शिव अधिकारी काठमाडौं । तराई मधेसको विकराल र विद्यमान समस्याका रुपमा रहेको महिला हिंसा र दाईजो प्रथा माथि बनाएको फिल्म ‘भोर’ शुक्रबारदेखि देशभरका एक सय हलमा प्रर्दशन हुन गइरहेको छ ।
सती प्रथामा आधारित चलचित्र “झोला” को अपार सफलता पछि नाम कमाएका निर्देशक यादवकुमार भट्टराईले अर्काे फिल्म ‘भोर’को पनि निर्देशन गरेका हुन् । उक्त फिल्ममा पछिला समयमा तराईमा बढ्दै गइरहेको महिला हिंसा र दाईजो प्रथाको गहनताका साथ उठाइएको छ ।नेपाली समाज त्यसमा पनि खास गरेर तराई मधेसको समाजमा जडा गाडेर बसेको कु–प्रथा दाईजो लाई हटाउन सो चलचित्रले महत्वपूर्ण भुमिका खेल्नेछ ।
महिला हिंसा र दाईजो प्रथाले धेरै महिलाहरुको ज्यान जाने गरेको र यसको विरुद्धमा आवाज उठाउनकै लागि आफ्नो टिमले ‘भोर’ निर्माण गरेको निर्देशक यादवकुमार भट्टराईले बताउनुभयो । महिला हिंसाको कारकका रुपमा विद्यमान दाईजो प्रथामाथि बनेकोे नेपाली कथानक चलचित्र ‘भोर’ यहीं २१ बैशाखमा देशभर का एक सयभन्दा बढी सिनेमा हलमा मैथिली र नेपाली दुवै भाषामा प्रर्दशनमा आउने बताइएको छ । चलचित्र समाज परिवर्तनमा एक माध्यम बन्न सक्ने विश्वास निर्माण टिमले लिएको छ ।
चलचित्रमा नेपालको तराई क्षेत्रलाई आधार मानेर समग्र देशको सामाजिक कुरिति अन्र्तगत रहेको दाईजो प्रथाका कारण महिलामाथि हुने अनेक किसिमका हिंसाका बारेमा मनछुने र कडा रुपमा प्रसस्तुत गरिएको छ ।
चलचित्रमा अधिकांश मैथिलीमा नाम कमाएका नाटक र रगंकर्मी कलाकारहरु जनकपुरका स्थानीय हुन् । कलाकाहरुमा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झालगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा दीपक बज्राचार्यको सिनेमाटोग्राफी रहेको छ । चलचित्रलाई राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेका हुन् । देवेन्द्र प्रसाद सुवेदी चलचित्रका कार्यकारी निर्माता हुन् ।
चलचित्रमा करिव १ करोडको लगानीमा गरिएको निर्माण टिमको भनाइ छ ।