काठमाडाै । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा शुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो ।
कूल १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रुपमा विद्युत् उत्पादन गरी हालसम्म करिब रु ३० करोडको विद्युत् बिक्री गरिसकेको छ ।
यस्तै, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरिएको छ । त्यस्तै, एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रुपमा विद्युत् उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएपछि एवं तोकिएको मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ ।
दुवै आयोजनाबाट यही महिनाभित्रमा व्यावसायिक रुपमा विद्युत् उत्पादन हुनेछ । नदी प्रवाहमा आधारित ती आयोजनाबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ । चिलिमे जलविद्युत् कम्पनीको अनुवाइमा दुई सय ७० मेगावाटका चार वटा आयोजना शुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेकोसीबाहेक तीन वटा आयोजना सम्पन्न भएका हुन् ।
सबै आयोजना २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, विभिन्न आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहे ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोभिड–१९ को महामारी, सामान आयातमा सिर्जित समस्यालगायतको चपेटामा परेका थिए । यसले गर्दा आयोजनाको निर्माण प्रभावित भएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको जानकारी दिनुभयो ।