काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेससँगको सत्ता सहकार्यमा असहज महसुस गर्न थालेका छन् । सरकार सञ्चालनको आवरणमा कांग्रेस सभापति शेरबहादुर देउवाबाट सहयोग पाएको जस्तो देखिए पनि प्रधानमन्त्री ओलीले भित्री रूपमा हस्तक्षेप र अवरोध महसुस गरेका छन् ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रतिपक्षी दलभन्दा बढी कांग्रेसबाट असहयोग भइरहेको आफू निकटका नेतासँग बताउन थालेका छन् । सरकारले ल्याएको अध्यादेश कांग्रेस सभापति देउवाकै सहमतिमा आए पनि त्यसलाई संघीय संसद्को दुवै सदनबाट पारितका लागि कांग्रेसले प्रयास नगरेको बुझाइ ओलीको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेशकै पक्षमा मतदान गर्ने विषयमा कांग्रेसले भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको ओलीको निष्कर्ष छ । जसपा नेपाल अध्यादेश पारितका लागि समर्थन नगर्ने निष्कर्षमा पुगेपछि एमालेले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रसँग सहयोगका लागि आग्रहसमेत गरेको थियो ।
अध्यादेश पारितका लागि वाम गठबन्धनको विषयमा समेत छलफल गर्दै माओवादी केन्द्रसँग एमाले नजिकिएपछि कांग्रेस नेताहरूसमेत सशंकित बनेका छन् । माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनसँग एमाले महासचिव शंकर पोखरेलले टेलिफोनमा कुराकानी गरेका थिए । पुनले भनेजस्तै अध्यादेश पारितका लागि कुनै कुरा नभएको पोखरेलले बताउँदै आएका छन् । तर, पोखरेलले बलियो वाम ध्रुवीकरणका लागि पहलकदमी लिन बताएको खुलासा गरेपछि कांग्रेस नेताहरू सशंकित हुन पुगेका हुन् ।
पोखरेलको कम्युनिस्ट पार्टीहरूबीच सहकार्य गर्ने प्रस्तावले सत्ता गठबन्धनमा तरंग उत्पन्न भएको छ । गत आइतबार पुनसँगको टेलिफोन संवाद’ सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले कम्युनिस्ट पार्टीबीचको ध्रुवीकरणका लागि आफूले प्रयास गरे पनि पुनले कुरा नबुझेको दाबी गरेका थिए ।
पोखरेलले सामाजिक सञ्जालमा ‘कार्यकर्ताको मन जोडेर बलियो कम्युनिस्ट आन्दोलनको निर्माण अबको बाटो हो, वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुनसक्छ’ भनेर लेखेका थिए । राजधानी दैनिकमा सुभाष साहले लेखेकाे समाचार अनुसार महासचिव पोखरेलले पुनसँगको संवाद कम्युनिस्ट एकताको सन्दर्भमा पनि हुनसक्ने संकेत गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँसम्म राजनीतिक ध्रुवीकरणका सन्दर्भमा त्यसप्रति नेकपा एमालेको नीति स्पष्ट छ, विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो, अब पुनः त्यही काम गर्नु उचित हुँदैन, कार्यकर्ताका मन जोडेर बलियो कम्युनिस्ट आन्दोलनको निर्माण अबको बाटो हो ।’
यहीबीचमा महासचिव पोखरेल, सचिव रघुवीर महासेठ र माओवादी उपमहासचिव पुनका बीचमा गोप्य भेटघाट र छलफलसमेत भएको स्रोतको दाबी छ । छलफलमा अध्यादेश र वाम ध्रुवीकरणका विषयमा छलफल भएको थियाे ।
प्रधानमन्त्री ओलीले आफूनिकट महासचिव पोखरेलमार्फत यस्तो छलफल गरेपछि कांग्रेस नेताहरू झनै रुष्ट भएका छन् । माओवादी केन्द्रसँग एमालेको तिक्ततापूर्ण सम्बन्ध रहेको बेलामा महासचिव पोखरेलबाट सामाजिक सञ्जालमा वाम ध्रुवीकरणको कुरा आउनु र गोप्य भेटघाट हुनुले एमालेसँग लामो समय सत्ता सहकार्य नजाने निष्कर्ष कांग्रेस नेताहरूको छ ।
जसपाले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेकै दिन मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । सो बैठकमा अध्यादेश पारित गर्ने, दुई पार्टीबीच भएको सातबुँदे सहमति कार्यान्वयनसहित सरकारको कामकारबाही कसरी प्रभावकारी बनाउने ’boutमा छलफल हुनुपर्नेमा पोखरेलको वाम ध्रुवीकरणको विषयले प्राथमिकता पाएको थियो ।
बैठकमा सहभागी गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखकले के प्रधानमन्त्रीले वाम ध्रुवीकरण गर्न लागेको हो ? भनेर प्रश्न गरेका थिए । महासचिव पोखरेलसमेत सहभागी बैठकमा देउवाकै अगाडि गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीसँग यस्तो प्रश्न तेर्साएपछि बैठक अरू विषयमा छलफल नै नगरी सकिएको थियो ।
कांग्रेससँग सत्ता सहकार्य भइरहेका बेला वाम ध्रुवीकरणको विषय उठ्नुले कांग्रेस नेताहरू गम्भीर बनेका छन् । पोखरेलको त्यस्तो अभिव्यक्तिप्रति देउवासमेत रुष्ट छन् । राजनीतिक संयन्त्रको बैठकमा ओलीले वाम ध्रुवीकरण नहुने स्पष्ट पारे पनि कांग्रेस नेताहरू सशंकित नै छन् । हुन त कांग्रेसमा संस्थापनइतर समूहले पनि एमालेसँग मिलेर सरकार गठन गरेको मन पराएका छैनन् । खुलेरै इतर समूहका नेताहरूले सरकार र प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गर्दै आएका छन् ।