काठमाडाै । आज रवि लामिछानेकै कुरा गरौँ । रवि लामिछाने अहिले सबैको पैसा कमाउने गरम र मालदार मसला भएका छन् । टिकटक हेर्नुहोस्, अनेकानेक ज्योतिषीहरु रवि छुट्छन् र जेल जान्छन् भन्ने अनुमानकारिताका हनुमान रुपहरु देख्नु हुन्छ । युट्युबमा पनि त्यस्तै देखिन्छ । रवि ठीक र रवि बेठिक भनेर तपाईंको दिमाग नै खल्बल्याउने काम हुन्छ । राजनीतिमा पनि रविलाई ठेगान लगाउने र रविले ठेगान लगाउने कुरा नै केन्द्रित छ ।
पछिल्लो समय गगन थापा मौन छन्, केपी ओली आफै रवि लामिछानेबारे बोल्न थालेका छन् । थाहा छैन, नेताहरुलाई एउटै मान्छे एउटा ऋतुमा प्रेमिका किन लाग्छ, अर्को ऋतुमा दुश्मन किन लाग्छ ? त्यही रवि देखाएर बहुमतको सरकार भत्काउन हिम्मत गर्ने एमाले अध्यक्ष ओली अहिले रविलाई ठेगान लगाउने नाममा जिबी राईको नामै लिँदैनन् । यो मुलुकमा ढुंगा, गिटी बालुवा खानेलाई केही हुन्न, गुण्डागर्दी गरेर पैसा उठाउनेलाई केही हुन्न । जो अशली फ्रड, ठग, भ्रष्ट हो, तिनलाई केही हुन्न । अनि युट्युबमा बोल्नेलाई, फेसबुकमा लेख्नेलाई समातेर साइबर मुद्दा लगाउने भन्दै अनेक दुःख दिइरहेको छ ।
फेसबुक बन्द गर्दा केही हुन्न, नेपाली मर्दैनन् । टिकटक बन्द हुँदा देशलाई घाटा भएको थिएन । सामाजिक सञ्जालहरु बन्द गरे हुन्छ, तर अनियमिता, बदमासी, भ्रष्टाचार बन्द गरेनौ भने सबैको हालत बालकृष्ण खाणकै हुनेछ, टोपबहादुर रायमाझीकै हुनेछ । अझ यसरी नै रवि लामिछानेलाई पेलेर अनि अरु केही दिन जिबी राई लुकाएर हेर, त्यसपछि देशमा अब के के हुन्छ ?
रवि लामिछाने, छोटो समयमै अत्यन्त महत्वाकांक्षी र महत्वाकांक्षाका लागि जनमत र लगानीकर्ता मात्रै होइन नेता कार्यकर्ता पनि उत्पादन गर्न सक्ने गजबको राजनीतिक चेतना भएको जादूमयी राजनीतिक भट्टी सावित भए । त्यही भट्टी अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी, बहुमतको सरकार बनाउन नसकेका दलहरुलाई खाँचो परेको बहुमतको जोकर र सिक्वेन्स पुगेपछि पाक्ने माल सावित भयो । सत्तामा पुगेपछि केही एक्सन लिन खोज्दा रविका व्यक्तिगत कमजोरी खोजियो । त्यतिखेर किस्तीमा प्रधानमन्त्री दिँदा लिएनन् अहिले म्याद थप्दै हिरासतमा राख्दै दलहरु निदाउन खोजिरहेका छन्, निद्रा परेको होला त प्रधानमन्त्री र गगन थापालाई ?
आइतबार रवि लामिछानेलाई थप १५ दिनको म्याद थप भएको छ । उनी कास्की प्रहरीको हिरासतमा छन् । रुपन्देही र चितवन अदालतले पक्राउ पुर्जी जारी गरेको छ । रुपन्देहीमा बयान भएको छ । काठमाडौमा पनि बयान दिनु पर्नेछ । पहिला यिनै भन्थे, एउटा घटनामा दुईवटा मुद्दा लाग्दैन । रवि त्यस्ता मान्छे देखिए, सिंगो बहुमतको सत्ता लाग्दा पनि बयान दिइरहन्छन्, नाइ मलाइ थाहा छैन भनिरहन्छन्, मरिगए थाक्दैनन् । बयान लिने थाक्ने बेला भइसक्यो ।
रवि लामिछानेले जिबी राईलाई पक्रन मानेनन्, तयार भएनन् । पत्याइदिउँ । नारायणकाजी श्रेष्ठले जिबी राई पक्राउ गर्न रुचि गरेनन् । यो पनि पत्याउँला । तर रमेश लेखकलाई जिबी राई नसमात्ने शर्तमै गृहमन्त्री बनाइएको हो र ? जिबी राई समात्ने कुरा कतै सुन्न भएको छ गृहमन्त्रीको जिभ्रोबाट ? किन जिबी राईको नामै नलिई सरकार रवि लामिछानेको तेजोबधमा आयु खपत गरिरहेको छ ? के जिबी राईलाई यसरी नै पूजा गरेर राखिरहने हो ठूलो पार्टीका परिपक्क नेताहरुको सरकारले ?
जिबी राई तत्काल समात । किनभने जिबी राई समातिएन भने देशमा अरु अराजकता बढ्ने देखिन्छ । दुर्गा प्रसाईंको घरमा भरेङ हालेर उक्लन सक्ने सरकार जिबी राई पानीमुनि भए पनि खोज्न किन चासो देखाउँदैन ? किन जिबी राईलाई संरक्षण भइरहेको छ ? उनी नेपाल आउजाउ गरिरहेका छन् । उनका सम्पत्ति र कम्पनीहरुको खोजबिन गर्दा जिबी राई नभेटिने कुरा थिएन ।
यति मात्र होइन, जिबी राईका साझेदार, नातेदार, पत्नीसमेत प्रहरीको निगरानीमा परिरहँदा के जिबी राई रुप बदलेर क्षणभरमै जालन्धर बन्न सक्ने विष्णु भगवान हुन् र ? विष्णु भगवानले रुप बदलेर आफूसँग आएको थाहा पाउने शक्ति जालन्धर पत्नीसँग थियो भने नेपाल सरकार, अझ रमेश लेखकजस्तो गृहमन्त्रीसँग किन जिबी राई समात्ने तागन देखिएन ? के नाता छ पूर्वका राईसँग सुदूरपश्चिमका गृहमन्त्री लेखकको र जिबी राईलाई विदेश घुमघाममा छुट अनि रवि लामिछानेलाई हिरासतको हावा ? भोलि राजनीति संग्लिएर फेरि रवि लामिछाने उपप्रधानमन्त्री भएर वरियतामा आउँदा बस्न लाज नहुने गरी अहिले रमेश लेखकलाई जिबी राई पक्राउ गर्न तपाईं हामी सबैले दबाब दिउँ । दुर्गा प्रसाईं र रवि लामिछानेका पक्षमा होइन, एउटा जिबी राई पनि समात्न नसक्ने सरकारका विपक्षमा आजको सामग्री तपाईंलाई कस्तो लाग्यो ?