काठमाडौं । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा समूहले भारतसँग जोडिएको सप्तरी र सिरहा जिल्लाको विभिन्न नाकाहरुबाट हतियार भित्र्याउन थालेको खबर अाएकाे छ ।
गत बैशाख ६ गते ५ वटा मोटर साईकलमा १० थान एके–४७ र ५ थान मिनि मेशिनगन सिरहा भित्र्याईएको खबर छ । ५ वटा मोटर साईकलमा सवार १० जनाले कपडाको झोलामा राखेर उक्त हतियार भित्र्याएको स्राेतकाे दावी छ ।
सिरहाको उत्तरी क्षेत्रमा रहेको चुरे जंगल भित्र हतियारहरु भण्डारण गरिएको र सैन्य प्रशिक्षण पनि आरम्भ गरिएको थाहा भएको छ । धनगढीमाई नगरपालिकाको चुरे क्षेत्रमा बसोवास गर्ने एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा जनता समाचारलाई बताए ।
सिरहाको उत्तरी क्षेत्रमा रहेको चुरे जंगल भित्र सैन्य तालिम केन्द्र बनाईएको र ५० भन्दा बढी युवाहरुले सैन्य तालिम लिईरहेको सुत्रले जनाएको छ । त्यसैगरी, नेकपा वैद्य समूहले पनि बैशाख महिनामै चुरेको म¥यान क्षेत्रमा युवाहरुलाई सामान्य सैन्य कवाज गराएकोे स्थानीय प्रत्यक्षदर्शीहरुले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । उक्त क्षेत्रमा सशस्त्र द्वन्द्वकालमा पनि माओवादीले सैन्य शिविर संचालन गरेको थियो ।
विप्लव समूहले सिरहा र सप्तरी जिल्लामा चन्दा संकलन कार्यलाई पनि तिब्र रुपमा अगाडि बढाएको छ । व्यापारिक प्रतिष्ठान र घरानाहरुलाई गच्छेअनुसार १ लाखदेखि २५ लाखसम्म चन्दा मागेर पत्राचार गरिएको छ । अधिकांश व्यापारीहरुले मोलमोलाई गरी उक्त समूहका नेताहरुलाई चन्दा बुझाई रहेको थाहा भएको छ ।
सिरहाको गोलवजार, लहान, मिर्चैया , सिरहा बजार, सुखीपुर र धनगढी बजारका अधिकांश पसल, निजी विद्यालय, नगरपालिका र गाउँपालिकाहरुलाई चन्दा दिन विप्लव समूहले पत्राचार गरेको छ । पत्राचार गर्दा सुनुवाई नगर्नेहरुलाई फोनबाट नियमित ताकेता गरी चन्दा असुली गरिएको छ ।
एकातिर चन्दा संकलनलाई तिव्र बनाईएको छ भने अर्कोतिर खुला सीमानाको फाईदा उठाएर हतियार भित्र्याउन थालिएको छ । चुरे जंगलको रणनीतिक फाईदा उठाउँदै उक्त समूहले सैन्य दस्ता तयार पार्न आरम्भ गरेको सुत्रले बताएको छ ।
पूर्व पश्चिम लोकमार्ग देखि १५ किलोमिटर उत्तरी क्षेत्रमा रहेको चुरे जंगल उदयपुर र सिरहाको सीमामा पर्छ । यो क्षेत्रमा पातलो मानव बस्ती छ र सुरक्षा निकायको पहुँच भन्दा टाढा रहेको छ ।
उल्लेखित तस्विर बैद्य समूहको तालिमका हुन्