लुम्बिनी । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले तीनै तहका सरकारलाई अधिकारसम्पन्न बनाउन आवश्यक रहेकाले सोहीअनुसार सरकार लागिरहेको बताउनुभएको छ । उहाँले सङ्घीयताको मूल भावनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकारले संविधानअनुसार कानुन बनाएर काम गरिरहेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाको ६६औँ स्थापना दिवस मूल समारोह कार्यक्रममा उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि संसद्का दुई ठूला दल मिलेर बनेको सरकारले जनतामा बढेको निराशा हटाउँदै देश विकासका लागि काम गरिरहेको उल्लेख गर्नुभयो । “सत्ताका लागि मात्रै अहिलेको सरकार बनेको होइन । राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि बनेको हो । सोही मर्मअनुसार हामीले काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थायित्वविना आर्थिक अवस्था सुदृढ नहुने र विकास निर्माणले पनि पूर्णता पाउन नसक्ने जिकिर गर्नुभयो । “राजनीतिक स्थायित्वका लागि अहिलेको सरकार बनेको हो, सदनमा सबैभन्दा ठूला दुई दल त्यसैका लागि मिलेका हुन्”, उहाँले भन्नुभयो, “यसैलाई आधार मानेर सरकारले काम गरिरहेको छ ।”
उपप्रधानमन्त्री सिंहले बुटवलको दीर्घकालीन विकासका लागि विशेष योजना ल्याउन आग्रह गर्नुभयो । बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै उहाँले अब आर्थिक गतिविधिका साथै बुद्ध जन्मस्थल लुम्बिनीदेखि मुक्तिनाथसम्म जोडेर धार्मिक सर्किट बनाउन सकिने बताउनुभयो ।
लुम्बिनी प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले बुटवलको विकासमा सबैको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सुकुम्वासी र अव्यवस्थित बसोबासी समस्या समाधानका लागि सरकारले कानुन निर्माण गरेर अघि बढ्न खोजेको र यसले बुटवलको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले नगरको विकास र समृद्धि तथा नागरिकका अधिकारका लागि सहमति र सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको विकास र समृद्धिका लागि सबैबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।