ज्ञानेन्द्र खड्काझापाबाट फर्केर । शान्ति सम्झौता भएपछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो लाजसमेत जोगाउन सकेन ।हिन्दु राज्य र राजतन्त्रलाई प्रमुख मुद्दा बनाएर त्यो निर्वाचनमा होमिएको राप्रपा नेपालले समानुपातिकतर्फ झापा क्षेत्र नम्बर ३ बाट २२८ मत ल्यायो भने प्रत्यक्षतर्फ त्यो भन्दा कम २०२ मत मात्रै ल्याउन सफल भयो । जबकि माओवादीबाट प्रत्यक्षतर्फ विजयी भएका पूर्णसिंह राजवंशीले यहाँ १७ हजार मत ल्याएका थिए ।आफ्नै राजनीतिक भूगोलमा राप्रपा नेपालको कम्जोर उपस्थितिले चिन्तित थिए, राजेन्द्र लिङ्देन । पार्टी राप्रपा नेपालबाट राप्रपामा परिणत भएपछि महामन्त्री बनेका लिङ्देनका लागि त्यो परिणाम बिजुलीको कडा झट्का नै थियो ।उनै राजेन्द्र लिङ्देनको नेतृत्वमा १० वर्षभित्र राप्रपाले झापा क्षेत्र नम्बर ३ मा ठुला दललाई टक्कर दिने हैसियत बनाइसकेको छ । १० वर्षको अवधिमा देशभर राप्रपा अधोगतिमा लाग्दा झापा ३ मा भने स्थानीय निर्वाचनमा दुई गाउँपालिका जित्न सफल भयो ।
१० वर्षमा गतिलो फड्को२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा राप्रपाले काठमाडौँ उपत्यकामा समानुपातिकतर्फ नसोचेको परिणाम निकाल्यो । तर, झापामा भने उसको नतिजा निराशाजनक रह्यो ।झापालाई राजनीतिक केन्द्र बनाइरहेका राजेन्द्र लिङ्देनका लागि यो लज्जास्पद अवस्था थियो । त्यसअघि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि जिल्ला विकास सभापति बनेका लिङ्देनले त्यस क्षेत्रको विकासका लागि आफ्नो सक्रियताले बलियो शक्तिका रुपमा स्थापित भएको बताए ।त्यो बेला नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई पराजित गर्दै माओवादीका पूर्णसिंह राजवंशी विजयी भए । जनआन्दोलन दबाएको आरोप लागेका लिङ्देन त्यो बेला चुनावी मैदानमा थिएनन् ।‘मलाई भन्नेले मण्डले, राजावादी पनि भन्छन्, यस्ता आरोपले मलाई पिरोल्दैन’, लिङ्देनले सुनाए, ‘अहिले पनि कांग्रेसले टीके सभापति भन्दै गाली गरिरहेको छ । तर, त्यही टीके सभापति भएका बेलामा मैले यो क्षेत्रमा बिजुलीदेखि सडकसम्म पुर्याएँ । विकासको बाटो खोलेँ, त्यही नै हो मप्रति यहाँका जनताको विश्वासको आधार ।’
दोस्रो संविधानसभामा दोस्रो पोजिसनलिङ्देनको निरन्तर सक्रियताले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा त्यहाँ राप्रपा नेपाल दोस्रो पोजिसनमा आइपुग्यो । सिटौलासँग लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका लिङ्देनले राप्रपा नेपाललाई बलियो अवस्थामा पुर्याएपछि उनै झापा ३ मा सिटौलाविरुद्ध मैदानमा ओर्लिए ।त्यो चुनावमा सिटौलाले १४ हजार ३ सय मत ल्याउँदै विजयी हुन सफल भए । यो चुनावमा पूर्णसिंह क्षेत्र नं. २ मा गए भने धर्मशिला चापागाइँ सिटौलासँगको प्रतिस्पर्धामा थिइन् । यस्तोमा आश्चर्यजनकरुपमा १० हजार मतसहित लिङ्देनले सिटौलालाई टक्कर दिए ।
शत्रुतापूर्ण सम्बन्धराष्ट्रिय राजनीतिका चर्चित खेलाडी सिटौला अहिले कांग्रेसको तेस्रो धारको नेतृत्व गरिरहेका छन् । उता लिङ्देन राप्रपाका महामन्त्री पदमा छन् । उनीहरुबीच २०४६ सालदेखि नै शत्रुतापूर्ण सम्बन्ध सुरु भएको हो ।युवा उमेरका यी दुवै नेताको राजनीतिक प्रभाव बढिरहेको थियो । कांग्रेसको राजनीतिमा सिटौलाले पकड जमाउँदै गर्दा राजेन्द्र लिङ्देनले आफूलाई कट्ट राजावादीकारुपमाा परिचित गराइसकेका थिए ।पञ्चायतविरुद्ध आन्दोलन चर्किरहेका बेला झापामा आन्दोलानका अगुवा सिटौला नै थिए । उनकै नेतृत्वमा २०४६ चैत १३ गते मेची क्याम्पसमा पञ्चायतविरुद्ध प्रदर्शनसहित पुत्ला जलाउने क्रममा झडप भयो ।सिटौला र लिङ्देन समूहबीच झडप हुँदा सिटौला समूहका राम थापाले ज्यानै गुमाए । यो घटनामा मोहन महर्जन गम्भीर घाइते भएका थिए । अहिले पनि यो घटना दबाउने योजना लिङ्देनले नै बनाएको दाबी कांग्रेसीहरुको छ ।
सिटौलालाई लिङ्देनको सधैँ चुनौतीतर, वाम गठबन्धनको सहयोगमा झापा ३ मा सिटौलाविरुद्ध उत्रेका लिङ्देन यो कुरा स्वीकार्दैनन् । यो घटनामा आफ्नो संलग्नता नै नरहेको उनको तर्क छ । दुई पक्षको झडपमा ज्यान गुमाएका थापाकै छोरा लिङ्देनविरुद्ध उत्रिए पनि ठुलो असर नपर्ने उनको बुझाइ छ ।त्यही झडपदेखि अहिलेसम्म यी दुई नेता तथा कांग्रेस र राप्रपाबीचको सम्बन्ध सुध्रिन सकेको छैन । २०४६ सालदेखिको शत्रुतापूर्णसम्बन्ध चुनावी मैदानमा पनि देखिएको छ । र, अहिले राजेन्द्र वामको साथमा कृष्णविरुद्ध मैदानमा छन् ।
यसअघि २०५६ को आमचुनावमा झापा क्षेत्र नम्बर १ बाट सिटौला उठ्दा लिङ्देनले चुनौती दिए । तर लिङदेन तेस्रोमा सीमित हुँदा सिटौलाले बाजी मारे ।तर पनि लिङ्देन चुप बसेनन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि लिङ्देन झापा जिल्ला विकास समितिको सभापति भए । त्यहीबेला उनले आफ्नो र पार्टीको प्रभाव झापा ३ मा विस्तार गर्न भ्याए ।दोस्रो जनआन्दोलनपछि पनि यी दुई नेताको सम्बन्ध झनै विग्रियिो । जनआन्दोलन सफल भएपछि राप्रपा नेता रवीन्द्रनाथ शर्मा बिर्तामोड गएका बेला माओवादीलेमोसो दल्न खोजेका थिए । यो घटनामा शर्मामाथि मोसो दल्न नसकेपछि उनीहरुले लिङ्देनमाथि कुटपिट गरे ।
(कृष्ण सिटौलाको आक्रोशः राजा बोक्दै हिँड्ने राजेन्द्र लिङ्देनलाई समाप्त पारिदिन्छु)आफूमाथि सिटौलाकै योजनामा कुटपिट भएको लिङ्देनको बुझाई छ । त्यो बेला गृहमन्त्री रहेका सिटौलालाई नै उनी दोषी देख्छन् यो घटनामा ।
सिटौलाकै कारण टुट्यो गठबन्धननेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएपछि कांग्रेसले पनि प्रजातान्त्रिक दलहरुसँग तालमेल गर्ने निर्णय ग¥यो । कांग्रेसले राप्रपासँग झापा ३ सहित धेरै स्थानमा तालमेलको निर्णय गर्दै सिटौलालाई समानुपातिकमा राख्यो ।तर, आफ्नो क्षेत्रमा लिङ्देनलाई समर्थन गर्न सिटौला तयार भएनन् । बरु उल्टै झापा ३ बाट आफैँ चुनाव लड्ने अडान लिएपछि कांग्रेसले गठबन्धन तोड्दै सिटौलालाई टिकट दिन बाध्य भयो ।कांग्रेसले धोका दिएर सिटौलालाई पठाएपछि लिङ्देनले झापा नै गृहजिल्ला भएका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्पर्क गरेर गठबन्धनको प्रस्ताव गरे । झापका अन्य चार क्षेत्रमा राप्रपाले सघाउने शर्तमा लिङ्देनले ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग तालमेलका लागि गरेको प्रस्तावलाई दुवै नेताले हरियो झन्डा देखाए ।त्यसपछि झापा ३ मा कांग्रेसका सिटौलाविरुद्ध बन्यो एमाले, माओवादी केन्द्र र राप्रपाको मोर्चा । राजेन्द्रलाई समर्थन गर्ने कांग्रेसको निर्णयविरुद्ध सिटौलाले रणनीतिकरुपमा झापाका नेताहरु उतारेपछि राप्रपासँग अन्य क्षेत्रमा भएको तालमेल पनि अनौपचारिकरुपमा तोडियो ।
ढुक्क छन् लिङ्देनकेही दिनअघि एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा क्षेत्र नं.५ स्थित दमकमा भएको कार्यक्रममा वाम गठबन्धनले लिङ्देनलाई पनि वक्ता अतिथिकारुपमा बोलायो ।वाम गठबन्धन बनेपछि उत्साहित बनेका दुई दलका कार्यकर्ता राप्रपासँग पनि तालमेल भएपछि हौसिएका छन् । केही नेता कार्यकर्ता असन्तुष्टि देखिए पनि तीनवटै दलको संयुक्त निर्वाचन परिचाल समिति वडा तहसम्म पुगेको बताउँदै एमाले झापा जिल्ला अध्यक्ष चिन्तन पाठकउनले भने जस्तै झापाका सबै क्षेत्रमा एमाले, माओवादी र राप्रपाका चुनाव चिन्हसहितका सवारी साधन चुनाव प्रचारमा खटिएका छन् । वामका सबैजसो कार्यक्रममा राप्रपाका कार्यकर्ता पनि पार्टीको चुनाव चिन्ह र झन्डासहित सहभागी भइरहेका छन् ।जिल्लाका प्रमुख सहरहरुमा तीनै दलका झन्डा र संयुक्तरुपमा प्रचार सामग्री टाँसिएका छन् । ‘सबै दलमा सुरुमा केही असन्तुस्टि थिए, त्यसलाई हामीले व्यवस्थापन गर्दै गएका छौँ । अब असन्तुस्टिका स्वरहरु बन्द भइसकेका छन्’, अध्यक्ष पाठक भन्छन्, ‘झापा ३ मा राप्राका उम्मेदवारलाई जिताउन हामी प्रतिवद्ध छौँ । अन्य चार क्षेत्रमा हामीलाई राप्रपाले सघाएको छ । तीन दलको गठबन्धनले कांग्रेसलाई सबै क्षेत्रमा सजिलै हराउँछौँ ।’
सिटौला भन्छन्ः हराएर देखाउँछुझापा क्षेत्र नम्बर ३ मा कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार सिटौलाले भने ‘राजा चाहिन्छ’ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समाप्त पार्ने चेतावनी दिएका छन् ।सिटौलाले आफ्ना प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनजस्ता ‘राजा चाहिन्छ’ भन्ने मान्यता बोकेकालाई यो निर्वाचनबाट आफूले समाप्त पार्न चाहेको बताएका छन्।उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टयाउने खोज्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा मतदान नगर्न पनि आफ्ना निर्वाचन क्षेत्रका मतदातालाई अपिल गरे ।नेता सिटौलाले गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता जस्ता परिवर्तन विरोधी शक्तिलाई एमाले र माओवादी केन्द्रले सघाउने हुन वा होइनन् त्यो भने हेर्न बाँकी रहेको प्रतिक्रिया पनि दिए । झापामा लोकतान्त्रिक गठबन्धनविरुद्ध उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एमाले, माओवादी केन्द्र नेतृत्वको वाम गठबन्धनको साथ छ ।
विकासका सपना बाँड्दै लिङ्देनसिटौलले पटक पटक जितेर पनि यो क्षेत्र र झापाकै लागि एउटा उदाहरणीय काम गर्न नसकेको बताउँछन् वाम गठबन्धनको साथ पाएका राप्रपा उम्मेदवार लिङ्देन । ‘केही काम मैले थालेको छु । तर पनि यो क्षेत्रका जनता बिजुली हेर्नुपर्यो भने बिहार पुग्नुपर्छ । चिप्ला सडक हेर्न बिर्तामोड आइपुग्नुपर्छ’, उनी भन्छन्, ‘मसँग विकासका चरणवद्ध योजना छन् । यहाँका धेरै घरमा शौचालय पनि छैनन् । ‘विकास, समृद्धि रोजगारी’लाई मैले मूख्य नारा बनाएको छु ।’उनले आफू शाही शासनकालमा जिविस सभापति हुँदा या पार्टी नेतृत्वमा रहँदा पनि यो क्षेत्रको विकासमा सक्रिय भएकैले जनताको विश्वास पाएको बताउँछन् । ‘मैले चुनाव लडेको क्षेत्रलाई झापाको कर्णाली पनि भन्छन् । यहाँ मेची र विरिङ खोलाले धेरै सताएको छ । भारतीय हात्तीले पनि उत्तिकै सताउँछ । यी सबै समस्यमा समाधान गर्दै मेरो क्षेत्रलाई विकासमा नमूना बनाउँछु ।’
२० हजार मतले जित्छुएमाले र माओवादीको साथ पाएपछि लिङ्देन हौसिएका छन् । सिटौला राष्ट्रिय राजनीतिक खेलाडी हुन् तर लिङ्देनको प्रोफाइल पनि सानो छैन । उनको यही प्रोफाइलाई ‘क्यास’ गर्न पनि वाम दलले उनलाई साथ दिएका छन् ।त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि झापामा भएको वाम र राप्रपा तालामेल अन्यत्रको भन्दा मौलिक भएको बताइरहेका छन् ।राजावादीसँग काँध जोडेको आरोप कांग्रेसले लगाइरहँदा देशभर कांग्रेसले राप्रपासँग गरेको तालमेलबारे उनीहरुले प्रतिप्रश्न गरेका छन् ।
स्थानीय तह निर्वाचनमा करिब २५ हजार मतको अन्तर यो क्षेत्रमा वाम–राप्रपा र कांग्रेसबीच रहेको छ । यो २५ हजार मतलाई घटाएर व्याज तिर्नका लागि सिटौलाले यहाँ ठुलै मिहिनेत गर्नुपर्ने बाध्यता छ । तर, लिङ्देन यो मत घटाउन त परै जाओस व्याज तिर्ने अवस्था आउनै नदिने दाबी गर्छन् ।‘वामसँग तालमेल भएपछि मेरो जित पक्का भइसकेको छ । मैले कम्तिमा पनि २० हजार मतले जित निकाल्छु’, लिङ्देन भन्छन्, ‘स्थानीय तह निर्वाचनमा राप्रपाको ५ हजार मत क्रस भएर हलोतिर गएको छ । त्यो सबै मत पनि मलाई आउँछ । त्यसकारण म २० औँ हजारको अन्तरले विजयी हुन्छु ।’
यस्तो छ स्थानीय तहको नतिजाझापा क्षेत्र नम्बर ३ अन्तरगत बाह्रदशी, हल्दीबारी र कचनकबल गाउँपालिका रहेका छन् । यो क्षेत्रमा भद्रपुर नगरपालिका १ देखि ८ नम्बर वडा पनि रहेका छन् । त्यसैगरी व्यापारिक केन्द्र बिर्तामोडको वडा नं. १० पनि यही क्षेत्रमा छ ।यो निर्वाचन क्षेत्रमा रहेको बाह्रदशी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको थियो । भद्रपुर नगरपालिका ५ र ८ कांग्रेस नै विजयी भएको । राप्रपाले यो निर्वाचन क्षेत्रको सहरी इलाका जित दर्ता गर्न सकेन तर उसले दुईवटा गाउँपालिका भने जित्यो ।त्यसैगरी एमालेले बिर्तामोड नगरपालिका वडा नम्बर १० मा जितेको थियो । त्यसैगरी भद्रपुर नगरपालिका २, ३, ६ र ७ नम्बर वडामा एमाले विजयी भएको थियो । अर्कातिर माओवादी केन्द्रले भद्रपुर नगरपालिका वडा नम्बर ४ जित निकालेको थियो । राप्रपाले हल्दीबारी र केचनाकवलमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन सफल भयो ।झापा क्षेत्र नम्बर ३ अन्तरगतका स्थानीय तहमा प्रमुख÷अध्यक्षका लागि स्थानीय तह निर्वाचनमा खसेको मतलाई केलाउँदा कांग्रेसको पक्षमा २० हजार २२ मत खसेको थियो । यो क्षेत्रका स्थानीय तहमा राप्रपाको पक्षमा १३ हजार ७५० मत खसेको थियो ।
अंकगणितीय सम्भावनायो अवस्थामा सिटौला र लिङ्देनबीच ६ हजार २ सय ७२ मतको अन्तर छ । यो अवस्थामा नतिजा सजिलै सिटौलाको पक्षमा जान सक्थ्यो । तर वामले सघाएपछि सिटौला लिङ्देन भन्दा करिब २५ हजार मतले पछि परेको अवस्था छ ।स्थानीय निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेको पक्षमा १५ हजार ५६२ मत खसेको थियो । त्यसैगरी माओवादी केन्द्रको पक्षमा ८९९१ मत झरेको थियो । एमाले र माओवादी दुई दलको मत २४ हजार ५५३ रहेको छ ।अब यसमा राप्रपा र दुई वाम दलको मत जोड्दा ३८ हजार ३०३ हुन आउँछ । यसलाई हेर्ने हो भने वाम भन्दा कांग्रेस १८ हजार मतले पछि देखिन्छ । त्यसमा राप्रपाको भनेको कांग्रेसको भन्दा करिब १८ हजार बढी हो ।तर, लिङ्देनले हलोमा खसेको ५ हजार मत पनि आफ्नो पक्षमा आउने दाबी गर्दै कम्तिमा पनि २५ हजार मतले विजयी हुने दाबी गरेका छन् । ‘यदि भोटलाई पैसामा किनिएन भने मेरो जित पक्का भइसकेको छ’, उनले भने, ‘पटक पटक जितेर पनि काम नगरेका सिटौलालाई सजिलै हराउँछु, ढुक्क भए हुन्छ ।’सिटौला एक्लै चुनावी मैदानमा उत्रिएकाले यहाँ लिङ्देन हावी हुने सम्भावना बलियो छ । तर, राजावादी पृष्ठभूमिका लिङ्देनलाई सघाएकोमा असन्तुष्ट बनेका एमाले र माओवादीका केही नेता कार्यकर्तालाई थम्थम्याउन नसकेमा राजनीतिका चतुर खेलाडी सिटौलाले त्यसको फाइदा लिने सम्भावना पनि छ ।