काठमाडौ । विपद् र आकस्मिक अवस्थामा ‘नेपाल एपिएफ अस्पताल बलम्बु’लाई अनुकरणीय सहयोग पुर्याएवापत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा प्रकाश बुढाथोकी सम्मानित हुनुभएको छ ।
उहाँ सो मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीनकार्य सञ्चालन केन्द्रको प्रमुखसमेत हुनुहुन्छ । अस्पतालको २३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सहसचिव डा बुढाथोकीलाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।
सोही कार्यक्रममा महानिरीक्षक अर्यालले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, नेपाल प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजु, स्वास्थ्थ तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा श्रवणकुमार थापा, स्वास्थ्य सेवा विभागका इञ्जिनियर पद्या मिश्र, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरे लगायतलाई पनि सम्मान गर्नुभएको थियो ।
सोही अवसरमा यसवर्षको ‘आइजी एपिएफ कमन्नडेशन’ सशस्त्र प्रहरी नायव उपरीक्षकत्रय उमेश कँडेल, डा आशिष थापा र अपूर्व श्रेष्ठलाई प्रदान गरिएको थियो । नेपाल एपिएफ अस्पतालमा कार्यरत रही उच्च पेशागत दक्षता प्रदर्शन गर्ने सशस्त्र प्रहरी राष्ट्र सेवकलाई सो सम्मान अर्पण गरिन्छ । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले ‘नेपाल एपिएफ अस्पताल’मा थप पूर्वाधार, जनशक्ति र उपकरण विस्तार गर्दै स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदान गर्ने उत्कृष्ठ स्थल बनाइने जानकारी दिनुभयो ।
नेपाल एपिएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा रुपक महर्जनले अस्पतालको शय्या ३०० स्वीकृत भएको र यसका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापनकार्य प्रारम्भ भइसकेको बताउनुभयो ।
विसं २०५८ फागुन २ गते सशस्त्र प्रहरी बल हल्चोकमा एकजना चिकित्सकसहित पाँचजना तालिम प्राप्त जनशक्तिद्वारा सेवा सुरुआत गरेको अस्पतालले विसं २०६० चैत ७ गतेबाट ११० शय्या सञ्चालन गरिहेको छ ।