काठमाडौ । मकवानपुरको हेटौँडाबाट स्रोत नखुलेको विदेशी मुद्रा सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति ८ः४५ बजेको समयमा हेटौँडा–१ चौकीटोलबाट आरोपीहरूले अन्डरवेयर र झोलामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले विदेशी मुद्रा बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विशेष सूचनाको आधारमा काठमाडौँबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ०७६५ नम्बरको यात्रुवाहक इभी माइक्रोमा सवार ३ जनाले लुकाई ल्याएको अवस्थामा विदेशी मुद्रा बरामद भएको थियो ।
हेटौडा–१ प्रहरी चौकीचौकीटोल स्थित चेकपोइन्टमा उक्त इभी गाडीलाई रोकी चेक जाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको विदेशी मुद्रा बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । इभी गाडीमा सवार उनीहरूलाई शरीर तथा झोला खानतलासी गर्ने क्रममा विदेशी मुद्रा बरामद भएको प्रहरी उपरीक्षक खड्काले बताए ।
‘उनीहरूलाई चेकपोइन्टमा रोकी झोला खानतलासी गर्दा अमेरिकी डलर केही थान फेला परेको थियो । सडकमा खनातलासी गर्न उचित नलागरे कार्यालयमा ल्याएर शरीर खानतलासी गर्दा लगाइरहेको अन्डरवेयर भित्र अमेरिकी डलर र युरो बरामद भएको थियो ,’ उनले भने ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जालौन बस्ने वर्ष ४० को विजय सिंह कुशवाह, उत्तर प्रदेश गोरखपुर बस्ने वर्ष २६ को प्रशान्त पाठक र भारत राजस्थान चितोरगढ बस्ने वर्ष ३२ को राहुल कुमार माण्डावत रहेका छन् । प्रहरी उपरीक्षक खड्काका अनुसार कुशवाहाको साथबाट १२ हजार अमेरिकी डलर, पाठकको साथबाट १४ हजार युरो र माण्डावतको साथबाट २० हजार अमेरिकी डलरसहितका विदेशी मुद्रा बरामद भएको थियो ।
बरामद भएको अमेरिकी डलरको नेपाली बजार मूल्य ४३ लाख २० हजार ५१५ रुपैयाँ र युरोको १९ लाख ६९ हजार ५१५ रुपैयाँ गरी जम्मा कुल ६२ लाख ९० हजार ३५ रुपैयाँ रहेको छ ।
प्रहरी उपरीक्षक खड्काका अनुसार पक्राउ परेकाहरूले काठमाडौँमा क्यसिनोमा खेलेर फर्किएको प्रारम्भिक बयान दिएका छन् । पक्राउ गरिएकाहरूलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय मिनभवन ललितपुर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।