सप्तरी । रूपनगर क्याम्पसले आयोजना गरेको 'नन्दराज कप' फूटबल प्रतियोगिता आजबाट आरम्भ भयो। १६ वटा फूटबल टोलीले प्रतिष्पर्धा गर्ने यो प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको जानकारी क्याम्पसले दिएको छ।
क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलका अनुसार 'नन्दराज कप' फूटबल प्रतियोगितामा पहिलो हुने टोलीले नगद २५ हजार रूपिञा, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ। प्रतियोगिताको दोश्रो पुरस्कार नगद ११ हजार रूपिञा, शिल्ड, मेडल र प्रमाणपत्र हुनेछ। प्लेयर अफ द टुर्नामेण्ट, म्यान अफ द म्याच लगायत अन्य पुरस्कारको समेत व्यवस्था गरिएको छ।

रूपनगरको सुन्दरी खेल मैदानमा आज शुरू भएको प्रतियोगिता ११ दिन सम्म चल्ने र अन्तिम खेल फागुन १७ गते हुने जानकारी क्याम्पसका खेलकूद संयोजक रूपेश चौधरीले दिनु भयो।
आज (बुधबार) सम्पन्न उद्घाटन खेलमा जगतपुर फूटबल क्लब बाबा बजरङवली युवा क्लबलाई एक शून्यले हराएर क्यार्टर फाइनलमा प्रवेश गर्यो।

कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले उद्घाटन गर्नु भएको टुर्नामेण्टमा रूपनगर क्याम्पस फूटबल टोली लगायत बाबा बजरङवली युवा क्लब, जगतपुर फूटबल क्लब, महुली फूटबल क्लब, जोगमोहन फूटबल क्लब, धर्मेश्वर फूटबल क्लब, सृजना फूटबल क्लब र श्री नव युवा क्लबको सहभागिता रहेको छ। त्यसै गरी, बलुवा फूटबल क्लब, मगरटोल फूटबल क्लब, रिभरसाइड फूटबल क्लब, भुवनपट्टी फूटबल क्लब, डिआर युके एस फूटबल क्लब, प्रोग्रेसिभ फूटबल क्लब, श्री माँ दुर्गा फूटबल क्लब र बसन्तपुर फूटबल क्लब प्रतिष्ठाका लागि प्रतिष्पर्धा गर्दैछन्।

'जवाफ एडुकेसन्स' र शगुन संग्रौला मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको सहप्रायोजन 'एक्मी इञ्जिनियरिङ कलेज' ले गरेको छ। त्यसै गरी, खेलप्रेमी व्यक्तित्वहरूबाट समेत प्रतियोगिता आयोजनमा आर्थिक तथा अन्य सहयोग प्राप्त भएको जानकारी क्याम्पसले दिएको छ। हेम प्रसाद अधिकारी, पुनम गजुरेल, डेफोडिल इङ्लिश स्कूल, श्रवण कुमार चौधरी, शुभदिन दूध सङ्कलन केन्द्र लगायत व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गर्नु भएको जानकारी प्रतियोगिता आयोजन समितिले दिएको छ। त्यसै गरी जिल्ला खेलकूद विकास समिति, सप्तरीका प्रमुख दिनेश भुजेलका तर्फबाट खेलाडीहरूलाई जर्सी लगायत अन्य उपकरण सहयोग प्राप्त भएको जानकारी रूपनगर क्याम्पस फूटबल क्लबमा कप्तान आफताब अलीले दिनुभयो।

राष्ट्रिय स्तरको लाइसेन्स प्राप्त रेफ्री ध्रुव चौधरीले खेलाउनु भएको आजको खेलमा जगतपुर क्लबका खेलाडी कौशल खङ्ग 'म्यान अफ द म्याच' घोषित गरिए। जिल्ला खेलकूद विकास समिति, सप्तरीका प्रमुख दिनेश भुजेलले म्यान अफ द म्याचको प्रमाणपत्रद्वारा खेलाडी खङ्गलाई सम्मान गर्नुभयो।
समाचार स्रोत: रूपनगर क्याम्पस फिचर सेवा