काठमाडाै । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्क राष्ट्रको सम्बन्ध बलियो बनाउन पत्रकारिताजगत्को भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा आज सार्क जोर्नालिस्ट एसोसिएसनले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले पत्रकारिताले वाक स्वतन्त्रता, मानव अधिकारको रक्षा र भिन्न मुलुकबीचको सम्बन्ध स्वच्छ तथा प्रगाढ बनाउन सघाउने बताउनुभयो। उहाँले एसोसिएसनले पत्रकार र पत्रिकारिताको उन्नतिका लागि गर्दैआएको कार्यको प्रशंसा गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय दक्षिण एसियाभरिको पत्रकारितासम्बन्धी साझा मुद्दा सामाजिक सञ्जाललाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषय रहेको बताउनुभयो । “यस विषयमा सार्क राष्ट्रका पत्रकारले छलफल गरेर समाधानसहितको सामूहिक निष्कर्ष निकाल्न जरुरी छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा सार्क जोर्नालिस्ट एसोसिएसनका अध्यक्ष डा नटराज रेले दक्षिण एसियाका पत्रकारको विचार–विर्मश गर्ने साझा थलोका रूपमा सङ्गठित हुने अभियानमा रहेको बताउनुभयो । भारत, नेपाल र बङ्गलादेशका केही सञ्चार संस्था मिलेर गठन गरिएको उक्त सङ्गठनमा अन्य सार्क राष्ट्रलाई आबद्ध गराउने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले एसोसिएसनले सार्क मुलुकका पत्रकार र पत्रिकारिताको साझा चौतारीका रूपमा विकास गर्ने उद्देश्य रहेको बताउनुभयो ।
त्यसअवसरमा साउथ एसियाका विभिन्न पत्रकारलाई पुरस्कार तथा सम्मानसमेत गरिएको थियो । बङ्गलादेशका प्रतिष्ठित पत्रकार नाहिद होसैनलाई २०२४ को ‘सार्क ग्लोबल एक्सीलेंस अवार्ड’ प्रदान गरिएको छ । कूटनीतिक पत्रकारितामा उत्कृष्ट योगदान गरेको भन्दै उहाँलाई ‘उत्कृष्ट रिपोर्टर (कूटनीतिक मामिला)’ को रूपमा सम्मानित गरिएको हो ।
अवार्डका लागि भारत, बङ्गलादेश र नेपालका पत्रकारलाई आह्वान गरिएको थियो । तीन देशका विशेषज्ञहरू सम्मिलित निर्णायक मण्डलले सबै आवेदकहरूको मूल्याङ्ककन गरेकामा होसैनलाई पुरस्कारका लागि चयन गरेको जनाइएको छ ।