काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी लगायत अन्य व्यवसायीहरु मारमा परेको बताउनुभएको छ । सोमवार काठमाडौंमा नेपाल निर्माण उद्योग परिषद्को कार्यलय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।
उहाँले राजनीतिक अस्थिरताको कारण स्थायी सरकार बन्न नसक्दा निर्माण उद्योगमा समस्या परेको बताउनुभयो । हरेक तीनदेखि ६ महिनामा सरकार परिवर्तन हुने र बजेटमा निर्माण आयोजनाहरु आफू अनकुुल थप्ने तथा पुराना आयोजनाहरुलाई बजेट नहाल्ने हुँदा निर्माण क्षेत्रले भुक्तानीको समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो ।
उहाँले राजनीतिक स्थिरता हुँदा नीतिगत स्थिरतासँगै उद्योग व्यवसायमा समेत सकारात्मक असर पर्ने बताउनुभयो । नेपालको निर्माण लगायत उद्योग व्यवसाय क्षेत्रमा राजनीतिक अस्थिरताको कारण असर परिरहेको उल्लेख गर्नुभयो । उहाँले देश बनाउनको लागि सबैले नयाँ ढङ्गले सोच्न आवश्यक रहेको पनि बताउनुभयो ।
उहाँले नेपाली युवा बाहिर जाने र नेपालमा विदेशबाट आएर काम गर्ने वातावरण बनेको बताउनुभयो । उहाँले यस्तो हुँदा बाहिर जाने युवाहरुले मुलुकमा रेमिट्यान्स ल्याए जस्तै नेपालको पैसा बाहिर जाने गरेको बताउनुभयो । उहाँले मुलुकभित्र पर्याप्त मात्रामा सामथ्र्य भएपनि मुलुकको सामथ्र्य समान गर्नसक्ने राज्य कमजोर बनाइएको बताउनुभयो।
उहाँले राज्यसँग भिजन भएको नेतृत्व,बलियो राजनीतिक दल र राजनीतिक स्थायीत्व भएमात्रै देश बन्ने बताउनुभयो । नेकपा एमाले र नेपाली काँग्रेसले चाहेको खण्डमा मात्रै राजनीतिक स्थायित्व प्राप्त हुनसक्ने बताउनुभयो । पछिल्लो समय सत्य कुरा बताउँदा शंकर पोखरेलले दुई दलिय प्रणाली ल्याउन खाज्यो भनिएको उहाँले बताउनुभयो।
महासचिव पोखरेलले लोकतन्त्रमा एक वा दुई दलिय नहुने लोकतन्त्रमा जसले पनि विकल्प दिनसक्ने बताउनुभयो । उहाँले देश बनाउन जनता पनि देश बनाउने बाटोमा हिड्न तयार हुनु पर्ने बताउनुभयो । राजनीतिक दल,राजनीतिक नेतृत्वलाई गाली गरेर मात्रै देश नबन्ने उल्लेख गर्नुभयो । उहाँले बदुलिय व्यवस्थापछि मुलुकमा राजनीतिक स्थायित्व अहिलेसम्म आउन नसकेको बताउनुभयो ।