काठमाडौ । अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ, सामाजिक सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री के पी शर्मा ओलीले भन्नुभएको कुरा हो ।
सरकारले सुशासन र विकासको अभियानमा लम्किरहेको दाबी गरिरहेको छ। तर जनताले महसुस गर्न नपाएको गुनासो गर्छन्। जुनसुकै सरकार आएपनि जनताले भने दुःख, पिडा र अभावमै दिन बिताउनु परेको छ।
जनताको पिडा पोख्ने ठाँउ छैन । कुर्सीका लागि मत र मन मिल्ने दलहरु जनताका सरोकारका बिषयमा किन एकमत भएर अगाडि जान सकिरहेका छैनन् ? यो पनि जनताको प्रश्न हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनी वर्तमान सरकारको नियत र निष्ठा राम्रो नरहेको टिप्पणी गर्नुहुन्छ । सरकारले म भ्रष्टाचार गर्दिन काम गर्छु भनेर प्रचार गर्ने तर काम नगरि हल्ला मात्र गर्ने गरेको लोहनीको भनाइ छ।
जनताका सरोकारका बिषयमा गठवन्धन सरकार सचेत रहेको सत्तारुढ कांग्रेस एमालेको दाबी छ । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले सरकारले अव काम गरेर देखाउनुपर्ने बताउनुहुन्छ ।
समृद्धिको आधार स्थायी सरकार नै भएकाले अव जनताकै चाहना अनुसार अगाढि बढ्ने चुनौती रहेको स्वीकार गर्नुहुन्छ ।
नेकपा एमालेका नेता आनन्द पोखरेलले सरकार परिवर्तन भएको चार महिना भएकाले प्रकृयागत रुपमा जाँदा केही काममा ढिलासुस्ति भएपनि आगामी बजेटमा जनताले महसुस गर्ने गरि नयाँ कार्यक्रम आउने बताउनुभयो ।
आर्थिक समृद्धि र सुशासनबारे सरकार चुकेको छ । कुनै पनि क्षेत्रमा नयाँपन देखिएको छैन । सरकारले जनताका बीच आफू छु भनेर महसुस गराउन धेरै काम गर्नुपर्ने देखिन्छ ।
त्यसैले जनताको बढिरहेको आक्रोश, पीडा र असन्तुष्टिका स्वरहरुलाई सम्वोधन गर्दै परिणाम नै देखिनेगरि काम गर्नुपर्ने सरकारलाई चुनौती रहेको छ ।