–रामकुमार एलन
‘कुन फूल राम्रो ?’ श्लेषमान्तक वनको सुसाई भन्दा निर्दोष जिज्ञासा ।
‘लाली गुराँस,’ सुमनको संक्षिप्त जवाफ ।
‘उसो भए किन शहरमा बेचिने बुकेटमा लाली गुराँस हुँदैन ?’ दोस्रो जिज्ञासा श्लेषमान्तक वनमा बेतोडले दौडिएको मृगकै वेग झैँ आयो ।
सुम्निमाको जिज्ञासाले बेचैन बनायो सुमनलाई ।
‘हाम्रा गाउँपाखामा फुल्ने फूल कहाँ शहरमा बिक्छन् र ती त गाउँमै फक्रनै नपाई सुकेर मर्छन् नि सुम्निमा,’ सुमनले सम्झायो ।
‘तर यो शहर तिम्रो हाम्रो वैँश फूलले ढकमक्क छ सुमन,’ सुम्निमाले भनी, ‘बिहान कलेजका परिसरदेखि दिउँसो मृगस्थली अनि साँझ दोहोरीदेखि मध्यरातसम्म ननिदाउने क्लब र बारहरू पुगेकै छौ तिमी ।’
‘केशव स्थापितले वैँश फूल फक्रन पाएन भनेर ‘माया पार्क बनाउँछु भनेका थिए,’ सुमन लाडियो, ‘उनको पालामा त पाएन फक्रिन वैँश फूल, हाम्रो पालामा पनि रेमिट्यान्समा साटिएका छन् लाखौँ वैँश फूलहरू ।’
‘तिमी पत्रकारहरू पनि उस्तै त हौ नि,’ सुम्निमाले भनी, ‘शब्दमा अप्सरा बनाउने, व्यवहारमा सीमा नाघेर मधुमास मनाउने ।’
प्रसंग एकाएक मोडियो । विषयान्तर बन्न खोज्यो । पृथ्वी राजमार्गका भित्ता र छेउतिर मोडिएको यातायात साधनलाई चालकले नियन्त्रणमा लिए झैँ सुमन सम्हालिन खोजे । ‘होइन म, चाँडै आउँछु, यो शहरमा एउटा मायाको घर बनाउनु छ, मायाको बारीमा पिरतीको फूल फुलाउनु छ, केशव स्थापितले बनाउन नसके पनि हामीले माया बार चलाउनु छ, जहाँ हासून् उन्मुक्त भएर फक्रिएका कैयौँ वैँश फूलहरू,’ सुमनले भन्यो, ‘गाउँबाट शहर आउने जो कोहीले पाउन् फुल्न, फक्रिन ।’
श्लेषमान्तक वनबाट फर्किँदै गर्दा सुम्निमाले सुमनको हात समाउँदै भनेकी थिई, ‘यो हातले अरू नै वैँश फूल रोजेर मेरो बिचल्ली हुन्छ कि ?’
००००
मोबाइल फोनमा सुम्निमाका तस्बिर हेरिरहँदा फोन आयो । कल डिटेल हेरेर प्रहरीले सुमनलाई प्रहरी कार्यालय बोलाएको रहेछ । फोनमा केही भनिएको थिएन । उदास अनुहार र भारी मन पारेर सुमन प्रहरी प्रभागमा हाजिर भयो । प्रहरीले भ्यानमा राखेर सिधै अस्पताल जाउँ भन्यो । धन्न हत्कडी लगाएन । त्यसैले कुनै सातखुन अपराधको दोषी र दशी परिएन छ भनेर सुमन उग्रायो । तर मनमा लगातार कालो बादल मडारिइरहेको थियो, बेलाबेला परेको चट्याङले झसंग हुन्थ्यो ।
‘तपाईं त टिभीमा देखिनु हुन्छ है,’ एउटा सिपाहीले सोध्यो ।
‘हजुर–हो,’ सुमनले भन्यो ।
‘यो शहरमा कैयौँ तामाका मुना तस्करी भइरहेको छ, तपाई किन बाँसखेती गर्नु भनेर समय खेर फालिरहनु भएको छ ?,’ एउटा सिपाहीले यति मर्मभेदी प्रश्न ग¥यो । जति मै हुँ भन्ने टिभी पर्सनालिटीले अचेल उत्कृष्ट कहलिएका टक शोमा आउने पाहुनालाई सोध्ने हुति राख्दैनन् यतिको ।
सुमनले भन्यो, ‘कुरा बुझिनँ नि ?’
‘जुन शहरमा तामा फक्रन पाउँदैन, त्यो ठाउँमा बाँसखेती गर्न उक्साउने तपाईंको कार्यक्रम के काम ?’ सिपाहीले अश्रुसेल छाडे भन्दा कडा पेच हान्यो । मनै पोल्यो सुमनको ।
अस्पताल पुगियो । सिधै मूर्दाघरतिर प्रहरी तेर्सियो । केहीबेरको तर्पायाँपछि पुगियो मूर्दाघर ।
‘होइन जहाँ पनि कत्रो भिड ?’ सुमनले मनमनै सोच्यो ।
रत्नपार्कको भित्तामा टाक्सिने उस्तै छन् । अस्पतालका काउन्टरमा उस्तै छन् । सार्वजनिक शौचालयमा उस्तै जमात पाइन्टको चेन खोलिरहेका । बिहानै टुँडिखेलमा अनुलम बिलोलम गर्नेहरू पनि ठूलै संख्यामा हुन्छन् । दिउँसो त्यहीँ हुने कन्सर्टको कुरै छाडौँ । हुँदाहुँदा यो मूर्दाघरमा पनि यत्रो भिड ?
‘यो केटी चिन्नुहुन्छ ?,’ दुईतारे फुली भएको कमान्डरले सोध्यो ।
‘सुम्निमा ?’ त्यसपछि बोली फुटेन सुमनको । आँखा रसाए । क्षणभरमा भकभक उम्लेको पानीमा हालेको गाभा झैँ फतक्कै भए ।
‘सम्हालिुनहोस् सुमनजी,’ दुईतारे फुलीले सम्झायो, ‘दुनियाँलाई उत्साहको बेलुन उडाउन हिलियम ग्यास बन्ने तपाईं आफैँ किन गल्नु भयो ?’
आँशुका थोपाले च्यापु भिजे । सुमन अक्मकियो । भन्यो, ‘के भयो यिनलाई ?’
००००
अघिल्लो भ्यालेटाइनका दिन । स्थानः भृकुटीमण्डप । समयः दिउँसो २ः३० बजे । मेलैमेलाको थलो भृकुटीमण्डपमा सुमन चाहारिरहेको थियो । सस्तोमा पाए एक जोर जुत्ता किन्ने मनसाय पनि थियो । किताब र जुत्ताको मेला लाग्छ अक्सर त्यहाँ । लाग्न त बजारै लाग्ने हो तर विज्ञापनमा मेला भन्ने गरेका छन् आयोजकहरूले ।
जुत्ता मेलाको भित्तामा एउटी कुमारी च्यापुमा हात राखेर उभिइरहेकी थिइन् । पार्कतिर कोही सायद भ्यालेन्टाइन उत्सवमा रमाइरहेको थियो । ‘कुमारीको वैँशजस्तो कुन फूल हाँसेको छ ?’ डिभोर्सलाई उत्सव मानिरहेको कलियुगे प्रेमीहरू दिल त फेभिकोल लगाएर ‘चिप्काउनु पर्छ’ भन्ने मान्यतामा पुगेका बेला कुन्ती मुक्तानका स्वरमा कोही रमाइरहेका थिए । टक्क अडिए सुमन ।
कहिलेकहीँ यस्तो हुन्छ, कसैलाई हेर्नु, हेरेकाले पनि हेरिदिनु । एकाएक आँखा जुध्नु अनि विना तार दुई आँखा जोडिँदा मुटुको कतै कुनामा कम्पन प्रवाह हुनु । बिजुलीका तार जुधेर आगो लागे दमकलले निभाइन्छ । विना तार आँखा जुधेर दुई ज्यान बाफिलो हुँदा दमकल बनिदिन्छ माया । त्यसमाथि पुरूषका जात, भन्छन् नि, हेरिदिए पुग्थ्यो, मुस्कुरायौ पनि !
भदौमा बारीमा फलेको काँक्रो पहिलोपटक टोक्दाको मजा झैँ । केही टर्रो, केही तीतो तर पहिलो काँक्रोको स्वादै उन्मादिलो–मत्मत्याउने । नलुकाइ भन्नुपर्दा आमाले स्वर धोद्रो भयो तेरो भन्दा जति लाज लाग्छ किशोर छोरालाई, उस्तै लाग्छ काउकुती पनि । काउकुती लुकाएर हिँड्दाहिँड्दै एक रात यस्तो वर्षा हुन्छ । निथ्रुक्क भिज्छ, नुहाउँछ र नयाँ संसारको कल्पनामा रमाउँछ छोराको जात । विज्ञानले भनेको छः स्वप्नदोष । कस्तो–कस्तो तर काउकुतीको कुरौनी नै कुरौनी । भदौमा बारीमा खाएको पहिलो काँक्रो, सपनामा भएको त्यो काउकुतीपछि हतारमा नुहाएको याद झैँ बन्यो योपटक भृकुटीमण्डपमा दुई आँखाको साउती ।
००००
‘दाइ पुलिस हुनुहुन्थ्यो, युद्धमा मारिनु भयो, बुबा शिक्षक हुनुहुन्थ्यो, स्कूलमा भएको माओवादीको कार्यक्रममा गोली चल्दा पर्नु भयो,’ पहिलो भेटमा मायाको बाफ उडाउने कुमारीले सुनाएको क्रान्तिकारी कथा थियो, ‘भाउजु, छोराछोरी गाउँमा आमासँगै
हुनुहुन्छ ।’
‘बुबा अलि–अलि राजनीति गर्ने शिक्षक हुनुहुन्थ्यो, गाउँमा बोर्डिङ खोल्नु भयो, माओवादीले जलाइदिए, ऋण लागेर मलेसिया जानु भयो, सँगैका साथीहरू मन्त्री छन्, बुबा प्रवासमा श्रमिक,’ सुमनले सुनायो, ‘बाउछोराकै एउटै गीत छ, गरिबको चमेली बोल्दिने कोही छैन ।’
‘जोगीको घरमा सन्यासी पाहुना,’ स्वयम्भूमा नाक चिमोट्दै सुम्निमाले भनी, ‘गरिबकै सरकार आउँदैछ पत्रकारज्यू, किन नून खाएको कुखुरा झैँ झोक्राएको, केही मिठो बात गर ।’
‘मान्छे काठमाडौँ आएपछि मान्छे रहँदैन सुम्निमा,’ सुमनले गालासम्म लत्रिएको कपाल कानमा सिउरिँदै भन्यो, ‘सुकुमार सपना बोकेर काठमाडौँ आउँदा बाटोमै लुटिन्छ कैयौँ सपना, बाँकी जवानी काठमाडौँले शोषिरहन्छ ।’
‘के भनेको ?,’ सुम्निमाले सोधी ।
‘खोइ, सुकुमार काठमाडौँ आएको ज्यान, यहाँ कोकोसँग सुतियो–सुतियो ?’
‘छिः,’ सुम्निमा बोली ।
‘होइन, काठमाडौँ आउँदा बसको हुटमा सुतियो । कैयौँ रात काठमाडौँका गल्लीमा भोकभोकै सुतियो । कहिले माग्नेसँग त कहिले कुकुरसँग सुतियो, मन नसुते पनि ज्यानले आराम मागेपछि क्यार्नु त ?’ सुमनले पयो थप्यो मायाको डोरीमा ।
‘पत्रकारसँग कसले सक्नु, कुरा मिलाउन कति सिपालु, म त अरू नै सोचेको,’ सुम्निमाको मुहारमा देखिएको कालो बादल छ्यांग भयो । इन्दे्रणी हाँसो ल्याइन् । गालामा खोपिल्टा परे । सुमन ईन्द्र भन्दा लठ्ठियो । गालाको खोपिल्टामा जिभ्रै लैजाउँ झैँ लोभियो । तर स्वयम्भूका दुई आँखाले न्याय अन्याय छुट्याइ हेर्ने भएकाले माया गर्ने नगर्नेबारे उसको आँखा मौन छन् । सुमनको मन चैँ सुम्निमाका गालाका खोपिल्टाभरि अरबी घोडा झैँ दौडिरहेको छ ।
‘गाउँमा लोग्ने मान्छे छैनन्, भएका सबै विदेशमा, केटा पाउन पनि गाह्रो छ,’ सुम्निमाले भनी, ‘उमेरमै भाउजु विधवा भइन्, आमासँग सधैँ झगडा, घर जान पनि मन लाग्दैन ।’
‘किन नि ?,’
‘दाइ मरेपछि संगठनले अमर प्रहरी भनेर दिएको पैसा भाउजुले राखिन् । रोगी आमा टाँडमा बसेर ख्वाक्क–ख्वाक्क खोक्नुहुन्छ, एक पैसा औषधी खान पनि दिनु भएन भाउजुले । मेरो छोरो टोकेर त्यही पैसामा बोसो चुहाउँदै बेइजत गर्छस् भन्नुभएछ एकदिन,’ सुम्निमाले थपी, ‘त्यसपछि त आमा र भाउजुको सम्बन्ध नै बिग्रियो ।’
‘समस्या छ गाउँमा सुम्निमा, पति नै नभएपछि उसका आमाबाबु स्याहार्न बुहारीलाई झिँझो लाग्ने,’ सुमनले थपे, ‘अस्ति बबिता बस्नेत दिदी भन्दै हुनुहुन्थ्यो, ‘कतिपयले एक पैसा आमाबाबुलाई नदिएर चिढाएका छन्, त्यसमाथि उनीहरू ‘अतिरिक्त सम्बन्ध’ मा पनि छन् ।’
‘समाज अधिकारको वकालत गर्छ, दायित्व पढाउँदैन,’ सुम्निमाले भनी, ‘समाज विग्रहमा फसेको छ पत्रकारज्यू ।’
००००
पोष्टमार्टम रिपोर्टमा सुम्निमाले आत्महत्या नै गरेको देखायो । दुईतारे फुली लगाउने सइ पनि अब त सुमनका साथी भइसकेका थिए । केहीदिनको हिमचिमपछि सुमनको दुःखमा सइसाब पनि समवेदित थिए ।
सुमनले भनेको थियो, ‘हाम्रो भेट आउँदो भ्यालेन्टाइन डेमा बल्ल वर्षदिन पुग्दैछ ।’ तर सुम्निमा घाटमा पुगिसकेकाले सुमनको भेट अब सम्भव थिएन ।
एक साँझ सइ सीताराम स्याङ्तानले भने, ‘सुमनजी पिउनु हुन्छ ?’
सुमन, ‘विष ?’
सइ, ‘होइन, अमृत ।’ आदेश दिए, ‘केटा हो, दुई वटा गिलास लिएर आऊ त ।’
सुमन, ‘नपिउँ कि यस्तो बेला ?’
सइ, ‘तपाईंको इच्छा ।’ ‘यो शहरमा सबै आफूलाई हात्ती ठान्छन् सुमनजी, देखाउने दाँत एउटा, चबाउने दाँत अर्को ।’
सुमन, ‘मतलब ?’
‘सुम्निमा तपाईंकी प्रेमिका मात्र थिइन,’ सइले भने ।
खाली पेटमा छिरेको मदिराले भन्दा बढी पोल्यो सुमनलाई । भन्यो, ‘मतलब ?’
‘सुम्निमाको हाम्रो इन्स्पेक्टरसाबसँग विवाह हुँदै थियो,’ सइले पोष्टमार्टमको भन्दा ठूलो रहस्य खोल्यो ।
‘किन आत्महत्या गरिन् त ?,’ सुमनले सोध्यो ।
‘तपाईंसँग विवाह गर्ने सुम्निमाको सपना अनि सुम्निमालाई आफ्नो बनाउने इन्स्पेक्टर साबको सपना । सपनाको विमान दुर्घटनामा प¥यो,’ सइले भन्यो ।
‘दुर्घटनामा इन्स्पेक्टर चैँ किन मरेन त ?’ गिलासको तरल पदार्थ स्वाट्टै पार्दै सुमन माओवादीकालीन ‘ठोस’ मा परिणत भयो ।
‘खोइ त त्यो इन्स्पेक्टर,’ सुमनले जान्न चाह्यो ।
‘सुम्निमाको सुसाइडपछि बिदामा छन्, सायद भारतको गोवामा छन्,’ सइले भन्यो ।
‘खास कुरा चैँ के हो त ?,’ सुमनले बुझ्न खोजे ।
‘इन्स्पेक्टर साब र सुम्निमाको एउटै गाउँ हो । सानैदेखि मन पराएका, इन्स्पेक्टर भएका थिए, एकतर्फी मायाको जाल हानेको, सुम्निमाले मानिन,’ सइले भन्यो ।
‘आत्महत्या किन गरी’नि,’ सुमनले सोध्यो ।
‘शहरमा बस्न नसक्ने पारिदिन्छु भनेर दबाब दिएपछि को बाँच्छ शहरमा, त्यो पनि घरमा त्यस्तै, शहरमा उस्तै,’ सइले सुमनको गिलासमा रक्सी र सुमनको चासोमा कुरा थप्यो, ‘त्यसमाथि तपाईं पनि विदेश गएर आएपछि विवाह गर्छु भनेर हिँड्नु भएछ ।’
‘तर त्यतिखेर किन हुन्छ भनेकी त ?,’ सुमन रमरम भइसकेको थियो ।
‘यो शहरमा मायाले बचाएको मात्र छैन सुमनजी मारिरहेको छ हरेक दिन । तपाईं लेख्नु हुन्न,’ सइले रक्सी मात्र पिउन दिएन, समाचारको विषय पनि दियो । तर समाचारमा आफैँ पात्र भइरहेको थियो ।
००००
समाचार आयो । सुम्निमाकी आमा पनि गाउँमा झुण्डिएर मरिछन् । सुमनले एकपटक भेट्न पनि सकेन । भेटोस् पनि कसरी, छोरीले त एकपटक केही नभनी आत्महत्या गरिन् । आफू दबाबमा बाँचिरहेको सुनाइन । कुरा सुनाएको भए मन हलुका हुन्थ्यो, उपाय निस्कन्थ्यो, मर्नु पर्थेन । आमाले पनि आत्महत्या गरेको खबरले सुमन विहल भयो । एउटा घर चिहिलबिहील भएर विघटन भइरहँदा समाज समृद्धिको क्रोक्रोमा ‘च्याँहा’ गरिरहेको थियो ।
शिवरात्रीको दिन । पशुपति गयो सुमन । उसलाई श्लेषमान्तक वनतिर फर्केर हेर्न पनि मन लागेन । आर्यघाटमा जलिरहेका कैयौँ लाशका धूँवाले तान्यो । क्षणभरमै विषाक्त बनायो । आँखा रसाए । पहिला सुम्निमा सम्झे । अनि घर सम्झे । परदेशमा भएका बुबा सम्झे । घरमा दुःख भयो, विवाह गर, बुहारी साथी हुन्छे भन्ने आमाको अँध्यारो अनुहार सम्झे । दाइ पढ्न सकिएन, के गर्ने भनेर बीचैमा कक्षा छाडेर मलेसिया जान राहदानी बनाउने लाइनमा बसेका भाइ सम्झे । भिसा लागे पनि विमान खर्चको ऋणसमेत नपत्याउने गाउँका साहु सम्झे, काम गरिरहे पनि महिनौँ तलब नआउने अफिस र भोलिभोलि भनेर टार्ने अफिसका हाकिम सम्झे । अनि एकतर्फी माया गरेर कसैलाई आत्महत्या गराउन बाध्य पार्ने बर्दीवालाहरू सम्झे ।
शहर, कोलाहल, पीडाको सगरमाथा, अभावको हिउँमा पुरिएका कोपिलाहरूसँग आफूलाई दाँजे । छेउमै एउटा बाबा गाँजा पिइरहेका थिए । स्वाट्ट ताने सुमनले । लगातार पेटभित्र गाँजाको धूँवा छिराए । खल्तीबाट हजारको नोट दिँदै बोले, ‘जीवन के रहेछ र बाबाजी ?’
अलि पर रूखमुनि गएर थचक्क बसे । पशुपतिको जात्रा न हो । शिवरात्रीमा सबै आआफ्नै सुरमा थिए । भोलिपल्ट अर्थात् १४ फ्रेबुअरीमा टेलिभिजनका स्क्रिनहरूमा फ्लास न्युज दौडिरहेका थिए, ‘सञ्चारकर्मी सुमन पशुपतिमा मृत फेला ।’
शहर फगत एक वाक्यमै कसैको जीवन समापन गरिरहेको छ । तर उसले देखेको सपना, भोगेको बिपना अनि शहरमा फुल्न नपाई मरेका कैयौँ यस्ता वैँश फूलहरूको ‘लाली गुराँस’ मरणको हिसाब राख्दैन ।
हर रात शहरमा यसरी नै वैँश फूलहरू मरिरहेका छन् । दुनियाँलाई उत्साहको बेलुन देखाउने सुमन र सुम्निमाहरूको मृत्यु गुमनाम छ । हिजो शिवरात्री, आज भ्यालेन्टाइन डे ।
अघिल्लो भ्यालेन्टाइनमा भृकुटीमण्डपमा भेटिएको जोडीको यो पटक भ्यालेन्टाइन भेट एकैपटक घाटमा भयो ।
शहरमा भ्यालेन्टाइनको रमझम थियो । सबै बुकेट हातमा लिएर प्रेमीप्रेमिकाको स्वागतार्थ ओच्छिएका थिए राता कार्पेट बनेर तर सुमनको शव अस्पतालमा सडिरहेको थियो । घर गएका भाइहरू मुग्लिनको जामले समयमा काठमाडौँ आउन पाइरहेका थिएनन् । विदेशमा भएका बाबुले फेसबुकमा लेखेका थिए, ‘छोरा मर्न सजिलो थिएन होला, तै पनि म¥यौ, तर बाबुभन्दा अगाडि मर्ने छोराका कारण कति दुःख हुन्छ ? बाबुलाई थाहा हुन्छ । आत्माले शान्ति पाओस्, असल बाबु बनेर साथ दिन सकिनँ ।’
सुम्निमाले श्लेषमान्तक वनमा भनेकी थिई, ‘किन शहरमा बेचिने बुकेटमा लाली गुराँस हुँदैन ?’
शहरमा कैयौँ सुकुमार र कुमारी वैँश फूलहरू यसरी नै डाँडामा लाली गुराँस सुके झैँ सुकेका छन् । महंगा रहरका लागि स्वार्थ र बदमासीसँग जीवन विनिमय गर्न नसक्नेहरूको शेयर बजार लगातार ओरालो लाग्दो छ । भारतबाट आयातीत करोडौँका बुकेटले झकिझकाउ देखाउन खोजे पनि सपनाको बेलुन उडाउँदै शहर छिरेका कोपिलाहरू फुल्न नपाउँदै बागमतीको किनारामा कि त विष्णुमति छेउमा सुमनजसरी नै मृत फेला परिरहेका छन् । सन्त भ्यालेन्टाइनको निस्वार्थ प्रेम बखान गर्दै स्वार्थको मायामा रमाउने शहरमा वैँश फूलहरूको हत्या कहिलेसम्म गुमनाम रहला ?
रेडियोमा वैँश फूलको कथा सकिँदै गर्दा प्रस्तोता स्वयम् रोएको आभाष हुँदैथियो । कार्यक्रम वैँश फूलको यो भागमा एउटा वियोगान्त कथा बुन्दा स्रोताले कथामा आफूलाई पाए कि पाएनन् ? यति भन्न नपाउँदै कार्यक्रम प्रस्तोता पनि बोल्न छाडे । प्रविधि कक्षबाट प्राविधिकले कार्यक्रम सकिएको संकेतको धुन बजाइरहे । सायद कथा सुन्नेलाई जस्तै भन्नेलाई पनि पीडाको हावाले उडायो यसपटक । शहरमा सफलताका बनावटी अमर कथाहरू बिक्छन्, आयातीत बुकेटजस्तै । बिक्दैन लाली गुराँसजस्ता वैँश फूलहरूको उकुसमुकुस । बन्दैन यस्ता कथाहरूमा कथानक चलचित्र पनि । ‘आँशु बेचेर को धनी भएको छ र ? उफ्, तिम्ले मलार्ई बुझेनौ,’ सुमनले श्रद्धाञ्जलि अर्पण गर्दै सुम्निमालाई लेखेको अन्तिम फेसबुक स्ट्याटस ।