काठमाडौं । भूकम्प गएको तीन वर्ष पूरा भइसक्दापनि भुकम्पले दिएको चोट भने ताजै छ । क्षतिग्रस्त संरचनाका पुननिर्माणको काम कछुवाको गतिमा अगाडी बढेको छ ।
२०७२ वैशाख १२ गते मध्यान्ह ११ वजेर ५६ मिनेटको समयमा गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको ७ दशमलव ८ म्याग्निच्यूडको भूकम्पले सारा नेपालीलाई मर्माहत तुल्याएको थियो । १९९० सालको महाभूकम्पपछिको ठूलो मानिएको यस भूकम्प र त्यसपछिका पराकम्पबाट १४ अति प्रभावितसहित ३१ जिल्ला प्रत्यक्ष प्रभावित भए । यस विनासकारी भूकम्पले ८ हजार ९ सय ७९ जनाको ज्यान लियो ।
https://www.youtube.com/watch?v=q0b1GcJ4bDY
२२ हजार ३ सय ९ जना घाइते भएका थिए । भूकम्पपछिको आवश्यकता आकलन प्रतिवेदन (पिडिएनका अनुसार भूकम्पबाट चार लाख ९८ हजार ८ सय ५२ निजी घर र दुई हजार ६ सय ५६ सरकारी भवन पूर्ण रुपमा क्षति भएका थिए । दुई लाख ५६ हजार ६ सय ९७ निजी घर र तीन हजार ६ सय २२ सरकारी भवन आंशिक रुपमा क्षति भए । १९ हजार कक्षा कोठा ध्वस्त र ११ हजार कक्षा कोठा क्षतिग्रस्त भएका थिए । भूकम्प र परकम्पबाट ३१ जिल्लामा अथाह धनजनको क्षति भएको थियो ।
भूकम्पीय जोखिमका दृष्टिले संसारकै उच्च खतरामा रहेको थाहा हुँदाहुँदै पनि पूर्व तयारीको अभावले मुलुकको समग्र राष्ट्रिय अर्थतन्त्रमै नराम्रो असर प¥यो । तीन वर्षसम्म भूकम्पबाट टहराको बासमा सरेका पीडितमध्ये ८० प्रतिशत अझै स्थायी भवनमा सर्न सकेका छैनन् ।
सांस्कृतिक सम्पदा पुनर्निर्माण हुन सकेको छैन । नीजि आवास पुनर्निर्माणका लागि सरकारले दिने सहुलियत ऋणमा नागरिकको पहुँच पुग्न सकेको छैन । शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन तथा आवास, सुरक्षा निकायका भवन तथा अन्य सार्वजनिक संरचनाहरू निर्माण हुन सकेका छैनन् । सरकारले भूकम्पको तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको निजी आवास पुनर्निमाणबाट जम्मा १८ प्रतिशत सम्पन्न भएको छ । कूल ७ लाख ६७ हजार ७ सय ५ निजी आवास पुनर्निर्माणमध्ये एक लाख ४१ हजार निजी आवास निर्माण सम्पन्न भएका छन् ।
https://www.youtube.com/watch?v=q0b1GcJ4bDY
पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका सांस्कृतिक सम्पदा निर्माणमध्ये न्यून मात्रामा निर्माण सम्पन्न भएका छन् । धरहरा, रानीपोखरी लगायतका सम्पदा पुनर्निर्माणले गति लिन सकेका छैन । भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ५३ शैक्षिक संस्थामध्ये तीन हजार १ सय ५७ पुनर्निर्माण भएका छन् ।
अझै पनि आधाभन्दा बढी शिक्षण संस्थाका भवन बन्न बाँकी छ । पुनर्निर्माण हुनुपर्ने स्वास्थ्य संस्थामध्ये ५ सय ८६ पुनर्निर्माण भएका छन् । एक हजार १ सय ९७ स्वास्थ्य संस्थाका भवन भूकम्पबाट भत्किएको पुनर्निर्माण प्राधिकरणको तथ्याङ्क छ । यता, सरकारी भवनको पुनर्निर्माण लक्ष्यभन्दा पर छ । करिब चार सयको हाराहारीमा भवन पुनर्निर्माण हुनुपर्ने भए पनि २ सय २० भवन पुनर्निमाण भएका छन् ।
मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारकै पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । पुनर्निर्माणको मोडालिटीमा भएको विवादका कारण पछिल्लो समय काम रोकिएको छ । भूकम्पबाट सुरक्षा निकायका ३ सय ८३ वटा भवनमा क्षति पुगेकोमा अझै १ सय २६ वटा पुनर्निर्माण भएका छैनन् ।
भूकम्पको मार ब्यहोरेका जनताले कछुवा गतिको कार्यशैलीकै कारण अतिसाध्य वर्षात्, कठ्याँग्रिदो ठिही र प्रचण्ड गर्मीको मौसम बेचैनीका साथ गुजार्नुर्पयो पछिल्ला तीन बर्षसम्म । फेरि पनि अर्को वर्षात्को समय नजिकिँदै छ । तर, त्यही नियति दोहोरिने निश्चित छ ।
https://www.youtube.com/watch?v=q0b1GcJ4bDY