काठमाडौं । युरेशियन मिडिया फोरममा नेपाली युवा सन्तोष साह छनोट भएका छन् । विश्वका उत्कृष्ट नेतृत्व, मिडियापर्सन तथा थिंक ट्यांकका व्यक्तिहरु सहभागी हुने यो फोरममा यस वर्ष साह छनोट भएका हुन् ।
काजकस्थानमा मे २२ मा सुरु भएर २४ तारिखमा सम्पन्न भएको यस वर्षको युरेशियन मिडिया फोरममा विश्व परिदृष्यमा देखा परेका नयाँ–नयाँ विषयहरुमा गहन छलफल भएको थियो । यस वर्षको सम्मेलनमा अन्तर्राष्ट्रिय विदेश नीतिका विभिन्न विषयहरुमा छलफल भएको थियो । त्यसैगरी सहभागीहरुले ग्रिन इकोनोमी, दिगो विकास, डिजिटल रिभोलुसन आदिका बारेमा पनि छलफल गरेका थिए ।
सम्मेलनको अन्तिम सत्रका वक्ताहरुमा काजाकस्थानका लागि युएन वुमनका प्रतिनिधि इलाइन एम कोनकेइभिच, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनकी चुनावी प्रतिस्पर्धी केनिया सोबचक, ओस्कार मनोनित फिल्म निर्देशक इभ्ग्नी एफिनेभ्स्की, बेलायतस्थित थिंक ट्यांककी पत्रकार म्यारी आन सिहार्ट, टुडेज युथ एशियाका अध्यक्ष तथा पावर टक्सका निर्माता–प्रस्तोता सन्तोष साह र साउथ इस्ट एसिया लिडरशीप एकेडेमी नेवटर्कका सहसंस्थापक सोफिया हेज रहेका थिए ।
सो सत्रमा नैतिकताको विकासमा कहाँ छौं भन्ने थिममा बहस भएको थियो । छलफलका क्रममा सन्तोष साहले विश्वव्यवापी रुपमै नैतिक मूल्यमान्यतामा ह्रास आएको बताए । महिलाविरुद्ध हुने दुव्र्यवहार तथा अन्यखाले अन्यायविरुद्ध संयुक्त राष्ट्रसंघले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
टुडेज युथ एशिया सन् २००२ मा काठमाडौंमा स्थापना भएको र पब्लिक डिप्लोमेसीको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै अग्रस्थान बोकेको थिङ्क ट्याङ्क’ हो । यसले विकास र अनुसन्धानको क्षेत्रमा विभिन्न कार्यक्रमहरु चलाउँदै आएको छ ।
तीन दिने सम्मेलनका मुख्य वक्ताहरुमा इटलीका पूर्व प्रधानमन्त्री माटियो रेन्जी, चीनका लागि पूर्व अमेरिकी राजदूत गेरी लक, कजाकस्थानका विदेश मामिलामन्त्री अबदरखमानोभ, फ्रान्सका नेशनल एसेम्ब्ली मेम्बर थिरे मारियानी लगायत रहेका थिए ।
वार्षिक रुपमा आयोजना हुने सम्मेलनमा राजनीतिक, आर्थिक, सामाजिक, विदेश नीति, मिडियाका विभिन्न मुद्दामा अन्तर्राष्ट्रिय विज्ञहरुबीच छलफल हुने गर्छ । यस वर्षको सम्मेलनमा ६० देशका करिब ६ सय सहभागी थिए ।
सन् २००२ मा युरेशियन मिडिया फोरमको पहिलो सम्मेलन भएको थियो, जसमा तत्कालीन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानका राष्ट्रपति तथा काजकस्थानमा राष्ट्रपति सहभागी भएका थिए ।