काठमाडाैं । नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७५औँ प्रजातन्त्र दिवस मनाइँदैछ ।
नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको थियो। मुुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले बलिदानी दिनुभएको थियो । आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ ।
प्रजातन्त्र दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्षलगायतका दलका प्रमुखले नेपाली जनालाई शुभकामना सन्देश दिनुभएको छ । साथै ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्यजीवन बलिदान गर्ने अमर सहिदप्रति उहाँहरूले श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने कार्यक्रम छ । कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ ।
प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।
प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराउनुभएको छ ।