सुर्खेत । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका नागरिकका लागि दिगो विकास र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्न लागि आफू निरन्तर प्रयासरत रहेको बताउनुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा बोल्नुहुँदै मन्त्री यादवले देशभरका नागरिकका लागि अत्यावश्यक पर्ने दिगो विकास एवं सुरक्षित खानेपानीको पहुँच पु¥याउनका लागि ठोस योजना बनाइने बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशभरका नागरिकका लागि दिगो विकास र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्न निरन्तर म प्रयासरत छु, यस विषयमा सबैको सहयोग र साथ आवश्यक छ ।”
त्यसै अवसरमा मन्त्री यादवले बाढीपहिरोका कारण देशभरमा खानेपानीका आयोजनाको निर्माणमा केही ढिलाइ भइरहेको तथा अधिकांश ठाउँमा बाढीले पानीका मुहान बगाएका कारण खानेपानीको समस्या उत्पन्न भएकाले बाढीले क्षति गरेका ठाउँमा सुरक्षित खानेपानी सञ्चालन गरी नागरिकलाई पानी वितरणका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सङ्घीय सरकारले सञ्चालन गरिरहेका विभिन्न योजनाको समीक्षा गर्दै आयोजनाअन्तर्गत योजनाको वर्तमान अवस्था, प्रगतिका मुख्य चरण तथा कार्यान्वयनका क्रममा देखापरेका चुनौतीको विश्लेषण गर्नुका साथै समस्या समाधान गर्न ठोस योजना बनाउने विषयमा गहन छलफल गरिएको थियो ।
मन्त्री यादवसहित खानेपानी मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठसहितको टोली आजसुर्खेत आइपुग्नुभएको हो ।