दल । जनताको बहुदलीय जनवादको अभ्यासमा अभ्यस्त रहेको पार्टी । त्यही पार्टीका नेताहरुको पछिल्लो कथन छः यो मुलुकमा दुई पार्टी भए पुग्छ, धेरै चाहिँदैन । यद्यपि ससाना पार्टीहरुको एमाले कांग्रेस गठबन्धनको सरकारलाई समर्थन छ । यति मात्र होइन, एउटा सानो पार्टीलाई देशमै धेरै जनसंख्या भएको एउटा प्रदेश सरकार नै सुम्पेर सत्ताको खम्बा नढल्ने बनाइएको छ । अनि मनमा भने केही साना पार्टीहरु फुटाउने हुटुहुटीले अध्यादेश ल्याउन खोज्दा साझेदार नेपाली कांग्रेसले रातो झण्डा देखाइदिएपछि एमाले मौन छ । ढिलोचाँडो अध्यादेश ल्याउने तयारी छ ।
अहिले एमाले पार्टी र प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चर्को आलोचनामा परिरहेको छ । अर्कातिर प्रधानमन्त्रीले भेट्नसमेत समय दिनु भएन भनेर त्यही पार्टी रास्वपा काठमाडौमा पत्रकार सम्मेलन गर्ने भएको छ । यता प्रधानमन्त्री ओली र उहाँको पार्टीले चैँ मंसिर ७ गते काठमाडौमा शक्ति प्रदर्शन गर्ने भएको छ । आफै सत्तामा हुँदा देशमा अराजकताविरुद्ध प्रदर्शन गर्ने प्रधानमन्त्रीको यो पहिलो अभ्यास होइन । विगतमा नेकपा संकटमा पर्दा र पुष्पकमल दाहाल अनि माधवकुमार नेपालले पेलानमा पार्दा पनि प्रधानमन्त्री भएकै बेला ओलीले शक्ति देखाउनु भएकै हो । ओलीको यसपटको शक्ति के का लागि ? उहाँ पार्टीभित्रै पनि कसैको आलोचनामा हुनुहुन्न, एउटा सानो पार्टीले विरोध गर्दैमा शक्ति देखाउन पर्छ र कि सत्ता कमजोर छैन भन्ने प्रमाण पत्र जारी गर्न हो ?
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको तयारीमा हुनुहुन्छ । बलियो गठबन्धन छ । तर उहाँलाई केही न केही छटपटि छ । सायद यही कारणले होला प्रधानमन्त्रीको पार्टीले मंसिर ७ गते काठमाडौमा शक्ति प्रदर्शन गर्दैछ । यो देश यस्तै छ, पहिलो र दोस्रो पार्टी मिलेर सत्ताको रस चुस्छन् । साना पार्टीहरुले विरोध गरे भनेर शक्ति देखाउँछन् । जे होस्, राजनीति रमाइलो छ, रमाइलोभित्र सरकार छ । जनतालाई रमिते बनाइएको छ । एउटा बोल्दै नबोल्ने र एउटा बोलिरहने मुखियाको सरकार हेरिरहँ जस्तो छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई हजुरबा भन्ने झापातिरकै दुर्गा प्रसाईंले अर्को फर्मान जारी गर्नु भएछ । मंसिर ७ गते काठमाडौ आउने, एमालेको गाडी चढ्ने, झण्डा ओढ्ने, मासुभधात दन्काउने, दुर्गा प्रसाईको भेला ठूलो देखाउने । रास्वपाको आन्दोलन तर्साउन जुटाउन खोजिएको भिडलाई दुर्गा प्रसाईंको भाइरस लाग्ने डर छ प्रधानमन्त्रीलाई ।
प्रधानमन्त्रीको पार्टी नेकपा एमालेभित्र कुनै गुट छैन । विद्रोह, फरक मत निषेध छ । तर गाईंगुई सुनिन्छ, प्रधानमन्त्रीलाई यो हैसियतमा पु¥याउन निकै मेहनत गर्नु भएकी पूर्वराष्ट्रपति विद्या भण्डारीसँग पनि प्रधानमन्त्री दूरी बनाइरहनु भएको छ । यो पनि सुनिन थालियो कि, एमालेमा ओली समूहलाई चुनौती दिन अब माधव नेपाल समूह, प्रचण्ड समूह त त्यहाँ छैन । भीम रावल पाखै पारिनु भयो, घनश्याम भूसाल लघारिनु भयो । हुँदाहुँदा अध्यक्ष ओली अब विद्या भण्डारी समूहसँग पनि पौठेँजोरी खेल्ने अवस्थामा पुग्नु भयो ।
प्रतिपक्षरहित शासन हुँदैन, सत्ता हुँदैन । प्रतिपक्षी नभए सरकार र सत्ता निरंकुश हुन्छ । एकांकी हुन्छ । यसैले बलियो प्रतिपक्षी नै लोकतन्त्रको गहना हो । यसो भनेर नै सत्तामा पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रतिपक्षीको नामै सुन्न चाहनुहुन्न, उहाँसँग फरक मत राख्नेबित्तिकै दूरी बढाइहाल्नु हुन्छ । सधैँ उहाँकै गोरुको १२ टक्का पनि त नचल्ला नेपाली राजनीतिमा । उहाँ नै हो माओवादीलाई प्रधानमन्त्री दिने । उहाँ नै कांग्रेससँग प्रधानमन्त्री माग्ने । उहाँले सोचेअनुसार सबै चलिरहँदा नेता कार्यकर्ता पनि रोबोट होइनन्, दिमाग भएकै समूह हुन् ।
त्यसैले लोकतन्त्रमा बोल्न पनि दिन्नँ, फरक बोले हिसाब गर्दिन्छु भनेर मात्र पनि हुँदैन होला । जे होस्, नेपाली राजनीतिमा यतिखेर नेकपा एमाले फेरि समाचारको गरम मसला भएको छ । प्रधानमन्त्री भएपछि भारत जान छाडेर चीन जाने एउटा मसला । चीन जानेबेला सत्तामा भएकै पार्टीले काठमाडौमा शक्ति देखाउने अर्को मसला । अनि पार्टीभित्रै विस्तारै प्रधानमन्त्रीको एकलौटी भत्काउन उहाँलाई काँध थाप्नेहरुको फरक समूह निर्माण, अर्को मसला । जे होस्, केपी ओली र गरम मसलाको यो पोलिटिकल कम्बिनेसनले जनता अरु नभए पनि हाँस्न पाइरहेका छन् ।