काठमाडाै । दुर्गा प्रसाईं । यो देशमा अनेक अनुहारहरु छन्, वर्षौँ काम गर्दा पनि नाम बनाउन नसकेर गुमनाम भएकाहरु लाखौँ छन्, हजारौँ होइन । तर फुत्त फुत्त एकाध नामहरु तपाईं हाम्रो दिमाग यस्तरी कैद भएर बसिदिन्छ कि, नाम चाहेर पनि हटाउन सकिन्न । दिमाग मोबाइल, कम्प्युटरजस्तो फर्म्याट गर्न पनि मिल्दैन । मेडिकल व्यवसाय गर्ने दुर्गा प्रसाईं झापाका हुन् । उनलाई व्यवसाय गरिखाऊ भनेर सरकारले अनुमति पनि दियो । तर मेडिकल कलेज चलाउने भन्दा पनि प्रसाईंको धन्दा चाहिँ राज्य व्यवस्थामा भाँडभैलो गर्नेमा केन्द्रित हुन थाल्यो ।
तपाईंलाई थाहै छ, २०६२–६३ मा जनआन्दोलनमा आउनुहोस्, घरभाडा, सटरभाडा तिर्न पर्दैन भनेर जनता उचालियो । तर पछि आन्दोलन गर्नेहरु नै सरकारमा पुगे, भाडा छुट भएन । तपाईं धितो राखेर ऋण लिने, परिवारको गुजारा चलाउने तिर्न सकिएन, २० लाख रुपैयाँसम्म ऋण मिनाह हुन्छ भनेर दुर्गा प्रसाईंको आन्दोलनमा फेरि ऋण गरेर हिँड्ने ? यो मिल्ने कुरा थिएन । पछि त दुर्गा प्रसाईं व्यवस्था नै बदल्छु भन्न थाले । अहिले त राष्ट्रिय अनुसन्धान, अख्तियार दुरुपयोग अनुसन्धान, राष्ट्रिय सतर्कता केन्द्रजसरीको राज्यका कार्यकारी व्यक्तिको सम्पत्ति छानबिनमा पनि प्रसाईले हात हाले । प्रश्न उठाउन पाइन्छ, तर निजी मामलामा फेक डकुमेन्ट बनाएर बदनाम गर्न पाइँदैन ।
कम्बोडियाको स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले २१ करोड अमेरिकी डलर लगानी गर्नु भएको छ। भन्ने दुर्गा प्रसाईं, पत्याउने नेपाली मिडियाका अपडेटेड भर्सन भनिनेहरु । अरुले बोलिदिएपछि जाँच परीक्षण नै गर्न नपर्ने मिडियाका नाममा भ्रम बेच्ने काममा पनि नियन्त्रण जरुरी छ । प्रसाईंले भनेपछि सबै समाचार हुँदैन, समाचार त भयो, सत्य हुँदैन । सिआइबीले भन्यो, प्रधानमन्त्रीविरुद्धका सूचना झुटो हो, दुर्गा प्रसाईं समातिएको साँचो हो ।
जनता पढेका छन्, बुझ्दछन् । दुर्गा प्रसाईंले प्रमाण भन्दै सार्वजनिक गरेको तस्बिरमा भएको प्रधानमन्त्री ओलीको हस्ताक्षर समेत फर्जी देखियो । दुर्गा प्रसाईंको कैयौँ कुरामा नेपाली जनताले हो कि भनेर पत्याएका थिए । दुर्गाले साँच्चै गरिब जनताको दुःखमा विकल्प दिन्छ कि भनेर पछि लागेका थिए । अब लाग्ने कि नलाग्ने ? प्रश्न उब्जिएको छ ।
सिआइबी त यतिसम्म काममा लागेको छ कि, प्रधानमन्त्रीको नागरिकता र फर्जी हस्तारको कागजात बनाउने काम दुर्गा प्रसाईंबाटै मात्रै भइरहेको छ कि, अरु पनि यसमा संलग्न छन् ? जबकि प्रधानमन्त्री ओलीले भनेका थिए, ‘मेरो लगानी भएको प्रमाण ल्याउनुहोस्। एक हजार रुपैयाँ थपेर भएको सबै सम्पत्ति तपाईंको । तर दुर्गा प्रसाईंलाई जुन भूत सवार भएको थियो । त्यो भूत अहिले उनैलाई लागेको छ ।
अत्याधुनिक हतियार र एक सय राउण्ड गोलीसहित समातिएका थिए कुनै बेला दुर्गा प्रसाईं । सुरक्षागार्ड लाइसेन्स प्राप्त हतियार लिएर अदालत पुगेका थिए । तर, जाँचमा एउटा हतियारको लाइसेन्स लिएर अर्कै बोकेको भेटियो । अर्थात् दुर्गा प्रसाईं फेक कारोबारका मुखिया हुन् । उनले कताबाट राजकुमारले पठाएको सुनको लौरो पनि फेक नै थियो । नेपालमा दुर्गा प्रसाईं मात्रै गाईको दूधले नुहाएको, बाँकी दलका नेताहरु, मारवाडीहरु, बैंकका म्यानेजरहरु दलाल भनेर जुन भाष्य बनाउन प्रसाईंले मेहनत गरे, यतिकै मेहनत मेडिकल कलेज चलाउन गरेका भए आज उनको कलेज नेपालमै टप हुन्थ्यो होला । तर थुतुनो उद्योग मात्रै चलाउन माहिर दुर्गा प्रसाईंका हरेक क्रियाकालप अब छानबिनको दायरामा आएको छ ।
साम्प्रदायिक भड्काउ र हुलहुज्जतको शैलीमा व्यवस्थालाई चुनौती दिने र हरेक व्यक्तिको चरित्र उधार्ने दुर्गा प्रसाईंजस्ता केही यो मुलुकका तथाकथित जान्नेसुन्नेहरुलाई यसरी नै विद्युतीय कारोबारको हावा चखाउन ढिला भएको छ । यसको मतलब यो होइन, व्यवस्थामा देखिएका व्यवस्थापकहरु अर्थात् दलका नेताहरु सबै इमानदार छन्, अशल छन् । बदमास व्यवस्थापकहरु त महिनैपिच्छे हत्कडीमा बाँधिएकै छन् त !