काठमाडौ । दोहाबाट कतार एयरवेज, बैंककबाट एयर एसिया, दुबईबाट फ्लाई दुबई, कुवेतबाट जजिरा तथा नेपाल एयरलाइन्सले अहिले भैरहवाबाट उडान सुरु गरेका छन् ।
कुनै समय असान्दर्भिक हुन लागेको भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गुल्जार बनेको छ, स्थानीय व्यवसायी पनि उत्साहित छन् । काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल विस्तार हुन लागेकाले उडान कटौती भएको अवस्थामा भैरहवा सरेका एयरलाइन्सको सेवा दीर्घकालीन हुन्छ÷हुन्न भन्नेमा भैरहवाका व्यवसायीको चासो छ ।
त्यस्तै, श्रम स्वीकृति, मेडिकल जाँच, भिसा, कार्गो, क्वारेन्टाइन जस्ता सेवा भैरहवामा नहुँदा श्रमिक तथा व्यवसायीलाई काठमाडौं नै धाउनुपर्ने बाध्यता पनि छँदै छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा साना–ठूला सवारी साधनको घुइँचो छ ।
यात्रुको स्वागत तथा बिदाइका लागि आएका आफन्त र सुरक्षाकर्मीको ओहोरदोहोरले विमानस्थल व्यस्त बनेको छ । फ्लाई दुबई र कतार एयरवेजका जहाज प्रत्येक दिन दिउँसो अवतरण गर्छन् ।
एयर एसिया, जजिरा र नेपाल एयरलाइन्सले पनि उडान गरेका छन् । ठूला जहाज अवतरण÷उडान गरेको अवलोकन गर्न भैरहवा–लुम्बिनी सडक किनारमा सर्वसाधारणको पनि भीड लाग्छ ।