काठमाडौ । सामाजिक क्षेत्रमा काम गर्ने संस्थाको रुपमा परिचित रोटरी क्लब अफ काठमाडौ डाउनटाउनले ग्रामीण क्षेत्रका बिद्यालयलाई लक्षित गरी सर्वसुलभ शौचालय निर्माण गरिदिने भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकाको समुन्द्रा माविबाट प्रारम्भ गरिएको शौचालय निर्माण अभियान अन्तर्गत यस बर्ष चन्द्रभूमि आधारभूत बिद्यालयमा शौचालय निर्माणको कार्य प्रक्रिया प्रारंभ गरिएको छ ।
शौचालय निर्माणका लागि शिबपुरी गाउँपालिका अध्यक्ष गोबिन्द थपलियाको बिशेष उपस्थितिमा रोटरी क्लब अफ काठमाडौ डाउनटाउका अध्यक्ष राजकुमार बैदवार र निर्माण गर्ने आरसीसीका राजकुमार लामा एवं सुमन तामाङबीच एक समारोहकाबीच सम्झौता भएको छ ।
चन्द्रभूमि आधारभुत बिद्यालयमा शौचालय नभएकै कारण बिद्यार्थीको संख्या निरन्तर घट्दै गएको जानकारी पाएपछि रोटरी क्लबले शौचालय निर्माण गरिदिने निर्णय गरेको थियो । राजधानीको नजिकै रहेको नुवाकोटको सो बिद्यालयमा शौचालय नभएकै कारण बिद्यार्थीहरु बिद्यालय जान छोडेको घटनाले सो क्षेत्रलाई पीडित बनाएको अबस्थामा रोटरी क्लबले जुन सक्रियता देखाएको छ त्यो उदाहरणीय र अनुकरणीय रहेको गाउँपालिका अध्यक्ष थपलियाले बताउनुभएको छ ।
अध्यक्ष थपलियाले राजधानीबाट एक घण्टा पनि नलाग्ने नुवकोटका कैयौ गाउँहरु निकै पछाडि रहेको उल्लेख गर्देै गाउँपालिकाले आफनो ठाउँबाट बिशेष भूमिका निर्बाह गर्दागर्दै पनि बजेटको अभावका कारण गर्न खोजेका धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुंभएको छ ।
क्लबले गत बर्ष पनि नुवाकोटकै समुन्द्रा माविमा करिब पाँच लाखको लागतमा छात्रामैत्री शौचालय निर्माण गरेको थियो । सो शौचालयको उद्घाटन गर्देै डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वाजुले अत्यन्त आबश्यक स्थानमा क्लबले जुन सहयोगी हात अगाडि बढाएको छ, त्यसलाई डिष्टिकले साथ दिने घोषणा गर्नुभएको थियो । सोही बमोजिम यस पटक पनि डिष्ट्रिक समेतको सहयोग र क्लबका सदस्यहरुको सहयोगमा शौचालय निर्माण प्रक्रिया अगाडि बढाइएको हो । शौचालय निर्माणबाट बिद्यार्थीहरुलाई निकै सहयोग पुग्ने क्लबका सर्भिस चेयर मोहनबहादुर ढकालले जानकारी गराउनुभएको छ ।
क्लबले शिक्षा, स्वास्थ्य, वातावरण, शान्ति, सुशासन, नेतृत्व बिकास लगायतका बिशेष कार्यक्रम गर्देै आएको छ । आर्थिक स्थिति कमजोर भइ स्वास्थ्य लाभ गर्न नपाउनेलाई उपचार सहयोग गर्ने, बाढी प्रकोपमा पर्नेहरुलाई खाद्यान्नदेखि लत्ता कपडा प्रदान गर्ने कार्य पनि गर्देै आएको छ । केही दिन अगाडि मात्रै सुदुरपश्चिमका जिल्लामा जाडोका कारण अफ्ट्यारोमा परेकाहरुलाई क्लबका सदस्यहरुवाट सहयोग रकम संकलन गरी खाद्यान्न र लत्ता कपडा उपलब्ध गराइएको अध्यक्ष राजकुमार वैदवारले जानकारी गराउनुभएको छ ।
त्यसैगरी, कलबले रक्तदान एवं स्वास्थ्य शिविरलाई निरन्तरता दिदै आएको छ । रोटरी क्लब अफ काठमाडौ डाउनटाउन र ग्रिनसिटी अस्पतालले हालै गरेको रक्तदान कार्यक्रममा १ सय ५१ जनाले रक्तदान गरेका थिए । अस्पतालका अध्यक्ष एवं कार्यक्रम संयोजक लोकबहादुर टण्डनले समाजसेवाको कामलाई क्लवले जसरी काम गर्देै आएको छ त्यसमा आफनो अस्पतालले खास गरी स्वास्थ्यको बिषयमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ । रक्तदान कार्यक्रममा समाजसेवाको क्षेत्रमा काम गर्नेहरुलाई सम्मान पनि गरिएको थियो ।
रोटरियन श्यामबहादुर पराजुलीको नेतृत्वमा पाँच बर्ष अगाडि स्थापना भएको रोटरी क्लब अफ काठमाडौ डाउनटाउनलाई समाजसेवाको क्षेत्रमा प्रतिष्ठित क्बलको रुपमा चिनाउन पूर्व अध्यक्षहरु लोकबहादुर टण्डन, स्थानेश्वर रेग्मी र बर्तमान अध्यक्ष राजकुमार वैदवारको नेतृत्व र क्लवका पदाधिकारीहरुको महत्वपूर्ण भूमिका रहेको डिष्ट्रिक गभर्नर राजेन्द्रमान शेरचनले बताउनुभएको छ । क्लबले चक्रपथ सफाई अभियान, बृक्षारोपण कार्यक्रम देखि जलवायु परिवर्तनले पारेको असरलाई न्यून गर्न अन्तरक्रिया, बिभिन्न क्षेत्रका बिज्ञहरुसंग हुने गरेका छलफल र त्यसका निष्कर्षहरुलाई संवन्धित निकायमा पुर्याउने र आफनो तर्फबाट गर्नुपर्ने कार्यलाई पनि अगाडि बढाउदै लगेको बताइएको छ ।