काठमाडाै । एसोसिएट क्रिकेटको पावर हाउस नेपाल । विश्वभरका क्रिकेट हस्तीहरुले प्रशंशा गरेको नेपाली क्रिकेट । नेपालमा लोकप्रियताको शीर्ष स्थानमा रहेको खेल । यसै वर्ष अमेरिका र वेष्ट इन्डीजमा भएको टि–२० विश्वकपमा नेपाली टोलीको प्रर्दशनले विश्वका खेलप्रेमीको ध्यान तान्यो । सगरमाथा र गौतम वुद्धको देशका गोर्खाली क्रिकेटरले देखाएको खेल कौशलको चर्चा एकाएक चुलियो । टेष्ट मान्यताप्राप्त अफगानिस्ताले त सिरिज खेल्न नेपाललाई प्रस्ताव नै गर्याे । तर अफगानिस्तानको सुरक्षा स्थितिका कारण नेपालले प्रस्ताव स्वीकार गरेन ।
क्रिकेटको बढ्दो लोकप्रियतालाई अझ नयाँ उचाइमा पुर्याउन नेपाल क्रिकेट संघ क्यानले पहिलोपटक फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गरेको छ । एनपीएलको चर्चा विश्वभर शुरु भएको छ । किर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंसिर १५ गतेदेखि आठ टोलीको महाभिडन्त हुँदैछ ।
नेपाली खेलकुदमा नेपाल प्रिमियर लिग (एनपीएल)को चर्चा चुलिरहेको छ । नेपालमा सायदै यस्ता कोही क्रिकेट समर्थक छन्, जसलाई एनपीएलबारे थाहा नहोस् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको यो फ्रेन्चाइज क्रिकेट नेपालमा मात्र नभइ विश्वभर नै चर्चाको विषय बनिरहेको छ । चर्चित भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका निम्ति सम्झौता भएको छ । नेपालमा यसको विरोध भएपनि विश्वभर चर्चा चलिरहेकाे छ । प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, काठमाडौ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका आठवटै टिमले आफ्नो मार्की खेलाडी घोषणा गरिसकेका छन् । सबै टोलीले विदेशी खेलाडी समेत सार्वजनिक गरिरहेका छन् । प्रतियोगिताका लागि टियु मैदानमा सजाइदैछ ।
नेपालका सुपरस्टार क्रिकेट खेलाडीसँगै विदेशी खेलाडीको जमघट हुँदैछ किर्तीपुरमा । पूर्वदेखि पश्चिमसम्मका टोली मैदानमा भिड्नेछन् । एसोसिएट क्षेत्रको यो सबैभन्दा ठुलो लिग हो । प्रतियोगितामा खेल्न आउँदैछन्,भारतीय क्रिकेटका सुपरस्टार शिखर धवन, न्युजिल्याण्ड्सका मार्टिन गुप्टिल, जिमि निशम । नेपालका सुपरस्टार सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी,रोहित पौडेल, कुशल भुर्तेत, सोमपाल कामी, करण केसी, कुशल मल्ल, आसिफ शेखसहितका खेलाडी पनि टियु मैदानमा उर्तिनेछन् । जसले सुनमा सुगन्ध थप्नेछ ।
एनपीएलमा आठवटै टोलीका एकसे एक खेलाडी छन । स्वदेशीदेखि विदेशीसम्मका खेलाडी मैदान उत्रिन तयार छन् । सबै टोली विपक्षीका लागि रणनीति बनाइरहेका छन् । विदेशी खेलाडी नेपाल आउने क्रम शुरु हुँदैछ । एनपीएल खेलप्रेमीका लागि नयाँ उत्सव हुने अपेक्षा छ । टियु मैदान दर्शकको हुटिङले गुञ्जायमान हुने दिन नजिकिदैछ ।
नेपालले सन् २०१४ र सन् २०२४ मा टि–२० विश्वकप खेलीसकेको छ । सिमित स्रोत–साधनका बीच खेलाडीको निरन्तर मेहनतले क्रिकेटको उचाइ बढ्दो छ । तर भौतिक पूर्वाधारको अवस्था निकै कमजोर छ । टियु मैदानबाहेक अरु मैदान बनेका छैनन् । खेलेर बाच्न सकिन्छ भन्ने धारणा विकास गर्न राज्यले लगानी गर्न जरुरी छ । ग्रासरुट क्रिकेटमा लगानी हुन सकेको छैन् । क्रिकेट मात्रै होइन, सबै खेलमा राज्यले लगानी गर्न जरुरी छ। मेडलको अपेक्षा गर्ने तर लगानी नगर्ने परिपाटीले खेल क्षेत्रमा समस्या निम्तिदै छ। जेहोस्,क्यानले आयोजना गर्न लागेको एनपीएल विवादरित बन्न सकोस् । नेपाली खेलकुदमा यसले नयाँ उचाई कायम गर्न सकोस्। नेपाली क्रिकेटमा विश्वमञ्चमा शानदार भएर उभिन सकोस्।
अन्त्यमा, अल्बर्ट आइस्टाइनले भनेका छन्, जिन्दगी एक साइकल जस्तै हो । यदि त्यसलाई सन्तुलित बनाएर अगाडि बढाउने हो भने पाइडल मारिरहनुपर्नेछ।