काठमाडौ । निर्विरोध निर्वाचितबाहेक अन्य तीनसय ७६ उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।
जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट दुई सय ८९ र एक सय २१ स्वतन्त्र उम्मेदवारसहित चार सय १० जनाको मनोनयनपत्र दर्ता भएको थियो । तीन पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै, रुकुम पूर्वी जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।
उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाली कांग्रेस, नेपाली जनता दल र आमजनता पार्टीले कुनै पनि रिक्त पदमा उम्मेदवारी नै दर्ता गराएनन् । निर्वाचन आयेगका अनुसार मङ्सिर ६ देखि १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न सक्नेछन् ।
मङ्सिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ । मङ्सिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।