–खेम बमकाठमाडौं । मंसिरमा सकिएको निर्वाचनबाट कमजोर प्रतिपक्ष बनेको नेपाली काँग्रेस आन्तरिक कलहमा फसेको छ । पराजयको समीक्षा समेत गुटका आधारमा गरेको काँग्रेसभित्र दर्जन बढी फरक मत देखिएको छ । सभापति शेरबहादुर देउवाले संस्थापन इतरलाई पूरै पेलेर जाने रणनीति बनाएका छन् ।
पार्टीभित्रै चर्को आलोचना खेपिरहेका सभापति देउवाले एकपछि अर्को एकलौटी निर्णय गर्न पछि परेका छैनन् । सभापति देउवाको यो प्रवृत्तिले प्रश्न उब्जाएको छ कि उनी स्वचालित हुन् या देउवा गुटकाले यस्तै चाहेका छन् । शक्तिमा रहिरहन पार्टीभित्र प्रजातान्त्रिक अभ्यास हुनु आफैमा गौरवकोे कुरा हो । तर, पछिल्लो समय कांग्रेसमा देखिएको विवाद र पार्टीमा गुट हावी भएका देउवाको यो प्रवृत्तिले सींगो कांग्रेसजनलाई कहाँ प¥याउला ? गम्भीर प्रश्न छ ।
चैत ९ गतेबाट निर्वाचनको समीक्षा गर्न र आगामी रणनीति तय गर्न बसेको कांग्रेस केन्द्रीय समितिमा यति विवाद देखियो कि एकले अर्कालाई आरोप–प्रत्यारोप बाहेक अरुमा समय खर्चेनन् । अवको कांग्रेस कस्तो हुन्छ ? कसरी अगाडि बढ्छ ? जस्ता आवश्यक विषयले भने महत्व पाएन ।
निर्वाचनमा भोगेको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने दबाब संस्थापनइतर पक्षले दिइरहदाँ नेतृत्वले भने त्यसको बचाउ गर्दै हारको कारण सींगो पार्टी नै जिम्मेवार रहेको दोहा¥याइरह्यो । तर, हारको समीक्षा गर्न बसेको बैठकमा के कारणले हार भयो र कसको कमजोरी भन्ने बिषयले पूर्णता पाएन ।
अन्नतः विवादकैबीच आइतबार राति बसेको बैठकमा संस्थापन पक्षले संस्थापनइतर पक्षमाथि निर्वाचन हारको कारण वाम गठबन्धन र सामाजिक सञ्जालमा पहुँच कम हुनु भन्दै लाद्ने प्रयास गर्यो । असन्तुष्टि सतहमा पुगिसक्दा पनि पौडेल र सिटौला पक्षले पार्टीको बचाउका निम्ति र गुटगत राजनीतिमा हावी देउवाको निर्णयलाई काट्न सक्ने स्थिति रहेन् ।
विषेश महाधिवेशन, महासमिति बैठक, पदाधिकारी चयनकालागि निर्वाचित केन्द्रीय समिति बैठकलगायतका विभिन्न मुद्दामा संस्थापन पक्षले स्वःनिर्णय गरेको भन्दै असन्तुष्ट पक्षले सोमबारको बैठक समेत बहिष्कार गरे ।
आफुसँग छलफल नै नगरी पदाधिकारी चयन गर्न लागिएको भन्दै नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि कांग्रेसको राजनीतिक यात्रा र भावी गन्तव्यले कस्तो गति लिने सहजै अनुमान गर्न सकिन्छ ।
सभापति देउवाले उपसभापति, महामन्त्री, सह–महामन्त्रीलगायतका पदमा आफ्नै समुहका नेतालाई नियुक्त गर्ने तयारी गरेपछि नेता पौडेल पक्षले त्यसमा आपत्ति जनायो । महाधिवेशन सकिएको झण्डै साढे २ वर्ष बितेपनि सभापति देउवाले रिक्त पदाधिकारीको टुङ्गो अझै लगाउन सकेनन् । र, उल्टै पार्टी समायोजन गर्दै लैजानुको साटो एकपछि अर्को नयाँ काम देखाएर चर्चामा आउन खोजिरहेका हुन् कि ?
तर, कांग्रेसका केही नेताले भने पराजयबारे सामुहिक जिम्मेवारी लिएको बताएका छन् । ‘नेकपा एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनले पनि हाम्रो पराजय भएको हो । अव हामीले लोकतन्त्रवादी साथी र दलहरूलाई नेपाली कांग्रेसको छातामा एकबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छौं । एक नेताले भनेका छन् ।’
लामो समय स्थगित हुँदै आएको कार्यसमिति बैठकमा आइतवार महामन्त्री शशांक कोइरालाले प्रस्ताव गरेको जिल्ला सभापतिहरूको भेला र महासमिति बैठकको मिति पनि पारित भएको बताइएपनि सोमबार पुनः अर्को ताण्डव देखिएको छ । चुनावी हारको जिम्मेवारी र महासमिति बैठकको मितिबारे रहेको तीव्र विवाद हल भएर पार्टी एकमत रहेको सन्देश कांग्रेस नेताहरूले दिन खोजेकोजस्तो लागेता पनि पाटीभित्र अझै विवाद रहेको नेता नविन्द्रराज जोशीको यो अभिव्यक्तिले देखिन्थ्यो ।
उनले भनेका छन्, ‘संसदीय बोर्ड बिधान बिपरीत भएकोले त्यसलाई विघटन गर्ने र कार्य सम्पादन समिति विघटन गर्ने र पुनर्गठन गर्ने कुरा आएका छन् । त्यसैले गर्दा धेरै ठूलो असन्तुष्टि हुँदा–हुँदै पनि पार्टी एकताको सन्देश जाओस् भन्ने उद्देश्यले सहमति जनाएका हौं ।’ यो वा त्यो पक्षमा बिभक्त देखिने कांग्रेसको विवाद अहिलेलाई केही साम्यजस्तो भएपनि महासमिति बैठक र पदाधिकारी नियुक्तिमा विवाद सतहमै रहेको छ ।