काठमाडौं । सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारीले रचना गनुभएको राष्ट्रभावले ओतप्रोेत गीत भिडियोसहित सार्वजनिक भएको छ । वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीले स्वर दिनुभएकाे उक्त गीत कवयित्री अधिकारीको आफ्नै युट्युव च्यानल सिर्जनाको चौतारीमार्फत् सार्वजनिक गर्नुभएकाे हाे ।
गीतकार ढकालले राष्ट्रको सम्मान स्वरूप काेर्नुभएका शब्द र गायक याेगीले स्वर दिनुभएकाे उकत गीत ‘शहीद दिवस’ अर्थात माघ १६ गतेको अवसर पारी भिडियाेसहित सार्वजनिक गरिएकाे हाे ।
देशको वर्तमान अवस्थालाई झल्काउने राष्ट्रभावको जागरण गीत ‘उठ नेपाली , जुट नेपाली’ मा अगाडि भनिएको छ ‘पहाड हाम्रै हो, तराई हाम्रै हो , सबै मिलेमा, देशलाई राम्रै हो । उठ नेपाली, जुट जुट नेपाली –२, सम्बृद्ध नेपाल हेर्नु छ, न फूट नेपाली, उठ नेपाली लौ जुट नेपाली ।'
युट्युब च्यानलमार्फत् सार्वजनिक भएको केही घण्टामै उक्त भिडियो सहितको राष्ट्रिय गीतले धेरैको मन जितिसकेको छ ।
मनोहर सुनामले संगीत संयोजन गरेको उक्त गीत दील समर्पणले रेकर्ड गरेका हुन् । प्रकाश मिश्रको मिक्सिङ रहेको सो गीतको दृष्याङ्कन भने बीरेन्द्र भाट विपिनले गरेका छन् । एकौस्टिक नेपालमा रेकर्डिङ भएको सो गीतको पोस्ट प्रोडक्सन वर्ल्ड कभर मिडिया प्रालिले गरेको हो ।
चर्चित गायक योगीले उक्त शब्दकाे भावले आफ्नो मन छोएकाले सो गीत आफले गाएको प्रतिक्रिया दिनुभयाे । उहाँले यो गीत आजको युगको आवश्यकता भएको र आजको नेपाल र नेपाली जनजनको नारा भएको भन्दै संगीत गर्दा र गाउँदा आफू निक्कै भावुक भएको बताउनुभयो ।
आफूले नेपालीहरुलाई एकताको सन्देशसहित फुटेर होइन जुटेर अघि बढ्न र राष्ट्रियताप्रति गम्भीर बन्न आग्रह गर्ने उदेश्यले उक्त गीत सिर्जना गरेको कवयित्री ढकालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘गीतमा देशको रक्षा गर्न र शान्ति छर्न नेपालीहरु फुट्न हुन्न भन्ने भाव समेटिएको छ । कृपया मेरो गीत रचना तर्फको पहिलो प्रयासलाई अध्याधिक मन पराइदिएर हौसला प्रदान गर्नु हुनेछ भन्ने आशा गरेकी छु।’